गण्डकी, विपद्को ‘रेड जोन’ र पूर्ववत् सचेतता

सम्पादकीय
अहिले बर्खायाम चलिरहेछ । केही साता यता देशका बिभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । अब मुलुकभर मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशभर पूर्णतया मौसम बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना छ । यसबारेमा महाशाखाले धेरै वर्षा हुने आँकलन सहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । आइतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेकाले सचेतता अपनाउनु पर्ने देखिएको छ ।

हरेक बर्खायाममा नेपाल र नेपालीले अपुरणीय क्षति बेहोर्छ । नेपालमा हरेक वर्ष ५ सय भन्दा बढी बिभिन्न प्रकोपका घटनाहरू हुने गर्दछन् । जसमध्ये बाढी, पहिरो, डुबान, भूकम्प, चट्यांग, आगलागी, हावाहुरी, हिमताल विस्फोट, सडक दुर्घटना लगायतका प्राकृतिक र गैरप्राकृतिक विपद्का घटनाहरु हुने गरेका छन् । यसको परिणाम स्वरूप ठूलो मात्रामा जनधनको क्षति र जीविकोपार्जनमा प्रतिकूल असर पर्ने गरेको छ । पछिल्लो ४५ वर्षको अवधिमा नेपालमा ४० हजार भन्दा बढी नागरिकले विपद्का कारण ज्यान गुमाएका छन् । उक्त अवधिमा ७५ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् भने करिब तीस लाख मानिस प्रभावित भएका छन् । विहीवार मात्रै भारी वर्षासँगै विपद्को खतरा रहेकाले मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । गण्डकीका म्याग्दी, बाग्लुङ, कास्की, पवर्त, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङमा धेरै वर्षा हुने देखिएको छ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ । यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपतको जोखिम पनि बढेको हो ।

बर्खायाम आफैमा जोखिमपूर्ण अवधि हो । यसबेलामा सबैले विपद्पूर्वको योजना तयारी र जोखिम न्युनिकरणका लागि यथोचित उपाय अबलम्बन गर्न जरुरी छ । अहिले वर्षाको सुरुवातमै बाढी, पहिरो, डुबानबाट केहीले ज्यान गुमाइसकेका छन् । कयौ घरवार विहीन बनिसकेका छन् । अहिले मौसम पुर्वानुमानले भारी वर्षा र विपद्को जोखिमबारे सूचना सहित रेड नोट जारी गरेको छ । पहिले–पहिले त मौसम विभागको अनुमान र मौसम बिच उति तालमेल खाँदैनथ्यो । पछिल्लो समय भने मौसम पूर्वानुमान महाशाखाको अनुमान मिल्ने मात्र होइन, पूर्ववत जोखिमबारे सार्वजनिक सूचना जारी समेत गर्न थालेको छ । यसले विपद् कम गर्न उल्लेख्य भूमिका खेल्छ । अहिले रेड अलर्ट जिल्ला र क्षेत्रमा धौलागिरी, गण्डकी छ । अतः वर्षा, यसबाट पुग्न सक्ने सम्भावित क्षति र खतराबारे यथेष्ट तयारी र सचेतता अपनाउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *