काठेखोलाको ५५ रोपनी जग्गामा चियाखेती विस्तार


खेमराज गौतम, बागलुङ

बागलुङको काठेखोला गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको थामानेटा क्षेत्रमा यस पटक गाउँपालिकाले तीन रोपनी जग्गामा चिया खेती लगाएको छ ।

थामानेटा सहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी क्षेत्रमा गाउँपालिकाले सामुदायिक वन उपभोक्ताको सक्रियतामा चिया खेती विस्तार थालेको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोजस्थलका रुपमा छ । थामानेटामा अहिले भ्यू टावर र आश्रयस्थल लगायतका संरचना समेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रमस्थलको रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने भन्दै गाउँपालिकाले चियाखेती थालेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

थामानेटामा आएका पर्यटकहरुलाई थप आर्कषण गर्नका लागि र उपभोक्ताको आय आर्जन वृद्धिका लागि यस क्षेत्रमा पहिलो पटक चिया खेती विस्तार गरिएको काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा पहिलो पटक चियाखेती थालेपनि गाउँपालिकामा भने पहिलो नभएको बताउनुभयो । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले संभावित क्षेत्रमा चिया खेती विस्तार गर्न थालेको छ । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चिया खेती विस्तार गर्ने योजना अनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चिया खेती लगाएको छ ।

वडा अध्यक्ष कँडेलका अनुसार थामानेटाको तीन रोपनी जग्गामा एक हजार ५०० चियाका विरुवा पहिलोपटक लगाइएको बताउनुभयो । “वन क्षेत्रको झाडी फाडेर चियाखेती लगाइएको छ, सामुदायिक वन उपभोक्ताका सदस्यले आय आर्जन गर्नका लागि र थामानेटा आएका पर्यटकहरुलाई चिया बगानेल आकर्षण गराउनका लागि चिया खेती थालिएको छ” कंडेलले भन्नुभयो “सामुदायिक वनमा आगमी वर्ष सम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले समेत चियाखेती विस्तारमा सघाउने लक्ष्य राखेको छ ।”

काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी १४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्ष अघि लगाएका एक हजार ५०० चियाका विरुवाले चिया उत्पादन दिन थालिसकेको छ । रेशमा सफल भएको चियाखेती गाउँपालिका भर विस्तार गर्ने योजनामा गाउँपालिका लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । थापाका अनुसार आर्थिक वर्ष २०८०/२०८१मा रेश सहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताउनुभयो ।

गाउँपालिकाले चिया खेती विस्तारका लागि बिनियोजन गरेको रु. ११ लाख बजेटबाट ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाइएको बताउनुभयो । बिहुँको थामानेटामा झाडी फाडेर चियाखेती थालिएको छ भने रेश र धम्जाको सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैचा बनाउन थालिएको थापाको भनाई छ ।

“बिहुँको थामानेटामा चिया बगैचा बनाउन गाउँपालिकाले शुरुवात गरेको छ, आगमी वर्ष फापरखेतमा समेत चिया विस्तारको लक्ष्य लिएको छ, रेश र धम्जामा पहिलैदेखि चिया खेती भइरहेकोमा क्षेत्र विस्तार गरिएको छ, रु. ११ लाख बजेटमा स्थानीय उपभोक्ताले समेत रु. तीन लाख थप गरेर गाउँपालिकाले ५५ रोपनी जग्गामा ४० हजार चियाका विरुवा लगाएर चियाखेती विस्तार गरेको हो” थापाले भन्नुभयो “गाउँपालिका चियामा राम्रो संभावना रहेको रेशले देखाएको बताउदै वडा कार्यालय र त्यहाँको सानाकिसान सहकारीले विस्तार गरेको चियाखेतीलाई गाउँपालिका भर पु¥याउने पालिकाको योजना छ, रेशका कारण विरुवा समेत अन्तबाट ल्याउन परेन काठेखोला गाउँपालिका–७ रेशमा उत्पादन भएको चियाको बिरुवा खरिद गरेर क्षेत्र विस्तार थालिएको हो ।”

रेशमा उत्पादन भइरहेको चियाले बजार समेत पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चिया खेतीगर्नका लागि गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले ५० प्रतिश अनुदानमा रु. तीन लाख र चिया खेती विस्तारमा रु. ८ लाख गरी ११ लाख बिनियोजन गरेकोमा रेश, धम्जा र बिहुँमा चियाखेती विस्तार गरिएको जानकारी दिनुभयो ।पालिकाको सहयोगमा रेशको जनकल्याण आधारभूत विद्यालयको २० रोपनी जग्गा र सरस्वती प्राविको जग्गामा ३० रोपनी गरी ५० रोपनी जग्गामा ३६ हजार चियाका विरुवा लगाइएको लामिछानेको भनाई छ । यस्तै काठेखोला गाउँपालिका–५ बिहुँ र काठेखोला गाउँपालिका ३ धम्जामा साढेदुई साढेदुई रोपनी गरी पाँच रोपनी जग्गामा तीन हजार चियाका विरुवा लगाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *