सहकारीप्रतिको विश्वास जोगाउन सबै लागौ : समन्वय प्रमुख थापा

आदर्श अनलाइन, बागलुङ
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सहकारीमा जनताको विश्वास पुरानै अवस्थामा फर्काउनका लागि सबै सरोकारवालाहरु एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले आइतवार बागलुङमा आयोजना गरेको सहकारीता, सहकारी ऐन, नियम तथा समसामयिक विषयक अभिमूखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

No description available.

बागलुङमा २ वटा सहकारीले गलत गरेको आरोप सबै सहकारीले बेहोर्नु परेको छ । आज जनतामा सबै सहकारीहरु एउटै हुन्, सबै खराव हुन् भन्ने जवरजस्ती सन्देश गएको छ, सबै सहकारी खराव छैनन्, सबैले गलत गरेका छैनन्, भन्ने सन्देश जनताका बीचमा लैजान सबै सरोकारवालाहरुको एकतावद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

सहकारीको साख फर्काउनका लागि सबैभन्दा पहिला सहकारीहरुले आफ्ना सदस्यहरुको विश्वास आर्जन गर्नु पर्छ, नियमनकारी निकायले राम्रोसंग नियमन गरी गलत गरेकालाई कार्वाही गर्ने र गलत गरेकाहरुको प्रभावका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न सके सहकारीप्रतिको विश्वास छिटो फर्कने थापाले बताउनुभयो ।

No description available.

नियत नै खराव राखेर, सदस्यहरुको रकम अपलचन गर्नका लागि योजना नै बनाएर ठगी धन्दा चलाउनेहरुको हकमा कार्वाही गर्नु पर्छ, तर सदस्यहरुको आर्थिक उन्नतीमा साथ दिएका, समाजको रुपान्तरणमा योगदान गरेका सहकारीहरु पनि आज गलत गर्ने सहकारीहरुकै जस्तो अपमान सहनु पर्ने अवस्थाको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।

सहकारीमा रहेको पूँजिलाई उत्पादनतर्फ अग्रसर गराउन के गर्न सकिन्छ ? कानुनी समस्या छ भने समाधान गरेर अगाडि बढ्नु पर्दछ, समन्वय प्रमुख थापाले भन्नुभयो, सहकारी वचत र ऋणमा मात्र केन्द्रीत भयो भन्ने आरोपलाइ चिर्नका लागि र मुलुकको आर्थिक विकासका लागि पनि सहकारीको पूँजिलाई उत्पादनमा केन्द्रीत गराउन जरुरी छ ।

No description available.

सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीमा देखिएका समस्या समाधानका लागि सदस्यहरुसंगको सम्बन्ध बढाउन, ऐन कानुन, नीति, नियम र संस्थाको विनियमको पूर्ण रुपमा पालना गरी संस्था सञ्चालन गर्न आग्रह गर्नु भयो ।

विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्दै सानो ऋण लगानी गर्न, नियमित वचतमा जोड दिन, जगेडा कोषलाई बलियो बनाउन, उद्देश्य अनुरुप कार्य गर्न, सदस्यहरुलाई शिक्षा, तालिम, सीप, बजार, उद्यमशिलता सिकाउन, संस्थाका जिम्मेवार व्यक्तिहरुले स्वार्थको द्वन्द्व हुने गरी ऋण नलिन तथा नदिन, ऋण तिर्न पर्दैन भन्ने प्रवृति रोक्न तथा ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन रजिष्ट्रार रिजालले आग्रह गर्नु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य नर बहादुर थापा, बागलुङका प्रहरी प्रमुख ऋषिराम कंडेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धन प्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीको समसामयिक अवस्था र सुधारका उपाय, शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारी ऐन कानुनको कार्यान्वयन तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी सुशासनमा अभियानको भूमिका विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रस्तुत भएका ३ वटै अवधारणपत्र माथि सहभागीहरुले जिज्ञासा तथा सुझाव दिएका थिए ।
सहकारीप्रति देखिएको अविश्वासलाई चिर्नका लागि राज्य, अभियान र सरोकारवालाहरुबीच सहकार्य र समन्वय आवश्यक रहेको सहभागीहरुले बताएका थिए ।

कार्यक्रम रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता, शाखा अधिकृत चोलाकान्त वाग्लेको स्वागत र अधिकृत तुलसी प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि बागलुङ नगरपालिका र जिल्ला सहकारी संघले समन्वय गरेको वाग्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *