दुःखद दुर्घटनाको नियति

सम्पादकीय
नेपालको भौगोलिक जटिलता, त्यसमा पनि मानवीय रुपमा भइरहेको चरम लापरवाही र बेवास्ता,जसले ठुला ठुला विपद्लाई निम्त्याइरहेको छ । जसबाट अकालमै सैयन मानिसको ज्यान जाने मात्र होइन, वर्षेनी हजारौंले ज्यान गुमाउन बाध्य भइरहेका छन् । हुन त घटना, दुर्घटना एक भवितव्य हो । तर, यसमा जानी नजानी हुने कमजोरी र लापरबाहीकै कारण नेपाल र नेपालीले उल्लेख्य क्षति हरेक वर्ष बेहोर्ने गरेको छ । अझ हरेक वर्ष बर्खायाम झरी सुरु भए यता पहाडी र हिमाली क्षेत्रमा बाढी, पहिरो र तराइका क्षेत्रमा डुबानले नागरिक आक्रान्त बन्दै आएका छन् । जुन यसवर्ष पनि धेरै स्थानमा देखिसकेको छ । अझ कहाँ कहाँ केके हुने हो भन्ने जलत्रासको अवस्था विद्यमान छ ।

नेपालमा प्रत्येक वर्ष सडक दुर्घटनामा परेर २९ सयको हाराहारीमा मृत्यु हुनेको गरेको तथ्यांक छ । यसवर्षको बर्खायाम असार अन्तिम साता अप्रिय दुर्घटना नेपाल र नेपालीले बेहोरे । लेदो सहितको बाढीले सिंगै दुई बस त्रिशूली नदीमा खसायो । जसमा परेर ४० जना भन्दा बढी अहिले पनि बेपत्ता छन् । ठुला सिंगो दुई बसको अवस्था अज्ञात छ । सरकार, सुरक्षा निकायले हराइरहेकाहरुको खोजी तथा उद्दार कार्यलाई बिभिन्न प्रविधि, गोताखोर प्रयोग गरेर खोजी कार्य त जारी राखेको छ तर, फेला पार्न सकिरहेको छैन । यतिबेला उर्लेर बग्दै गरेको धमिलो त्रिशूलीमा बसकै अवशेषहरू पनि भेटिन मुस्किल हुने अवस्थाले बेपत्ता परिवारका सदस्य चरम पीडा र निराशामा छन् । दुर्घटना यतिमा मात्र सीमित छैन । यो ठुलो संख्यामा सिंगो देशलाई स्तब्ध तुल्याउने घटना भयो । यसका अतिरिक्त दैनिकजसो बिभिन्न स्थानमा सडक दुर्घटना भइरहेका छन्, कतै न कतै ज्यान गुमाइरहेका छन्, अंगभंग भइरहेका छन्, घर पुरिएर र बाढी पहिरोको जोखिमले बिस्थापित बन्न बाध्य भइरहेका छन् ।

हुन त दुर्घटना भवितव्य हो । यो कसैले चाहेर या नचाहेर आउने नआउने भन्ने हुँदैन । तर, दुर्घटनाको जोखिम न्यूनिकरणका लागि पूर्ववत रुपमा विपद्जन्य घटना रोकथामका तयारी, योजना, सचेतताका कार्यक्रम समयमै ल्याउने हो भने उल्लेख्य संख्यामा विपद्का घटनामा कमी आउन सक्छ । अर्को तर्फ बिना योजना सीमित स्वार्थ समूहको चाहना र लहडमा विकासका नाममा जे जस्ता भौतिक पूर्वाधारका कामहरु भइरहेका छन्, त्यस्तो जबरजस्त लापरबाहीले पनि यतिबेला समाजमा अप्रिय प्राकृतिक विपद्का घटनाहरु बढेका छन् । रातबिरात राजमार्गबाट बस सीधै त्रिशूलीमा खस्नु प्रायः नेपालमा नियमित आकस्मिकता हुने गरेको हरेक छ । नेपालको सडकको दुरावस्थाका कारण दुर्घटना हुने कारण एकातिर छ, त्यो सँगै जोखिमपूर्ण सडकमा जबरजस्त र लापरवाहीपूर्ण तबरले चलाउने प्रवृत्ति अर्को कारक छ । यसमा गाडी चुस्त राख्नै पर्ने बाध्यकारी नियम कार्यान्वयनको कुनै संयन्त्र बनाइएको छैन । गाडी जाँचपास प्रक्रिया नै फितलो छ । चालकहरूलाई बेलाबेला सरोकारवाला र सम्बन्धित यातायात व्यवसायीले प्रशिक्षण दिएको छैन । सधैं दुर्घटनाको पिर भइरहने त्रिशूली नदी किनारको राजमार्गमा छेकबार लगायत अरू सुरक्षाका उपाय अपनाउने जिम्मेवारी सडक विभागले निर्वाह गर्नुपर्छ । त्रिशूलीमा खसेर ठुलो संख्यामा सर्वसाधारणदेखि मुलुकका ठूला नेतासम्मले ज्यान गुमाउँदा पनि राज्य संवेदनशील र गम्भीर नहुनु दुर्भाग्यको कुरा हो । यसमा समयमै सरकार, सरोकारवाला र सर्वसाधारण सबै सचेत र जिम्मेवार बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *