संसदीय छानबिन समितिलाई एमाले दियाे यस्ताे सुझाव


आदर्श अनलाइन, काठमाडौँ

नेकपा एमालेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई पार्टीका तर्फबाट सुझाव दिएको छ । एमाले स्थायी कमिटि सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले विशेष समितिका सभापति सूर्य थापालाई आइतवार पार्टीका तर्फबाट सुझाव प्रतिवेदन बुझाउनु भएको हो ।

एमालेले सहकारीको वर्तमान समस्या समाधानका लागि समस्याग्रस्त, समस्या उन्मुख र असल सहकारीहरुको पहिचान गर्नु पर्नेमा जोड दिएको छ । सहकारी संस्थाहरुको अवस्था छुट्याएर कार्वाही, संरक्षण र प्रवद्र्धन गर्न सकेमा सहकारीको समस्या समाधान हुने एमालेको निष्कर्ष छ ।

वर्तमान अवस्थामा सहकारीमा देखिएका समस्या समाधानका लागि हामीले सहकारीको अवस्था छुट्याउने र अवस्था अनुसार समस्याग्रस्त भएकाहरुको हकमा बदमासी गर्नेहरुलाई कार्वाही गर्ने, समस्या उन्मुख अवस्थामा रहेकाहरुलाई संरक्षण गर्ने र असल सहकारीहरुलाई प्रवद्र्धन गर्न सुझाव दिएका छौ, विभागीय प्रमुख अधिकारीले भन्नुभयो ।

समस्याग्रस्त सहकारीको हकमा बचत अपचलन गर्ने दोषीलाइ कारवाहीको दायरामा ल्याइ सस्थाका कार्यालय नियमित सञ्चालन गर्ने वातावरण बनाउनुका साथै ऋण उपभाग गर्नेबाट नियमित असुली गर्ने र बचतको अपचलन वा दुरुपयोग गर्नेको सम्पत्तिबाट सदस्यको बचत फिर्ताको प्रवन्ध गर्न सुझाव दिएको अधिकारीले जानकारी दिनुभयो ।

समस्याग्रस्त सहकारीहरुको समस्याका कारण समस्याउन्मुख भएका सहकारीहरुलाई राज्य र अभियानले आवश्यक सहजीकरण र संरक्षण गरी सुधार गराउने तथा असल अभ्यास गरिरहेका सहकारीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्नेु पर्नेमा एमालेको जोड छ । सदस्यहरुले जम्मा गरेको बचत अपचलन गर्नेहरुलाई हदैसम्मको कार्वाही गर्नु पर्छ, उनीहरुको जायजेथाबाट असुल उपर गरी सदस्यहरुको बचत फिर्ता गर्नु पर्छ, यो संगै सहकारीबाट ऋण लगेर नतिर्नेहरुलाई पनि कार्वाही गर्नु पर्नेमा एमालेको जोड छ ।

सहकारीका सदस्यहरुले बचत गरेको रकमको सुरक्षा गर्नका लागि सरोकारवालाहरुलाई जिम्मेवार बनाउने तथा सहकारीबाट लगेको ऋण समयमा भुक्तानी गर्नका लागि ऋणी सदस्यहरुलाई सचेत बनाउन सुझाव दिइएको अधिकारीले बताउनुभयो । सहकारीका ऋणीहरुलाई ऋण तिर्ने वातावरया सिर्जना गर्न, ऋण असुलीमा अटेर गर्ने सहकारी संस्थाका ऋणीलाई कार्वाही गर्न सुझाव दिइएको विभागका सचिव परितोष पौड्यालले बताउनुभयो ।

सहकारीको अनुगमन र नियमनका लागि छुट्टै संरचना निर्माण गर्न, सहकारी ऐनमा भएका व्यवस्था कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथ ऋण सुरक्षण कोष स्थापना तत्काल गर्न, सहकारीप्रति विश्वास जगाउनका लागि ध्यान दिनु पर्नेमा एमालेको जोड छ ।

सहकारी संस्थाको शुद्धिकरणका लागि संस्था र सदस्यबीचको विश्वासलाई प्रभावकारी बनाउने, संस्थामा सदस्यहरुको स्वामित्व स्थापित गर्ने, सदस्यहरुले नै नीति र नेतृत्वको नियन्त्रण गर्ने तथा संस्था सञ्चालनको फाइदा सदस्यहरुलाई हुने वातावरण सिर्जना गर्न सुझाव दिइएको छ ।

यस्तै संस्थाको सुदृढिकरणका लागि कानुनको कार्यान्वयन, नियमन अनुगमनमा प्रभावकारिता बढाउनु पर्नेमा एमालेको जोड छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *