गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्ट्रिट नम्बर’


खेमराज गौतम, बागलुङ
बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्ट्रिट नम्बर’ राख्न थालेको छ ।

विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्ट्रिट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समिति मार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्ट्रिट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काका अनुसार रु. ५ लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताउनुभयो ।
उहाँले स्ट्रिट नम्बर राख्नका लागि पोल गाडिएको बताउनुभयो । खड्काले बोलीचालीको भाषामा लेख्दै आएको टोलको नामलाई स्टेट नम्मर संगै लेख्नेगरी अहिले स्ट्रिट नम्बरको पोल गाड्ने कार्यलाई अन्तिम रुप दिइएको बताउनुभयो ।

“पोखराको लेकसाइटमा राखिएको स्ट्रिट नम्बर जस्तै व्यवस्थित रुपमा बागलुङ बजारमा स्ट्रिट नम्बर राख्न थालिएको छ, अहिले पर्यटकहरु अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्ट्रिट नम्बर राखिएको र राखिएको नम्बर र टोलको नाम गुगल म्यापमा समेत राख्ने छौं, जस्कारण सजिलै गन्तव्यमा पुग्न पर्यटक तथा आगन्तुकलाई सहज हुनेछ” उपप्रमुख खड्काले भन्नुभयो “मुख्यगरी बागलुङ बजारलाई पर्यटकी शहर बनाउने योजना अनुसार स्ट्रिट नम्बर राख्न थालिएको हो, जिल्लाको कालिका मन्दिर, लामो झोलुङ्गे पुल र पञ्चकोट आएका पर्यटकलाई बागलुङ बजार भित्राउने हाम्रो मुख्य लक्ष्य हो ।”

पहिलो चरणमा एक सय चोक तथा मुख्य गल्लीको स्ट्रिट नम्बर राखेपछि आगमी वर्ष थप भित्रि गल्ली तथा चोकको स्ट्रिट नम्बर राख्ने योजना नगरपालिकासंग रहेको छ । भित्रि तथा सहायक बाटोलाई दोस्रो चरणमा स्ट्रिट नम्बर राखिने छ । स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्ट्रिट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने बागलुङ नगरपालिकाको योजना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *