अन्ततः नागरिकलाई घर भित्रै राख्न बागलुङमा सेना परिचालन गरिने

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरसको जोखिम रोक्नका लागि बागलुङ जिल्लामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति बागलुङको मंगलबार बसेको वैठकमा देश लक डाउन गर्दा समेत नागरिकले अटेर गरेको पाइए पछि कोरोनाको बढ्दो जोखिम कम गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो ।

देश लक डाउन गरिए पनि नागरिकहरु बजारमा एकल र सामुहिक रुपमा हिँड्ने क्रम जारी छ ।
जिल्लामा लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय प्रशासन ऐन २०२० को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गरिएको र सोही ऐनको दफा ६ को उपदफा २ बमोजिम जिल्ला जिल्ला स्थित नेपाली सेना अर्जुनवाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए ।

स्थितिको अवलोकन, सेनाका स्वास्थ्यकर्मीको परिचालन, क्वारेनटाइन निर्माण तथा मानिसहरुलाई घर भित्रै सुरक्षित रहनका लागि प्रहरीलाई सघाउने भुमिकामा नेपाली सेना रहने उनले बताए । ‘ठुलै जोखिम र समस्या आएर सेना परिचालन गर्न लागिएको होइन,’ प्रजिअ सैजुले भने, ‘अहिलेको नागरिकलाई घर भित्रै रहन थप सचेतना र निगरानीको आवश्यकता पनि देखियो, भोली अरु थप सम्भावित जोखिम कम गर्न सुरक्षा संवेदनशिलताका हिसावले पनि सहज होस् भन्ने अभिप्राय हो ।
संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही बमोजिम सजाय हुनेछ ।

गण्डकी प्रदेशमै बागलुङमा कोरोना संक्रमण जोखिमको हिसावले अगाडी देखिएको छ । अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा भारतको पटनाबाट आएका एक बिरामीको कोरोना आंशकामा स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको छ भने सोमवार मात्र कोरोना संक्रमण पुष्टि भएका किशोरीसँगै जहाजमा आएका बागलुङका दुई जनाको आगमन सँगै जनमानस थप भयभित समेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *