निसीखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई

लोकेन्द्र निरासी, बुर्तिबाङ

निसीखोला गाउँपालिकाको जुग्जाखोलामा पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । पालिकाको गत आर्थिक वर्ष २०८०/०८१ को अन्तिम चौमासिकको योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । निसीखोला गाउँपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि.को सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित नागरिकहरुले निसीखोला गाउँपालिकाको सुशासन, सेवा प्रवाह, पारदर्शिता तथा नीति तथा कार्यक्रमको कार्यान्वयन र योजनाको प्रभावकारिताको विषयमा सुझाएका छन् ।
कार्यक्रममा निसीखोला गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले पालिकाले गरेका कार्यक्रम तथा योजनाहरुको तेस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन उपर साथै निसीखोला गाउँपालिकाको नीति, कार्यक्रम तथा योजना र सेवा प्रवाहका विभिन्न विषयहरुमा नागरिकहरुले प्रश्न तथा सुझाबहरु पेश गरेका थिए ।

उक्त कार्यक्रममा विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशु, यातायात, मोटरबाटो, पूर्वाधार निर्माण तथा विकास योजना, नागरिक सेवा प्रवाह लगायतका विभिन्न विषयमा नागरिकहरुले प्रश्न गरेका थिए ।

सोही क्रममा प्रश्कर्ताहरुले कृषिमा विनियोजित बजेटको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको, लक्षित वर्गका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गर्नुपर्ने, स्वास्थ्य इकाईहरुलाई स्रोत, साधन र जनशक्ति सहित व्यवस्थित गरिनु पर्ने, नागरिकहरुलाई सूचनाको हकबाट बन्चित गरिन नहुने, विभिन्न विद्यालयहरुमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको र रिक्त कतिपय शिक्षक दरबन्दीहरुमा शिक्षक पदपूर्ति हुन नसकेकाले समस्या सिर्जना भएको हुँदा पालिकाको ध्यान जानुपर्ने, शैक्षिक सुधार, सिकाइ सहजीकरण र विद्यालय अनुगमनलाई ध्यान दिनुपर्ने, पशु स्वास्थ्य शाखाबाट हुने सेवा प्रवाहलाई सहज बनाउनु पर्ने, व्यापार व्यवसायको प्रवर्धन र विकासलाई व्यवस्थापन गर्नुपर्ने, स्वाथ्य विमालाई पालिकाभित्रका सबै नागरिकको पहुँचसम्म पुराउनुपर्ने, निसीको कोस्का क्षेत्रका अतिक्रमित बन क्षेत्रलाई व्यवस्थित गरी वन अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने, योजना सम्पन्न गर्दा प्राविधिक कर्मचारीले अपठ्यारो पार्ने परिस्थितिको अन्त्य गर्दै भ्रष्टाचारको शुल्य सहनशीलता कायम गरिनु पर्ने, लगायतका विषयमा प्रश्न गरेका थिए । त्यसैगरी योजनाहरुको कार्यान्वय, अनुगमन र प्रभावकारिताको विषयमा समेत आवश्यक सुझाब दिएका थिए ।

त्यसैगरी प्रश्न कर्ताहरुले लामो समयसम्म गाउँ शिक्षा समितिले पूर्णता पाउन नसकेकाले त्यसलाई पूर्णता दिनुपर्ने, सार्वजनिक सवारी साधनको भाडादरमा एकरुपता कायम गरिनुपर्ने, पालिकाका कर्मचारीहरुले वर्षको बाह्रै महिना तलबको पचास प्रतिशतसम्म खादै आएको अतिरिक्त भत्तालाई हटाई आवश्यक व्यवस्थापन गरिनुपर्ने, योजना अनुगमनको भत्तालाई कम गरी मितव्ययी गरिनुपर्ने, लगायतका विषयमा प्रश्नकर्ताहरुले जनप्रतिनिधि तथा पालिकालाई आवश्यक सुझाब दिएका छन् ।

कार्यक्रममा उपस्थित नागरिकहरुले पालिकाले चालु आर्थिक वर्षमा खरिद गर्न लागेको सार्वजनिक बस सेवाको विषयमा समेत चासो व्यक्त गर्दै यसको महत्व, आवश्यकता र प्रभावकारिताको विषयमा पालिकाले गम्भीर भएर सोंच्नु पर्ने सुझाव दिएका छन् । साथै पालिकास्तरीय अस्पताल तथा स्वास्थ्य इकाईहरुलाई गुणस्तरीय बनाउनु पर्ने, विपत् व्यवस्थापन तथा सुत्केरी महिलाको लागि इमर्जेन्सी जिरो आवर हेलिकप्टर सेवा संचालन गरिनु पर्ने, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनु पर्ने, योजना अनुरुपका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने, लगायतका विषयमा समेत प्रश्न र सुझाबहरु राखेका थिए ।

कार्यक्रममा नेकपा एमाले निसीखोला गाउँ गाउँ कमिटीका अध्यक्ष भूमिराज घर्ती मगर, नेकपा एमाले जिल्ला समिति सदस्य रुद्र प्रसाद पौडेल, लिला बहादुर बुढा मगर, खुमन थापा, निसीखोला महिला सञ्जालकी अध्यक्ष महेन्द्र कुमारी घर्ती मगर लगायतले प्रश्न, जिज्ञासा र सुझाबहरु राख्नुभएको थियो ।

नागरिकहरुबाट उठेका प्रश्न र विज्ञासाको विषयमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती, उपाध्यक्ष प्रेम बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, वडा नं. १ का वडाअध्यक्ष चन्द्रसिंह रामजाली, कृषि शाखा प्रमुख भक्ति प्रसाद रेग्मी, शिक्षा शाखा प्रमुख विष्णु न्यौपाने, स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती, पशु स्वास्थ्य शाखा प्रमुख कष्ण चन्द लगातले प्रश्नकर्ताहरुलाई सम्बन्धित प्रश्नहरुको जवाफ र स्पष्टीकरण दिनुभएको थियो ।

कार्यक्रमम सम्बन्धित सरोकारवाला व्यक्ति तथा संस्थाको तर्फबाट नागरिकले उठाएका प्रश्न र गुनासाहरुको जवाफ दिएपछि कार्यक्रमको अन्त्यमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती र उपाध्यक्ष प्रेम बहादुर घर्तीले पालिकाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले निसीखोला गाउँपालिकाका सबै नागरिकहरुको सकारात्मक र रचनात्मक सुझाब सल्लाहलाई आत्मसाथ गरी आगामी दिनहरुमा स्थानीय पालिकाको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई ध्यानमा राखी समृद्ध निसीखोलाको विकासमा सबैसंग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको भयो ।

त्यसैगरी कार्यक्रममा टिप्पणीकर्ताको रुपमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले कार्यक्रमको टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उहाँले निसीखोला गाउँपालिकालाई समृद्ध बनाउनका लागि सुशासन, पारदर्शीता, जवाफदेहीता र नागरिकको सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनु भयो । साथै उहाँले पालिकालाई आत्मनिर्भर बनाउन आफ्नै आन्तरिक स्रोतको वृद्धि र व्यवस्थापन गर्नतर्फ पालिकाले विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका नागरिकहरु सेवा प्रवाहबाट के कति सन्तुष्ट छन् र पालिकाले गरेका कामकार्वाहीहरु कत्तिको प्रभावकारी छन् भन्ने विषयसंग सम्बन्धित रही मत सर्वेक्षेण फारमको आधारमा तयार पारिएको नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन नेपाल पत्रकार महासंघ बागलुङका कोषध्यक्ष खेमराज गौतमले प्रस्तुत गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य लोकेन्द्र स्ुनारले सार्वजनिक सुनुवाई कार्यक्रमको आचारसंहित र कानुनी पक्षको विषयमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पालिकाका शाखा प्रमुखहरु, विभिन्न वडाका वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्तीको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार डम्मर बुढा मगरले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *