पतञ्जली योग समिति बागलुङद्वारा मानवसेवा आश्रममा भोजन प्रदान

आदर्श अनलाइन, बागलुङ
पतञ्जली योग समिती बागलुङले मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजनको व्यवस्था गरेको छ ।
१० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा समितिले छैठौँ दिनको कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम बागलुङमा आश्रय लिइ बसेका ५५ जनालाई विहानको भोजन गराएको हो ।

सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर योग दिवस मनाई रहेको समितिले बिहीबार विहान राधाकृष्ण मन्दिरको साधना केन्द्रमा नियमित योग अभ्यास गर्दै मानव सेवा आश्रम बागलुङमा सेवा गरेको समितिका महिला प्रभारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।



योग दिवसका कार्यक्रम चलिरहेकै समयमा बिहीबार समितिका महामन्त्री अमृत कंडेलको जन्मदिन समेत परेकाले उहाँकै प्रायोजनमा मानव सेवा आश्रममा विहानको भोजन प्रदान गर्ने कार्यक्रम गरिएको श्रेष्ठले बताउनु भयो । समितिका महामन्त्री अमृत कंडेलले आश्रममा आश्रीतहरुलाई भोजन गराउनुका साथै थप १८ हजार रुपैयाँ नगद सहयोग गर्नु भएको थियो ।

आश्रममा आश्रितहरुका लागि मासिक १ हजार रुपैयाँ सहयोग गर्ने आफ्नो पूर्व प्रतिवद्धता अनुरुप पछिल्लो १८ महिनाको १८ हजार रुपैयाँ प्रदान गरेको कंडेलले जानकारी दिनुभयो । कंडेलसँगै मानव सेवा आश्रम पुगेका योग समितिका साधक साधिकाले शुभभावना व्यक्त गरेका थिए । शुभभावना व्यक्त गर्दै पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिराबहादुर केसीले हरेक व्यक्तिले आ–आफ्नो काम र कर्ममा साधना गर्नुपर्ने बताउनु भएको थियो ।

व्यक्ति सफल हुनका लागि आफुले गरेको काम र रोजेको मार्ग सत् हुनुपर्ने भन्दै केसीले आफुले आफुलाई अध्ययन गर्ने, आफ्नो कर्मममा नियमित साधना गर्ने व्यक्तिले नै आत्मानुभुती गर्न सक्ने बताउनु भएको थियो । मानव सेवा भन्दा ठुलो धर्म र सेवा अन्य कुनै नहुने आफ्नो बुझाइ रहेकाले मानव सेवा आश्रममा सेवा गरेको समितिका महामन्त्री कंडेलले जानकारी दिनुभयो ।

सो अवसरमा योग समितिका साधक साधिकाले पनि आश्रममा सहयोग गर्नुभएको थियो । विहानको योग साधना कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष लक्ष्मी बास्कोटाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा लक्ष्मी बास्कोटासँगै महिला नेत्री शकुन्तला शर्माले योगका फाइदाको बारेमा चर्चा गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *