बेनी बजारका औषधि पसलहरुमा सुधार देख्नै मुस्कील


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रमा सञ्चालित औषधिपसल तथा स्वास्थ्य सेवा दिने संस्थाहरुमा पटकपटक अनुगमन गर्दा पनि सुधार देखिएको छैन ।

स्वास्थ्य कार्यालय म्याग्दीको वार्षिक कार्यक्रम अनुसार बुधबार बेनी बजार क्षेत्रमा रहेकाा औषधिपसलहरुमा अनुगमन गर्दा पनि पुरानै समस्याहरु देखिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा ५ वटा औषधी पसलहरुमा अनुगमन गरिएको थियो । २०७९ चैतमा बेनी बजार क्षेत्रका औषधिपसलहरुको अनुगमन गर्ने समयमा समस्या भनेर औंल्याईएका कुराहरु नै अधिकांश भेटिएको अनुगमन टोलीमा सहभागी स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले भएको अनुगमनमा पनि अधिकांश पसलहरुमा सर्जिकल तथा औषधिको भण्डारण तथा वितरण कक्ष छुट्टाछुट्टै नभएको, हात धुने ठाउँ नभएको, म्याद नाघेका औषधि भण्डार छुट्टै नगरिएको, औषधिको लेबलिङ नगरी जथाभाबी राखेको तथा सेवा रजिष्टर दुरुस्त नराखेको जस्तो पाइएको छ ।

औषधी पसललाई नियम अनुसार सञ्चालन गर्नका लागि भनेर सुरू गरिएको यस पटकको अनुगमनको पहिलो चरणमा पसलहरुको दर्ता र नवीकरण तथा म्याद गुज्रिएका औषधीहरुलाई के कसरी राखेको छ भनेर हेरीएको सापकोटाको भनाई छ । अनुगमनका क्रममा ल्याबहरु मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी चेकजाँच गर्ने कोठा साँधुरो तथा फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सापकोटाको भनाई छ ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले औषधी बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सन बिना कुनै पनि प्रकारको मा औषधि वितरण गर्न नहुने बताउनुभएको थियो । उहाँले प्रयोगकर्ताले औषधिको दुरुपयोग गर्न सक्ने भएकाले औषधि बिक्रि बितरण गर्ने समयमा सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
अनुगमन टोलीका सदस्य बेनी अस्पतालका फार्मेसियन आशिष श्रेष्ठले बजारमा अनुगमन गर्दा म्याद गुज्रेका औषधिहरु पनि संगै राखेर बिक्री बितरण गरेको पाइएको बताउनुभयो ।

बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । अहिले अनुगमन गरेर अहिलेको प्रतिवेदन अनुरुप सुधार भए नभएको एकिन गरेर थप अगाडी बढ्ने उहाँको भनाई छ । विगतमा पनि अनुगमन भएका र त्यो समयमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको र अब पनि सुधार नभएर आवश्यक कानुनी प्रकृयामा जाने उहाँको भनाई छ ।
यस पटक बेनी बजारका छ वटा औषधि पसलहरुमा अनुगमन गरिएको र आवश्यक निर्देशन दिइएको ठकुराठीको भनाई छ । अर्को अनुगमनमा पनि सुधार नभएको खण्डमा आवश्यक कार्वाही प्रकृया अगाडी बढाइने उहाँको धारणा थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *