चार जिल्लाका किसानलाई ६४ हजार डाले घाँसका विरुवा

आदर्श अनलाइन, बागलुङ

भु–संरक्षण संगै पशुपालनमा जोड दिनका लागि यस वर्ष चार जिल्लाका किसानलाई ६४ हजार डाले घाँसका विरुवा वितरण गरिएको छ । भू संरक्षण तथा जलाधार कार्यालय पर्वतले बागलुङ, म्याग्दी, पर्वत र स्याङ्जाका किसानलाई ६४ हजार डाले घाँसका बिरुवा उत्पादन गरेर निःशुल्क बिरुवा वितरण गरेको हो ।

ग्रामिण भागमा सडक निर्माण गर्ने कार्यले तिव्रता पाउदा बढेको भू–क्षय कम गर्ने, गाई, भैसी तथा बाख्रा पालनमा सहयोग पु¥याउनका लागि डाले घाँसको बिरुवा वितरण भइरहेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।

कार्यालयले बागलुङ जिल्लाबाट घाँसका विरुवा वितरण गर्न थालेको बताउदै असार मसान्त भित्रै चार वटै जिल्लाका किसानलाई डाले घाँसका विरुवा वितरण गरिसक्ने भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

साविकको भू–संरक्षण कार्यालय, बागलुङमा उत्पादन भएका १४ हजार घाँसका बिरुवा निशुल्क रुपमा वितरण भइरहेको बताउदै पौडेलले म्याग्दी, पर्वत र स्याङ्जामा समेत विरुवा वितरण कार्य चलिरहेको बताउनुभयो ।

पाँच जिल्ला कार्यक्षेत्र भएको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले मुस्ताङमा भने डाले घाँसका विरुवा उत्पादन र वितरण गर्दैन । कार्यालयका अनुसार यस वर्ष बागलुङमा १४ हजार, म्याग्दी १५ हजार, पर्वतमा २० हजार र स्याङ्जामा २० हजार डालेघाँसका बिरुवा उत्पादन गरेर वितरण भइरहेकोे पौडेलले बताउनुभयो ।

“पशुलाई पोषिलो, भू–संरक्षणलाई सहयोगी डालेघाँसको माग अत्यन्तै रहेको छ, हामीले डालेघाँसको माग धान्न गाह्रो छ, वर्षेनी विरुवाको उत्पादन घट्दो माग बढ्दो छ, बजेट अभावमा किसानको माग अनुसार बिरुवा दिन सकेका छैनौ” पौडेलले भन्नुभयो “कायक्षेत्र पाँच जिल्ला भएपनि मुस्ताङमा डालेघाँस हुँदैन, चार जिल्लामा ६४ हजार डाले घाँसका विरुवा उत्पादन गरेर वितरण भइरहेको छ, असार मसान्त भित्रै विरुवा वितरण सकिन्छ ।”

अहिले कार्यालय तथा समन्वय कार्यालयबाट निःशुल्क रुपमा राय खन्यु, निमारो, कल्की र पारिजात र काफल लगायतका डाले घाँसका बिरुवा वितरण भइरहेको छ ।

निःशुल्क रुपमा वितरण गरिने बिरुवा प्रति किसान १० वटा र कृषि समूह तथा वडा कार्यालयको सिफारिसमा अधिकतम एक हजार सम्म दिन सकिने बागलुङका नर्सरी नाइके दुर्गाप्रसाद रिजालले बताउनुभयो ।

पाखो बारीे तथा ग्रामिण सडकको छेउछाउमा बिरुवा लगाउदा पशुलाई आहारा र भू–क्षय हुनबाट जोगिने हुनाले भू संरक्षण तथा जलाधार कार्यालय पर्वतले पर्वत सहित बागलुङ, म्याग्दी र स्याङ्जामा नर्सरी निर्माण गरेर वर्षेनी बिरुवा उत्पादन तथा वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *