स्थानीयको अवरोधले ‘१३२ केभी बुर्तिबाङ सवस्टेशन’ संचालनमा ढिलाई

डम्मर बुढा मगर, बागलुङ
१३२ केभी बुर्तिबाङ सवस्टेशन असार पहिलो सातानै संचालनमा ल्याउने गरि आयोजना कार्यालयले काम गरेको थियो । तर बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण अहिलेसम्म संचालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा संचालनमा आउन नसकेको हो ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । असार ९ गते सर्वोच्चले रिटनै खारेज गरि दिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन वि.सं. २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेशनको निर्माण भएको छ । वि.सं. २०७६ सालमा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो ।

मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन वि.सं. २०७८ चैत १२ गते परीक्षण गरि सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन असार ७ गतेदेखि संचालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । सर्वोच्चले रिट खारेजपछि अब काम तीव्र गतिमा हुने उहाँको भनाइ छ । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङक सवस्टेशन एकै पटक संचालन गरिने उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार पौँदीअमराईदेखि बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नु पर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै १५ वटा निर्माण गर्ने बाँकी रहेका छन् । १५ वटा टावरसँगै लाइनसमेत तान्न बाँकी रहेको चौधरीको भनाइ छ ।

“काममा कुनै बाधा नभएको हुन्थ्यो भने यति बेला १३२ केभी बुर्तिबाङ सवस्टेशन संचालनमा आउने थियो, हाम्रो लक्ष्य असारमै सक्नु पर्ने थियो, तर विभिन्न बाध्यात्मक परिस्थितीले गर्दा ढिला भयो” चौधरीले भन्नुभयो – “अब छिट्टै कामलाई गति दिएर सक्छौँ, स्थानीयलाई मुअब्जा दिने काम पनि भइरहेको छ, विद्युत प्राधिकरण केन्द्रबाटै छिटो काम सक्नका लागि प्रेसर छ, छिट्टैनै काम सक्छौँ र संचालनमा ल्याउँछौँ ।”

सवस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरि ४० करोडमा मुडभरी/जोसी/गौरा जेबीलाई जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब ८३ करोडको लागतमा सिक्माकोन/एमएसपील जेबीलाई जिम्मा दिइएको थियो ।

कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर दरुरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने छ । बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आयोजना सम्पन्न गर्नका लागि आफूहरुले सहज वातावरण तयार गर्नका लागि भूमिका खेलेको बताउनुभयो । आयोजनाले टावर निर्माण गर्दा प्रयोग हुने जग्गाको धनीलाई उचित मुअब्जा दिनका लागि आग्रह गरेको उहाँको भनाइ छ ।

सदरमुकाम बागलुङ बजारका आसपासमा केही वर्ष अगाडिनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि पश्चिम बागलुङ भने जोडिन सकेको थिएन । अघिल्लो तीन वर्ष अगाडिदेखि विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ ।

अहिलेसम्म निसीखोला र तमानखोला केन्द्रीय लाइनले जोडिन सकेका छैनन् । यद्यपी प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको गाउँ–गाउँसम्म अहिले विद्युतीय पोल गाड्ने र तार तान्ने काम भने गरि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *