कोरोना र योजना विहिन स्थानीय सरकार

सम्पादकीय
कोरोना भाइरसले देश आक्रान्त छ । यद्यपी, कोरोना संक्रमणको हिसावले दोस्रो व्यक्तिका रुपमा सोमवार पुष्टि भएको समाचार सार्वजनिक छ । यसअघि पहिलो पटक कोरोना संक्रमण देखिएका बिरामी निको भइसकेका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भए पछि फेरी देश तरंगित छ । नेपाल सरकारले देशभरको सार्वजनिक यातायात सेवा बन्द गरेको छ । गण्डकी प्रदेशले प्रादेशिक स्तरमा सबै नाका बन्द गरेको छ । जिल्ला जिल्लामा छुट्टा छुट्टै लक डाउनको निर्णय गरिएका छन् । मानिसहरु थप त्रसित मनोविज्ञान लिएर थप अन्यौलमा देखिएका छन् । समय क्रमसँगै जिल्ला जिल्लामा कोरोना जोखिम बढ्दो क्रममा छ ।

अहिले नेपालमा करिब ६ सय कोरोनाका शंकास्पद बिरामी छन् । जस मध्ये परीक्षणका क्रममा अहिले एक जनाको रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । विश्वभर भयावह रुप लिँदा समेत नदेखिएको नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । अहिले देखिएको संक्रमणबाट आत्तिनु पर्ने कारण नभएको स्वास्थ्यकर्मी बताउँछन् । तर, त्यो भन्दा जोखिम र खतरा भारतिय नाकाबाट हजारौको संख्यामा नेपाल भित्रिएका नागरिक देखिन्छन् । भारतको बिभिन्न राज्यमा कोरोना संक्रमण फैलिदो छ । जसबाट ७ जनाको ज्यान समेत गइसकेको छ । खुल्ला सिमानाबाट निर्वाध गाउँ फिरेका उनीहरु मध्ये कसैमा कोरोना संक्रमण भएको छ, र त्यो अरुमा सर्ने क्रम रह्यो भने त्यसले नै महामारीको रुप धारण गर्न सक्छ । यस्तो गम्भिर र संवेदनशिल घडीमा सिमा लक डाउन र यथेष्ट चेकजाँच गर्न नेपाल सरकारले गरेको ढिलाई निकै महंगो सावित हुन पनि सक्छ ।

भारतिय सीमा हुँदै नेपालको बिभिन्न नाका हुँदै आएका नेपाली अहिले गाउँ गाउँमा पुगिसकेका छन् । उनीहरुमा रुघाखोकी, ज्वरो आउने लक्षण छ भने त्यसको परीक्षण, परामर्श र निगरानी कसले गर्ने ? जिल्लाका १० वटा स्थानीय सरकारहरु अहिले सम्म स्वयम्मै अन्यौलग्रस्त छन् । यो प्रशासन या स्वास्थ्य कार्यालयको दायित्व जस्तो सम्झेर संवेदनशिल घडीको महत्वपूर्ण दायित्व बहन गर्ने बेला जिम्मेवार सरकारको उपस्थितिको अनुभव गराएका छैनन् । यो एक किसिमको नेतृत्व कौशलता, परिस्थितिजन्य परिवेशको यथोचित बिश्लेषण, सोच र योजनाको अभाव हो । अहिले कोरोना संक्रमण नआउँदा सम्म त उतिधेरै स्थानीय सरकारको कमजोर भुमिकामा छुट पाउन सक्लान् । तर, यदी संक्रमण देखियो र यसले महामारीको रुप लिन थाल्यो भने स्थानीय सरकार, त्यसमा सामेल जनप्रतिनिधि असफल र लज्जाबोध गर्ने अवस्था निश्चित आउनेछ । अतः समयमै संवेदनशिल घडीमा सोही किसिमको सचेतता सहितको योजना र भुमिकामा अगाडी बढुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *