फेरि सत्ताकै खेल

सम्पादकीय
मुलुकको राजनीतिमा फेरि चामत्कारिक परिवर्तन र तरंग पैदा भएको छ । संघीय र प्रदेश संसदको निर्वाचन पश्चात आफ्नो चुनावी गठबन्धन तोडेर तेस्रो दलको नेता भए पनि सत्ता बागडोर सम्हाल्न पुगेका माओवादी अध्यक्ष प्रचण्ड दुई पटक समीकरण बदले, र पनि आफु सत्ताकै नेतृत्वमा रहने रणनीतिमा सफल भइरहे । यसमा पहिले एमालेको मुभले माओवादी कांग्रेस, समाजवादी लगायतको गठबन्धन भत्कियो भने कांग्रेसले त्यसको केही दिनमै प्रचण्डलाई विश्वासको मत दिएर समीकरण यथावत राख्दै राष्ट्रपति लगायतमा जित हासिल गर्न सफल बन्यो । त्यो धेरै दिन टिकेन, फेरि एमालेसँगकै गठबन्धनमा प्रचण्ड सत्तामा निरन्तर रहे । प्रदेश सरकारहरु पनि केन्द्रीय समीकरणसँगै बदलि रहे । अहिले पनि यही कारण प्रदेश सरकारहरु गिराउने र जोगाउने होडले मुद्दा सर्वोच्च अदालत सम्म पुगेको छ । यही अनुक्रममा फेरि प्रचण्ड नेतृत्वको संघीय सरकार धरापमा परेको छ ।

संसद्को पहिलो र दोस्रो ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरणका लागि तयार भएका छन् । उनीहरु बिच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । त्यसमध्ये पहिलो हो– संविधान संशोधन । दोस्रो– राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास । सोमबार मध्यरातमा भएको दुई दलको समझदारी अनुसार आगामी संसद्को कार्यकाल अवधिमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आधा आधा समय सरकारको नेतृत्व गर्ने विषयमा पनि समझदारी भएको छ । ओली र देउवाबिच भएको उक्त समझदारी पार्टीभित्रसमेत गोप्य राखेर छापामार शैलीमा गरिएको थियो । यद्यपी देउवा र ओलीबीच भएका सहमतिका बुँदा सार्वजनिक गरिएको छैन । एमाले र कांग्रेसको प्रारम्भिक सहमतिमा अन्य दललाई पनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने सरकारमा अन्य दलहरू पनि सहभागी गराएर ‘राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गरिने दाबी छ । राष्ट्रिय सहमति र संविधान संशोधन गर्ने हेतुले कांग्रेस एमालेको समीकरण बनेको बताए पनि त्यति सहजै राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना देखिदैन । राष्ट्रिय सहमतिको सरकार राजनीतिक दलहरुको नारा मात्र हो । उनीहरुको ‘भनाई र गराई’मा आकाश पातालको फरक देखिदै आएकोमा नागरिक बेखबर छैनन् । यदि तेस्रो दल माओवादी र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी भएको खण्डमा त्यसलाई राष्ट्रिय सहमतिको सरकार भन्न सकिन्छ, त्यो सम्भावना तत्काल देखिदैन ।

नेपाल र नेपालीको अधिक समय सत्ता राजनीतिमै बर्बादी भएको छ । यही सत्ता राजनीतिको खराब अभ्यासले मुलुकलाई अस्थिरता र बेथितिमा वर्षौदेखि राखिरह्यो, अपेक्षित गतिमा विकास र समृद्धि हासिल हुन सकेन । सत्ता राजनीतिको गोलचक्करमा पहिले माओवादी अध्यक्ष प्रचण्डले कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेलाई झुक्याउँदै फकाउँदै प्रधानमन्त्री बनिरहन सफल थिए, यसपटक भने उनी आफै नराम्रो सँग पछारिएका छन्, संसदका दुई ठुला दल, मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस एमाले सत्तामा सहकार्य गरेका छन् । यसले सत्ताका लागि जुनसुकै दल र नेताहरुले जे पनि गर्न तयार हुन्छन् भन्ने फेरि एकपटक प्रष्ट भएको छ । तर, देश बनाउने विषय भने अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले अस्तव्यस्त अवस्था बनिरहेको छ । अब बन्ने कांग्रेस एमाले नेतृत्वको सरकारले सुझबुझ पूर्ण हिसाबले काम र कदम अघि बढाओस्, केही महिनामै सत्ता बदल्ने कुरुप खेल नहोस्, नेपाल र नेपालीको हितमा अधिक समय र उर्जा खर्च गरियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *