बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । असार २६ गते खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि त्यसयता नगरबासीहरु खानेपानीको समस्या झेल्दै आएका छन् ।

बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बागलुङ बजारको चार हजार ६०० धारामा खानेपानी बितरण गर्दै आएपनि खानेपानीको पाइप बगाएपछि प्रयाप्त खानेपानी वितरण गर्न नसक्दा खानेपानीको हाहाकार भएको छ ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ती गर्दै आएको मुख्य मुहानको पाइप बथगाउदा खानेपानीको माग धान्न नसकेको हो । बागलुङ बजारबासीलाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमासमेत सम्पन्न नभएका कारण खानेपानीको थप समस्या नगरबासीले झेल्दै आएको छ ।

भूदिखोलाको मुहानको पाइप बगाउदा खानेपानीको अभाव भइरहेको बताउदै बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव जिवन आचार्यले खानेपानीको पाइप मर्मत गर्ने कार्य थालिएकाले छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

“खानेपानीको समस्या छ, हामी स्विकाछौं, सबै मिलेर काम गर्न आवश्यक छ, कैलमपोखरी लिफ्ट आयोजना हामीले जतिसक्दो छिटो सक्न आवश्यक थियो, समस्या धेरै छ” आचार्यले भन्नुभयो “नगरविकास कोषको सहयोगमा निर्माणको अन्तिम चरणमा आएको लिफ्ट खानेपानी आयोजनाको पाइपलाई पुन बिस्तार गर्न आवश्यक देखिएपछि ढिलाई भएको छ भने हाल सम्म ल्याइएको खानेपानीको पाइप फुट्दा खानेपानीको समस्या भएको, वर्षा नरोकिदा सम्म समस्या भएको थियो, अहिले तीन दिनदेखि पाइप मर्मत भइरहेको र एक÷दुई दिनमै पानीको आपूर्ती सहज हुने छ ।”

पुरै खानेपानी आपूर्ती गर्दा समेत बागलुङ बजारबासीको मागको आधा मात्रै पुरा हुँने भएकाले खानेपानीको समस्या पूर्ण रुपमा हट्न लिफ्ट आयोजना सम्पन्न हुनुपर्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरी बहादुर जिसीले बताउनुभयो ।

अस्थायी रुपमा चार इन्च र छ इन्चको जिआईपाइपमा अहिले लिफ्टमार्फत समेत खानेपानी लिएर बजारमा बितरण गर्दा बजारबासीलाई केही राहत मात्रै मिलेको भएपनि महिनाको विद्युत महशुल मात्रै सात लाख आउदा खानेपानी संस्था अािर्थक संकटमा पुगेको छ ।

प्रति सेकेण्ड १७ लिटर खानेपानी आपूर्ती हुँदै आएको भूलिखोलाको खानेपानीको पाइप बागलुङ नगरपालिका र काठेखोलन गाउँपालिकाको सिमानामा बग्ने खहरेखोलाले बगाएपछि खानेपानीको समस्या झनै बढेको जानकारी दिनुभयो ।

अहिले बागलुङ बजारमा रेश खोलाबाट आएको प्रतिसेकेण्ड १७ लिटर खानेपानी र रिठेखोलाबाट लिइएको प्रतिसेकेण्ड ३ लिटर खानेपानी आपूर्ती भएरहेको छ भने कैलमपोखरीबाट आवश्यकता अनुसार अस्थायी लिफ्ट मार्फत खानेपानी ल्याइएको भएपनि मागको २५ प्रतिश मात्रै पानीले बजारलाई थेग्न सकेको छैन । बागलुङ बजारका कमल खड्काले बागलुङ बजारबासीलाई खानेपानीको दुःखले नछोडेको बताउनुभयो ।

“वर्खामा खानेपानीको बढी समस्या छ, अहिले बजारबासीहरु बागलुङबाजर आसपासका मुहानमा पानी लिन गएको देख्न सकिन्छ” खड्काले भन्नुभयो “बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि बागलुङ नगरपालिकाले समेत ध्यान दिन आवश्यक छ ।”

राष्ट्रिय युवा संघ बागलुङले समेत खानेपानीको समस्या समाधानका लागि खानेपानीको कार्यालयमा लगाएको ताला प्रहरीले फुटाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *