कठिन भीरमा मह काढ्दै दोबाका युवा

अमृत बास्कुन, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाहरुले महसिकार गर्नुभएको छ । स्थानीय राम्जा टोलका विकास पुन, बेग राम्जाली, कोपिल पुन, देबेन्द्र पूर्जा र बेग पुनलगायत १७ जनाको टोलीले यो असारमा भीरमाहुरीको महको सिकार गर्नुभयो ।

निकै जोखिमपूर्ण रहेको भिरको मह सिकार गर्नकालागि आफ्नो ढाडमा डोरी बाँधी झुन्डिए महसिकारका लागि स्थानीय प्रविधिबाट तयार गरिएको बासको चोयाँ र काठ प्रयोग गरि बनाइएमा लामो भ¥याङ (स्थानीय भाषामा पराङ भनिन्छ)मा झुण्डिएर मह काढ्ने गरेका छन् । दोबाको राम्जा पुन टोल समुहबाट यसबर्ष मह सिकार गर्ने पालो भएकाले गएको चैतमा सिकार गर्दा चार सय लिटर मह निकालेकोमा यो असारमा भने १२५ लिटर मात्रै मह निकाल्न सकेको टोलीका सदस्य बिकास पुनले बताउनुभयो । गत चैतमा १९ जनाको टोलीले सिकार गरेको भए पनि यस पटक भने १७ जना मात्रै गएको पुनको भनाई छ ।

दोवा गाउँको घाँस कुच्चे छहरा, महर्तला भिर, परिम पहरा, गौथली भीर, खोम्सरा पहरामा युवाहरुले मह सिकार गरी रहेको र यसलाई स्थानीय युवाहरुले आफ्नो पुख्र्यौली पेसा र परम्परा पनि ठान्ने गरेको अन्नपुर्ण गाउँपालिका–१ का वडा अध्यक्ष दिलिपकुमार गर्बुजाको भनाई छ । दोवा क्षेत्रका विभिन्न पाँच वटा टोलले हरेक वर्ष पालैपालो मह सिकार गर्ने गरेको गर्बुजाको भनाई छ । डरलाग्दो अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक कार्य मह सिकारमा निस्किने युवाहरूले सिजनमा एक वर्ष सम्म नियमित मह सिकारमा गर्ने गर्दछन् । पराङमा झुन्डिएर माहुरीको चाका नजीक पुगेर मह निकाल्नु जोखिमपूर्ण हुने भएकाले अनुभवीहरु मात्रै भिरमा उक्लने र सहजै निकाल्न सकिने भए पनि जोखिम भने निकै हुन्छ ।

एक स्थानबाट मह निकाल्न ३ देखि ५ घण्टासम्म भिरमै झुण्डीन पर्ने र अन्य तयारीका लागि पनि समय लाग्ने हुँदा एकै ठाउँमा दिनभर समय खर्चिने महसिकारीको भनाई छ । भीर मह काढ्दा परङमार्फत गएका सिकारीले माहुरीको चाका रहेको स्थानमा आगोको धुवाँ हालेपछि माहुरी भाग्ने र मह निकाल्न सहज हुने भए पनि थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत धेरै समय खर्चनुपर्छ । सुरुमा धूवाँ मौरी भएको ठाउँसम्म पु¥याईन्छ, धूवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्न सजिलो हुन्छ ।

मह निकाल्नका लागि ठूलो समूह जाने र भिरको माथिबाट तल भुईंसम्म डोरीको सहायताले महका चाका झार्ने र भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने मह सिकारी युवा बेग राम्जालीको भनाई छ ।

झण्डै ४ सयदेखि १ हजार मिटर सम्मको उचाईका पहराहरुबाट यसवर्ष हालसम्म पाँच सय २५ लिटर मह निकालिएको विकास पुनको भनाई छ । स्थानीय युवा भएकाले बिक्री भएको मह समुह मार्फत बेचेर यूवाहरूले घरखर्च चलाउने गरेका छन् । दोबाको मह नेपाल भित्र प्रतिलिटर तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुुन्छ भने विदेशमा रहेका नेपालीको समेत रोजाईमा पर्ने गरेको छ ।

भीर मह पाइने आसपासका क्षेत्रमा सुन्दर झरनाहरू भएकाले विदेशी पर्यटकलाई समेत आर्कषित गर्न सकिने स्थानीयबासीको भनाई छ । बस्तीबाट धेरै टाढा भीरमा क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा बृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिनु पर्ने वडा अध्यक्ष गर्बुजाको भनाई छ । वडाभित्र रहेका टोलले हरेक बर्ष पालैपालो मह निकाल्ने नियम बनाइएको उहाँको भनाई छ । पछिल्लो समय स्थानीयलाई भीरमा जाँदा आवश्यक पर्ने सुरक्षाको उपकरणहरूमा ध्यान दिन यूवाहरूलाई अनुरोध गर्ने गरिएको वडा अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।

हिमाली जिल्ला म्याग्दीको दोबा बाहेक कुईनेमंगले, लुलाङ, गुर्जा, चिमखोला, दग्नाम, दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ । भीर मह काढ्न जोखिमपूर्ण भएपनि बजारको कुनै समस्या नभएकाले यूवाहरूको सक्रियता बढेको छ । स्थानीय तह, वडा, आमा समुहलाई शुल्क तिरेर मह निकाल्ने गरिन्छ । भिरमाहुरीको संरक्षण तथा आवश्यक जनचेतनामुलक अभियान आवश्यक भएपनि त्यसो गर्न नसकिएको जस्तो समेत देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *