मुस्ताङको बिकट गाउँ साङ्तामा स्वास्थ्य शिविर


अमृत बास्कुने, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङको सबै भन्दा कान्छो अनि दुर्गम गाउँ साङ्तामा २०८१ असार ५ गते स्वास्थ्य शिविर आयोजना गरिएको छ । मुस्ताङ र डोल्पाको सीमाना क्षेत्रमा पर्ने उक्त गाउँमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशले स्वास्थ्य शिविर संगै सामग्री वितरण समेत गरेको छ ।

२०२२ सालमा पत्ता लागेको कान्छो गाउँ मानिने साङता गाउँमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशले आयोजन गरेको उक्त शिविरको जिल्ला प्रहरी कार्यालय मुस्ताङले समन्व गरेको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ पर्ने उक्त गाउँमा १३ घरधुरी मात्रै रहेको र स्वास्थ्य सेवा लिनका लागि जिल्ला सदरमुकाम आउन निकै टाढा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरीको श्रीमती संघले उक्त विकट गाउँका १३ घरपरिवारलाई १५ थान न्यानो कपडा (फाइबर सिरक)वितरण गरेको जनाएको छ । साङ्ता गाउँका गाउँलेहरुको समाज घरको छाना हावाहुरीले उडाएर जिर्ण भएकोले उक्त घर छाउनका लागि संघले २४ थान जस्तापाता समेत उपलब्ध गराएको छ ।

न्यानो कपडा सिरक तथा जस्ता पाताहरु गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र श्रीमती संघका पदाधिकारी लगायतको टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको मुस्ताङका प्रहरी प्रमुख पाण्डेयले जानकारी दिनुभयो । एक जनामा सुगरको मात्रा उच्च पाइए पछि थप उपचारका लागि जिल्ला अस्पताल मुस्ताङ, जोमसोममा जान सिफारिस गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला अस्पताल मुस्ताङकी स्टाफ नर्स सुधा पौडेलले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य शिविरमा साङ्ता गाउँका १३ घरका २२ जना लाभान्वीत भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

नजिकको बस्ती भन्दा ४० किलोमिटर टाढा रहेको उक्त बस्तीमा नेपाली भाषा पनि प्रष्ट बोल्न समेत कठिन अवस्था रहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ नामगेल गुरुङले बताउनुभयो । स्वास्थ्य तथा सञ्चारको पहुँचबाट टाढा रहेको उक्त बस्तीमा रहेका नागरिकहरुका लागि मुस्ताङ भन्दा पनि डोल्पा सँगको सामिप्यता अलिक सहज देखिने पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ नामगेल गुरुङ, श्रीमती संघकी सचिव रबिना अर्याल लगायतले धारणा राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *