आदर्श अनलाइन, बागलुङ
विश्व वातावरण दिवसको अवसरमा बागलुङको तित्याङस्थित शिवालय मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा बानपा–९, तित्याङस्थित शिवालय मन्दिर परिसरमा विरूवा रोपण गरिएको हो ।
वातावरणलाई स्वच्छ र हराभराका साथै खाली जमिनलाई व्यवस्थित गर्नका लागि ६ वटा अशोका, २ वटा एभोकाडो, ५ वटा अम्बा, ३ वटा आँप, ३ वटा लिची, २ वटा वेल, ६ वटा वेगमवेली, २ वटा विल्डिङ हट, २ वटा आँक लगाएतका विरूवा रोपिएको सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीको सामुदायिक उत्तरदायित्व अन्तरगत रचनात्मक, सिर्जनात्मक र सन्देशमुलक गतिविधिहरु निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो ।
नेफ्स्कुनका निवर्तमान सञ्चालक तथा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डी प्रसाद शर्माले पर्यावरणलाई जोगाउनका लागि वृक्षारोण कार्यक्रम सन्देशका रुपमा रहने बताउनु भयो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उपसमितिका संयोजक ध्रुव प्रसाद शर्माको अध्यक्षता, सञ्चालक राम बहादुर जिसीको स्वागत तथा शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ ।