मल बनाउछन् विद्यार्थी, किबी फलाउछन् विद्यार्थी


–खेमराज गौतम, बागलुङ

बागलुङको एक सामुदायिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफुल तथा तरकारी खेती गर्दै आएका छन् ।

घरबाट गोबर मल लिएर फलफूल तथा तरकारी खेती थालेका बागलुङको काठेखोला गाउँपालिका–४ धारा माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षकले पढ्दै कमाउदै कार्यक्रम लागु भएपछि प्राङ्गारिक मल समेत विद्यालयमै बनाउन थालेका छन् ।

प्राङ्गारिक मल खरिद गर्न समेत महङ्गो पर्नेभएकाले विद्यार्थीहरुले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउदै किबी तथा तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् ।

विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनका लागि विद्यालयकै तीन रोपनी जग्गामा २०६८ सालमा परिक्षणका लागि किबी खेती लगाइएको थियो । उक्त किबी अहिले व्यवसायिक उत्पादन दिइराखेको छ ।

त्यही खेतीसंग जोडेर अहिले एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम लागु भएको धारा माध्यामिक विद्यालयका प्रधानध्यापक कमला थापाले जानकारी दिनुभयो । “संस्थागत रुपमा किबी खेति बागलुङमै पहिलोपटक लगाइएको रहेछ, तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकलेनै खरिद गर्छन, विद्यार्थीलाई विज्ञान विषयको प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रिर्याकलाप र व्यवहारिक शिक्षाका लागि सहज बन्दै आएको थियो” थापाले भन्नुभयो “पछिल्लो एक वर्ष पढ्दै कमाउदै कार्यक्रम लागु भएपछि प्राङ्गारिक मल समेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन्, गत वर्ष दुई चरणमा मल उत्पादन गरेका विद्यार्थीले यस वर्ष मल उत्पादनका लागि तयारी अवस्थामा छन्, कुहिने झारपातलाई दुई महिना सम्म माटोमा गाडेर मल तयार गरिन्छ, उक्त मलबाट किबी खेती र तरकारी खेती गर्दै आइएको छ ।”

प्राङ्गारिक मल उत्पादन गर्ने जिम्मा नौ कक्षालाई दिइएको छ भने किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ ।

पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत विद्यार्थीले गत वर्ष च्याउ समेत उत्पादन गरेका थिए । विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी विक्रिबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामाग्री खरिद गर्न सक्ने भएको प्रधानध्यापक थापाको भनाई छ । उहाँले पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत शुरुवाती चरणमा धेरै आम्दानी गर्न नसकेपनि कम्तिमा अध्ययनका लागि आवश्यक शैक्षिक सामाग्री खरिद गर्न सक्ने भइसकेका छन् ।

शुरुवाती चरणमा देखिनेगरी आम्दानी गर्न नसकेपनि शैक्षिक सामाग्री खरिद गर्न विद्यार्थी सक्षम भएका हुन् । विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागि समेत किबी बगैचा भरपुर उपभोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउनुहुन्छ । सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमाका विद्यार्थीलाई परागशेचनको विषयमा किबी खेतीबाट राम्रो शिक्षा दिन सफल भइरहेको पच्याको भनाई छ ।

शुरुमा परिक्षणका लागि लगाइएको किबी खेती पछिल्लो समय व्यवसायिक उत्पादन दिइराखेको छ । “किबीको भाले र पोथी बिरुवा तथा यिनीहरु बीचको परागशेचनका विषयमा समेत सिकाउन सहज भएको छ” उहाँले भन्नुभयो “सिक्न पाइने, विद्यार्थीलाई आम्दानी समेत हुँने भएपछि विद्यार्थीहरु रुचिपूर्ण ढंगले मल, तरकारी र फलफूल खेतीमा उत्साहपूर्ण ढंगले लाग्दै आएका छन् ।” कक्षा नौ का विद्यार्थीले विद्यालय परिसरको सानो जग्गामा मौसमी तरकारी खेती समेत गर्दै आएका छन् । अहिले उक्त जग्गामा सिमी लगाइएको छ ।

वार्षिक २०० केजी सम्म किबी बिक्रि हुँनेगरेपनि अन्य किबी विद्यार्थी र शिक्षकले समेत उपभोग गर्दै आइरहेका छन् । विद्यालयमा गरेको कृषि कर्मअनुसार घरमा समेत परिवारलाई सघाउन सहयोग पुगेको कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिपेश बिकले जानकारी दिनुभयो । उहाँले विद्यालयमै मल उत्पादन, फलफूल गोडमेल गरेपछि घरमा समेत काम गर्नका लागि विद्यार्थीलाई प्रेरणा मिल्ने गरेको छ ।

विद्यार्थीलाई पढाइमा अब्बल बनाउनका लागि विद्यालयले सार्वजनक बिदाको दिनमा समेत कक्षा सञ्चालन गर्दै आएको छ भने भौतिक पूर्वाधारले विद्यालय सम्पन्न भइसकेको छ । २०३६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २७८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *