एमाले गण्डकीको इन्चार्जमा गुरुङ

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले स्थायी कमिटि सदस्य किरण गुरुङले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।

बिहीवार बसेको एमाले केन्द्रीय सचिवालय वैठकले गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको छ ।

यस भन्दा पहिला प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी सचिव गोकर्ण विष्टले सम्हाल्दै आउनु भएको थियो । पार्टीले संसदीय जिम्मेवारीमा रहेका नेताहरुलाई भुगोलको जिम्मेवारी नदिने कार्यविधि बनाएपछि प्रदेश इन्चार्जको जिम्मेवारी गुरुङले पाउनु भएको हो ।

प्रदेश संरचना बनेपछि प्रदेश संयोजकको जिम्मेवारी पाउनु भएका गुरुङले लामो समयपछि प्रदेश इन्चार्जको पुनः जिम्मेवारी पाउनु भएको छ ।

पञ्चायतकालमा धौलागिरी क्षेत्रमा संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै साविक धौलागिरी अञ्चल इन्चार्जका रुपमा समेत गुरुङले लामो समय जिम्मेवारी सम्हाल्नु भएको थियो । २०६२-०६३ को जनआन्दोलनमा धौलागिरी इन्चार्जको रुपमा गुरुङले आन्दोलनको अगुवाई गर्नु भएको थियो ।

एमाले सचिवालय वैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा.राजन भट्टराई, लुम्बिनी प्रेशमा पद्मा अर्यालय, कर्णाली प्रदेशमा गोरख बहादुर बोगटी र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

पार्टी सचिव पद्मा अर्याल यस भन्दा पहिला पनि लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो । उहाँलाई यथावत भूमिका दिइएको छ । सचिव लेखराज भट्टलाई कर्णालीबाट गृह प्रदेश सुदुरपश्चिमको जिम्मेवारी दिइएको छ ।

यस अघि कोशीमा रघुविर महासंठ, मधेश प्रदेशमा योगेश भट्टराई, बागमतीमा गुरु बराल र सुदुरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज रहनु भएको थियो । पार्टी सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, रघुविर महासेठ र छविलाल विश्वकर्मा सांसद रहनु भएकाले दोहोरो जिम्मेवारी नदिएको जनाइएको छ ।

सचिवालय वैठकले पार्टी उपाध्यक्ष सुवास नेम्बाङको निधन पछि खाली रहेको उपाध्यक्ष पदमा स्थायी कमिटी गुरु बराललाई मनोनित गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *