घाँस देखि दूध सम्म निर्यात गर्दै किसान


खेमराज गौतम, बागलुङ
वि.स.२०५५ सालमा १६ लिटर दूध संकलन गरी दूधको बजारीकण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दूग्ध उत्पादक सहकारी संस्थाले अहिले दैनिक ८०० लिटर दूध निर्यात गर्छ ।

बसाईसराईले उजाड बन्दै गइरहेको टाकुरी गाउँ र जैमिनी नगरपालिका–१ को टुनिबोट लगायतका क्षेत्रका १२० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसान पछिल्लो समय घाँसको समेत निर्यात गर्न थालेका हुन् ।

बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर गराउनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको टाकुरी, टुनिबोट लगायतका गाउँका किसानले दूध मात्रै हैन घाँस समेत निर्यात गर्न थालेपछि आम्दानीको स्रोत बढ्दै गएको जनाएका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रुपमा विकास गरेको छ । सहकारी मार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध निर्यात गर्दै आएको छ ।

१६ लिटर दूध संकलन गरेर २०५५ सालमा शुरु गरेको सहकारीले अहिले दैनिक ८०० लिटर किसानले उत्पादन गरेको दूध बजार पठाउने गरेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो । दूधको संकलन, प्रशोधन र बजारीकरण गर्ने उदेश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चार वटा संकलन केन्द्र समेत रहेको लामिछानेको भनाई छ ।

“ड्राइसिजनमा ८०० लिटर दूध बजार पठाइरहेका छौं, फ्लो सिजनमा त एक हजार लिटर पुग्ट, एक दिन बागलुङ बजार र अर्कोदिन पोखरा यहाँको दूध पुग्छ, दूध मार्फत यहाँका किसानहरु आत्मनिर्भर भएका छन्, भने आधुनिक घाँस खेतितर्फ अग्रसर भएका छन्” लामिछानेले भन्नुभयो “१२५ शेयर सदस्य मध्ये १२० शेयर सदस्यले नियमितरुपमा दूध संकलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन् ।”

सहकारीमार्फत किसानले वार्षिक रुपमा दूधमा अनुदान मात्रै रु. ५ लाख बुझ्दै आएका छन् । चालु आर्थिक वर्षमा सहकारी मार्फत एक लाख ८२ हजार लिटर दूध बजारीकरण भइसकेको छ भने किसानले दूध मार्फत रु. एक करोड १८ लाख ३० हजार भन्दा बढी रकम भित्राएका छन् । सहकारीले किसानको दूध संकलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ ।
अहिले सहकारीले प्रति लिटर रु. ६५ मा संकलन गरेर रु. ७५ मा बजारीकरण गर्दै आएको छ । दूधको बागलुङ बजारमा प्रति लिटर १२० रहेको छ । ढुवानी र प्रशोधन खर्च जोडेर दूधको बजारीकरण हुनेगरेको छ ।

यहाँका किसान आधुनिक घाँसमा समेत अग्रसर भएका छन् । बाँदर आतकंले ग्रसित यस क्षेत्रका किसानले अन्नबाली लगाउन छोडेर घाँस लगाउन थालेपछि घाँसको समेत निर्यात गर्न सफल भएको दैनिक ४० लिटर दूध उत्पादन गर्दै आउनुभएका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताउनुभयो ।
उहाँले १० रोपनी खेतियोग्य जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताउदै टाकुरी र टुनीबोटबाट घाँसका बिरुवा समेत निर्यात भइरहेको जानकारी दिनुभयो ।

“सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसानले यस वर्ष ४० क्विन्टल घाँस समेत निर्यात गर्न सफल भएका छन्, अहिले भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रती रोपनी घाँसमा तीन हजरका दरले अनुदान समेत दिदै आएको छ भने दूधमा प्रति लिटर साढे दुई रुपैया अनुदान दिदै आएको छ” दूग्ध किसान शर्माले भन्नुभयो “बाँदरका कारण अन्नबाली लगाउन समस्यामा परेका किसानलाई उन्नत जातको घाँस खेतीले पशुपालनलाई प्रोत्साहन गरेको पाइएको छ ।”

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँस खेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिइरहदा किसानहरु उत्साहित भएको केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो । घाँसमा प्रति रोपनी तीन हजार र दूधमा प्रति लिटर साढे दुई रुपैया किसानलाई भुक्तानी गरिरहेको उहाँको भनाई छ । दूधमा अनुदानका लागि संस्थागत अथवा व्यक्तिगत दैनिक २०० लिटर भन्दा बढी दूध उत्पादन गरेको हुँनुपर्ने सापकोटाको भनाई छ । टुनीबोट, तल्लो टुनिबोट, टाकुरी र कुश्मिसेरा लगायतको स्थानबाट किसानले दूध सहकारीमार्फत बजारीकरण गर्दा बजारको ग्यारेन्टी भएको छ ।

बजारको ग्यारेन्टी नहुँदा दूध पोख्नुपर्ने अवस्थाको अन्त्य भएपछि यहाँका किसानले पशुपालनलाई बढवा दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *