बागलुङमा दुई लाख १६ हजार पशुलाई खोप लगाइयो

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जिल्लाको दश स्थानीय तहको ८५ वटै वडामा पशु प्राबिधिक खटाएर खोप लगाएको हो । पशु प्राबिधिकले किसानका गोठमै पुगेर भैसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर कुकुर लगायतका पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढि भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार एक लाख १७ हजार ५६७ भेडाबाख्रा र दुई हजार ११० बुङ्गुरमा खोप लगाइएको हो । २१ हजार ५४६ गाईगोरु, ४९ हजार ९४६ भैँसीराँगा, नौ हजार ७५० कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका सूचना अधिकारी केशवराज शर्माले जानकारी दिनुभयो । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवर लगाएतका खोप लगाइएको उहाँको भनाइ छ ।

विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल गरि स्थानीय तहका पशुचौपायाको तथ्याङ्क संकलन गरेर किसानका घर घरमै पुगेर खोप लगाउने शर्माले जानकारी दिनुभयो । केन्द्रबाट हरेक स्थानीय तहमा २ समुहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५र१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । जिल्लाको दूर दराजसम्म पुगेर प्राबिधिकले पशुचौपायालाई खोप लगाउनु पर्ने हुँदा गत माघ महिनाबाटै खोप अभियान संचालन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै वडामा ८५ जना प्राबिधिक खटाएरका थियौँ, उहाँहरुले किसानका घर गोठसम्मै पुगेर पशुचौपायालाई खोप लगाउनु भएको थियो, अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउदा दुध घटाउछ, बिरामी पर्छन् भनेर नमान्ने कृषकहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी हुनुभयो, गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण किसानले धेरै नोक्सानी व्यहोर्नु परेको थियो ।”

खोप अभियान संचालनका लागि सरकारले एक करोड ४० लाख बजेट विनयोजन भएकोमा एक करोड १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ प्रमुख डाक्टर ऋषिराम सापकोटाले बताउनुभयो । पछिल्लो समय किसानहरुमा पशुचौपायलाई खोप लगाउनु पर्छ भन्ने चेतनाको वृद्धि भएको बताउनुभयो ।

पहिले गोठमै गएर खोप लगाउन आग्रह गर्दा पनि नमान्ने किसान अहिले पशुनै लिएर भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताउनुभयो । यस वर्ष खोप अभियान निकै प्रभावकारी भएको उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *