सहकारी रोजगार मेलाले युवा जनशक्तिलाई आशा जगाउने काम गर्छ : अध्यक्ष मल्ल


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रथम सहकारी रोजगार मेलाले युवा जनशक्तिलाई आशा जगाउने दावी गर्नु भएको छ ।

रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको बीच पुलको काम गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रथम सहकारी रोजगार मेलाले युवा जनशक्तिमा आशा जगाउने मल्लले बताउनुभयो । राष्ट्रिय सहकारी महासंघले असार ७ देखि ९ गतेसम्म सञ्चालन गर्न लागेको प्रथम सहकारी रोजगार मेलाको तयारी सम्वन्धमा जानकारी दिन बुधवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष मल्लले यस्तो बताउनु भएको हो ।

‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका महासंघले आयोजना गरेको मेलाले स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्नुका साथै प्रतिभा पलायन रोक्न सहयोग गर्ने उहाँले बताउनुभयो । मेलामा सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यवसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी हुने जनाइएको छ ।

हाल ३१ हजार भन्दा वढी सहकारी संघ÷संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको सहकारी क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

देशभित्र स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने अध्यक्ष मल्लले बताइन् । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण बढ्ने अध्यक्ष मल्लको भनाइ छ । निशूल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेका युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ ।

मेलामा रोजगारदाताका स्टलहरू रहने छन् भने सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत स्थान दिइएको छ । असार ७ गतेदेखि ९ गतेसम्म संचालन हुने मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गर्ने जनाइएको छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूवाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम संगठनका विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत सञ्चालन हुने जनाइएको छ ।

मेलालाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र नेपाल कृषि सहकारी केन्द्रिय संघको सहकार्य रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *