कक्षा १२ को नतिजा, ननग्रेड र सुधार

सम्पादकीय
नेपालको शैक्षिक प्रणाली, सिकाइ अभ्यास, परीक्षा लगायतका विषयमा लामो समयदेखि बहस जारी छ । यस्ता छलफल र बहस पछि सार्थक निष्कर्ष निकाल्ने र त्यसबाट शैक्षिक सुधारका लागि ठोस पहलकदमी भने हुन सकिरहेको छैन । चाहे त्यो पहिलेको फलामे गेट भनिने एसएलसी (अहिलेको एसइई) होस् या कक्षा ११, १२ को परीक्षा होस् या अरु तहका । सबैजसोमा थुप्रै समस्या देखिएको छ । शुक्रबार मात्रै कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा परीक्षा दिएकामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार नियमिततर्फ २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका हुन् । ३ लाख ९० हजार ८६८ परीक्षार्थीमा यो संख्या ५२.९१ प्रतिशत हो ।

कक्षा १२ को परीक्षामा यो वर्ष सबभन्दा बढी अनिवार्य अंग्रेजीमा अनुतिर्ण अर्थान् नन ग्रेडिङ (एनजी) आएको छ । ३ लाख ८३ हजार ९२५ जनामध्ये ७२.१० प्रतिशत मात्र अंग्रेजीमा उत्तीर्ण भएका छन् । अंग्रेजी विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २०६ छ । १२ वर्षभन्दा बढी अंग्रेजी पढाउँदा पनि अंग्रेजीमै फेल हुनुले के पढायौं भन्ने प्रश्न यतिबेला गम्भीर रुपमा उठेको छ । अहिलेको नतिजा गत वर्ष भन्दा थोरै सुधार त हो । पर्याप्त शिक्षक दरबन्दी दिएको छैन, अधिकांश अनुदानका शिक्षकले पढाइरहेका छन्, विषयगत शिक्षक अभावकाका बीच यो नतिजालाई समग्रमा ठिकै मान्न सकिन्छ । अधिकांश विद्यालयहरू अंग्रेजी माध्यममा गएको अवस्थामा पनि सबैभन्दा धेरै फेल हुनु भनेको शिक्षकको तयारी र पढाउने तरिकामै समस्या हो । हाम्रो शिक्षण विधि, पद्धतिमै पनि समस्या छ ।

कक्षा १२ को समग्रमा नतिजामा केही सुधार आएको छ, तर विषयगत नतिजाहरू हेर्दा सन्तुष्ट मान्नुपर्ने अवस्था छैन, थुप्रै विषयको शिक्षक सिकाइ सुधार गर्नुपर्ने देखिएको छ । नर्सरी कक्षादेखि अंग्रेजी पढाउँदा पनि सामान्य बोलीचालीको अंग्रेजी लेख्न र बोल्न नसक्ने हुनु भनेको शिक्षण सिकाइकै कमजोरी होे । हामीले विद्यार्थीलाई घोकेर लेख्न सिकाउँछौं, जसले गर्दा परीक्षामा लेख्न लगाएको विषयमा प्रश्न आयो भने पास हुन्छन्, नभए फेल हुन्छन् । अघिल्ला वर्षहरुमा गणित, विज्ञान, नेपालीमा देखिएको समस्या यो वर्ष अंग्रेजी, सामाजिक विषयहरुमा देखिएको थियो । टिचिङ लर्निङ मेथोडोलोजीमा ध्यान दिन सकिएन वा समय व्यवस्थापनमा चुकेको छ । विद्यार्थीको नतिजा हेरेर शिक्षकहरूले शिक्षण शैलीलाई मूल्यांकन गर्नुपर्ने जरुरी देखिएको छ । यदि यसो गर्न सकिएन भने त्यसले भोलिका दिनमा नेपाली समाजमा विदेश पलायन, बेरोजागर र बेथिति अझ चरम बढाउने निश्चित छ । अतः कक्षा १२ को अहिलेको नतिजाको यथोचित समीक्षा गरेर भोलिका दिन उज्ववल बनाउनुमै भविष्य देखिनछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *