सडक, हवाई दुवै यात्रा असुरक्षित ?

सम्पादकीय
हुन त दुर्घटना आफैमा एक भवितव्य हो । तर, त्यसरी हुने दुर्घटनामा के कस्ता कारण निहित छ, त्यसले निर्भर गर्छ । नेपालमा सडक देखि हवाइ दुर्घटना एक पछि अर्को भइरहेको छ । यसले दुर्घटना निम्ति रहनुको कारण खोज्न अपरिहार्य देखिएको छ । केही साता अघि मात्रै चितवनको सिमतालमा सडक दुर्घटनामा दुई वटा बस त्रिशुलीमा खसेर बेपत्ता भयो । बसमा सवार ४० भन्दा बढी यात्रु अहिले पनि बेपत्ता अवस्थामा छन् । उनीहरुको आधुनिक प्रविधि, भारत र नेपालका गोताखोरबाट निरन्तर खोज जारी छ । अरु स्थानमा पनि भारी वर्षा सँगै आएको बाढी, पहिरोसँगै दुर्घटना बढिरहेका छन् । यही अनुक्रममा बुधवार त्रिभुवन अन्तर्राष्टिन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरको विमान दुर्घटना भयो । जसमा सवार सोही कम्पनीका अधिकांश कर्मचारी र यात्रु गरेर १८ जनाको ज्यान गएको छ । एक पाइलटको भने घाइते अवस्थामा उद्दार गरिएको छ ।

विमानस्थलमै भएको दुर्घटनामा एकै निमेषमा १८ जनाको ज्यान गएको छ । दुर्घटनाग्रस्त विमान जहाज मर्मतपछि गरिने पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाँदै थियो । तर त्रिभुवन विमानस्थलबाट उडेको २० सेकेण्डपछि बिहान ११ बजेर ११ मिनेटमा जहाज ढलपल–ढलपल गर्न थाल्यो । हेर्दाहेर्दै दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुग्यो । त्यस लगत्तै आगो लाग्यो । दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा पाइलट मनिषरत्न शाक्यको मात्र जिवितै उद्दार भयो । सौर्य एयरलाइन्सको पोखरामा नियमित उडान थिएन । मर्मत सम्भारका लागि आफ्नै कर्मचारी लिएर पोखरा जाँदै गरको विमान दुर्घटनामा ठुलो मानवीय तथा भौतिक क्षति भयो । दुर्घटनाको समयमा मौसम सफा नै थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । जसले गर्दा दुर्घटना अझ रहस्यमय बनेको छ । यसबारेमा सरकारले बिहीवार शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने र दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

नेपालमा भएको पछिल्लो दुई दुर्घटना सिमताल सडक दुर्घटना र बुधवारको त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनासँगै सडक र हवाइ यात्रा दुवै असुरक्षित र जोखिमपूर्ण छन् भन्ने तर्कमा बल पुगेको छ । नेपालको सडक त सुरक्षित छैन नै, आकाश यात्रा पनि असुरक्षित छ ? या हाम्रा हवाइ जहाजहरु पनि पुराना, असुरक्षित जोखिमपूर्ण छन् ? तिनको यथोचित जाँच भइरहेको छ ? कि त अनेकन चलखेल र कमिसनको लालचमा कागजातमा मात्र विमान र बसहरु सही सलामत देखिएका छन् ? हवाई दुर्घटना रोक्न अपनाउनुपर्ने सुरक्षा सावधानीमा सम्झौता गरिँदा नै यस्ता भयावह घटना हुने गरेका छन् । कम्तीमा विमानको भौतिक अवस्थाको मापदण्डअनुरूप परीक्षण हुने हो भने पनि स्वतः यस्ता भयावह दुर्घटनाहरू कम हुनेछन् । अब यस दुर्घटनाले सरकारले गम्भिर ढंगले अध्ययन अनुसन्धान गराएर प्रतिवेदन बुझ्ने मात्र होइन, त्यसमा उल्लेखित सुझावलाई कार्यान्वयनमा पनि लैजानु पर्छ । सरकारले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएर विमानस्थल र जहाजको भौतिक अवस्था तथा चालक दलको शारीरिक एवं मानसिक स्वास्थ्यको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नियमित जाँच र अनुगमन हुने प्रबन्ध मिलाउनुपर्छ । विमान दुर्घटनामा जीवन गुमाएकाहरुले आफ्नो भौतिक शरीर मात्र गुमाएका छैनन्, अधिकांशले परिवारको आशा, भरोसा, सपना र अभिभावकत्व गुमाएका छन् । दुर्घटनामा दिवंगत प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारणको कामना । साथै, जीवितै उद्धार गरिएका चालकको शीघ्र स्वास्थ्य लाभको पनि कामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *