बागलुङ बजार फेरि डुबानमा नपरोस्

फाइल तस्बिर

सम्पादकीय
गत साता परेको भारी वर्षाले देशका बिभिन्न स्थानमा ठुलो जनधनको क्षति भयो । कैयनले बाढी पहिरोमा परेर अकालमै ज्यान गुमाए, सैयन नागरिक बाढी, पहिरो लगायतका विपद्बाट आक्रान्त बनेर अनेकन दुःख, सास्ती र क्षति बेहोर्न पुगे । बागलुङ जिल्ला पनि यसवर्षको विपद्बाट अछुतो रहेन । पहिरोले घर पुरिँदा केहीको ज्यान गइसकेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा बाढी पसेर खतराको घण्टि बजाइसकेको छ । बुधबार राती बाढीले बागलुङ नगरपालिका–२ हाँडेपाखा, श्रीनगरटोल, क्याम्पस चोक, बालमन्दिर रोड, धौलागिरी चोक, लोकतान्त्रिक चोक, हल्लनचोकका पसल र घर डुबानमा परे र लाखौंको सामानमा क्षति भयो । बाढीले बानपा–२ हाडेपाखा स्थित हाडेपाखा कुखुरा फार्मका करिब १ हजार बोइलर कुखुरा मरे । यस घटनाले बागलुङ बजार पनि विपद्को खतराबाट टाढा छैन भन्ने प्रष्ट देखिएको छ ।

उसो त बागलुङ बजारमा बाढी पसेर डुबानमा परेको यो पहिलो घटना भने होइन । विगतमा वर्षमा पनि अलि ठुलो वर्षा भयो कि सडकमै ताल पर्ने र ढल सडकबाटै बग्ने पुरानै नियति हो । लहरेपिपल, रातामाटा, मुलपानी, पाखाथरको पानी मध्यपाहाडी लोकमार्गको नालीमा आउने गर्दछ । तर, लोकमार्ग बनाउने क्रममै रहेका कारणले बागलुङ बजारमा सिधै पानी÷लेदो÷बाढी आइरहेको अवस्था छ । धेरै वर्षदेखि बागलुङ बजारमा वर्षायामको समयमा सडकमा हिँड्न नसक्ने अवस्था आउँछ । यो समस्याको मुख्य कारण भनेको परापूर्वकालदेखिका बागलुङ बजारका राजकुलालाई नाली बनाइयो । तर, उनीहरुको साइज भने बढाइएन । बागलुङ बजारमा घर, सडक निर्माण गर्दा र नाली निमार्ण गर्दा यथेष्ट ध्यान नदिएका कारण वर्षायाममा बागलुङ बजारका सडकमा खोलै बग्ने गरेको छ । बजार क्षेत्रमा घर बनाउँदा घर अगाडिको नालीलाई पनि व्यवस्थित रुपमा फराकिलो र पक्की बनाउने तर्फ न नगरपालिकाले पहल ग¥यो, न नगरबासी घरबेटीहरुले नै । यही बेवास्ता र लापरबाहीका कारण वर्षेनी बर्खायाममा दुःख पाउनु पर्ने बिडम्बना दोहोरिरहेको छ । अब कुन दिन ठुलै विपद्को रुप धारण गरेर आउँछ केही भन्न सक्ने अवस्था छैन । साँघुरा नालीमा घर बनाउँदा बालुवा गिटी परेर थुनिने बेथिति उस्तै छ । तर, स्थानीय घरधनीले नालीको सरसफाई मर्मत गर्ने संस्कार छैन । नगरपालिका जनप्रतिनिधि, कर्मचारीलाई दोषारोपण मात्रै गर्ने प्रवृत्ति व्याप्त छ । अर्को तर्फ स्थानीय सरकार पनि यसमा समयमै यथोचित पहलकदमी लिन असफल प्रायः छ ।

बागलुङ बजार हरेक वर्षको बर्खामासमा जलमग्न हुन्छ । फोहोर ढल नालीबाट बग्दैन, सडकबाटै बग्न थाल्छ । यसले शहरको अव्यवस्थित विकास, बेथितिलाई बारबार उदांगो बनाएर देखाइरहेको छ । तर, किन यथेष्ट र अपेक्षाकृत समस्या समाधान हुन सकिरहेको छैन ? बजारको ढल निकास, व्यवस्थापनमा कहाँ–कहाँ समस्या छ ? यसका लागि स्वयम् बजारवासी र नगरपालिकाले के–के गर्नु गराउन आवश्यक छ ? अब यी र यस्ता प्रश्न र सवालमा बागलुङ नगरपालिका र बजारबासीले गम्भिरतापूर्वक मनन र मन्थन गर्नुपर्छ । फराकिलो ढल बनाउँदा आफ्नो घरको पेटी अथवा आँगन पनि सफा, विपद्जन्य जोखिम पनि कम हुन्छ भन्ने स्थानीयमा सोच र जागरुकता जरुरी छ । नगरपालिका, जनप्रतिनिधि र सरोकारवाला निकायले पनि बजारमा बाढी पसिसके पछि, डुबानमा परिसके पछि, क्षति भइसके पछि कदम चाल्नु भन्दा पनि अहिले तत्काल वर्षा भइरहँदा फेरि बागलुङ बजार डुबानमा नपर्ने गरी यथेष्ट जोखिम न्युनिकरणका लागि आवश्यक तयारी दिर्घकालीन रुपमा समेत समाधान हुने हिसाबले चुस्त योजना बनाएर अघि बढ्नुपर्छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय लगायत सरोकारवाला निकायलाई पनि उत्तिकै जवाफदेही र जिम्मेवार बनाउन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *