सम्पादकीय
व्यवस्थाका हिसाबले देशमा यतिबेला उन्नत व्यवस्था छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित देशमा शासन अभ्यास, कार्यशैली र व्यवहार भने उही पुरानै व्यवस्थाको दोहोरिरहेको छ । संघीय र प्रदेश संसदको निर्वाचन भएको दुई वर्ष पुरा नहुँदै कैयन पटक राजनीतिक समीकरणमा बदलाव आयो । कहिले संसदको पहिलो दल नेपाली कांग्रेस प्रतिपक्षी बन्यो त कहिले दोस्रो दल नेकपा एमाले । एमाले, कांग्रेसको साथमा तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र सत्ताको बागडोरमा निरन्तर १८ महिना रह्यो । यसबिचमा समीकरण फेरबदल भइरहे पनि प्रधानमन्त्रीमा पूष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर रहे । कारण एमाले कांग्रेसले एक अर्कालाई प्रमुख प्रतिस्पर्धी मान्दै आए । अन्ततः मुख्य दुई दलको मिलन पश्चात प्रधानमन्त्री प्रचण्ड सत्ताबाट बहिगर्मन भएका छन् ।
सर्वोच्च अदालतको आदेशबाट सत्ताबाट च्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही वर्षको अन्तरालमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने अवसर पाए । त्यो पनि संसदको पहिलो दल प्रमुख प्रतिस्पर्धी रहेको नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए । सोही अनुरुप प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार सपथ लिँदैछन् । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा समेत टुंगो लागेको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ । नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।
पछिल्लो डेढ वर्षको अन्तरालमा नेपालमा जे जसरी सरकार, सत्ता समीकरण बनेका छन्, त्यो चामत्कारिक किसिमले बनिरहेका छन् । अहिलेको सत्ता समीकरण पनि माओवादीका लागि त अस्वभाविक परिघटना थियो नै, आम नागरिक समेत स्थिरताका लागि कांग्रेस एमाले बिचको सहकार्यमा सरकार बनोस् भन्ने भए पनि भइहाल्छ भन्नेमा आशावादी थिएनन् । जे होस्, अहिले कांग्रेस एमाले बिच सत्ता साझेदारी सहकार्य भएको छ । यस्तो समीकरणका पछाडि साँच्चिकै मुलुकमा स्थिरता, विकास र समृद्धिको असल नियत छ कि कुनै स्वार्थ समूहको चाहना र नियत अन्तरनिहित छ ? त्यो समयको पर्दामा विस्तारै उघ्रिदै जानेछ । यो चाही यथार्थ हो कि नेपालमा सबै भन्दा धेरै पटक पटक सत्ताको नेतृत्व गरिरहेका दुई राजनीतिक शक्तिको सत्ता यात्रा कति उपलब्धिमूलक हुनेछ ? उदाउँदा नयाँ शक्तिले दिइरहेको चुनौतिबाट कति पाठ सिकेका छन्, सचेत भएका छन् ? राम्रा कार्य गर्न कति उद्देलित भएका छन् ? यसको परीक्षा आजैका दिनबाट सुरु हुनेछ । आम नागरिकको आशा कांग्रेस एमाले नेतृत्वको सरकार सहमति अनुसार नै अघि बढोस्, देशमा फेरि अस्थिरता र बेथिति नफैलियोस् भन्नेमा छ । यदि यसमा यी दलले सत्ता स्वार्थकै लागि बेवास्ता गरे त्यसको हिसाब जनताले अवश्य राख्नेछन् ।