कालीगण्डकी नदीमा माफियाको रजगज

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय कालीगण्डकी नदीको बागलुङ तर्फ धमाधम नदीजन्य पदार्थको दोहोन भइरहेको छ । मध्यरातमा सहस्रधारा पारी भाटेखोलामा पाँच ट्रिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पार्छन भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको हुन्छ । नदीजन्य पदार्थको अवैध दोहोन एक दिन मात्रै हैन पछिल्लो समय नियमित जस्तै भइरहेको छ ।

दिनमा सुत्ने र रातमा जाग्ने कालीगण्डकी दोहनकर्ता प्रहरी र प्रशासनलाई चुनौती दिइर अवैध रुपमा दोहनमा सक्रिय देखिएका छन् । नदीजन्य पदार्थ रातीमा संकलन गरेपनि भण्डार भने अघिपछिको समयमा समेत देख्न सकिएपनि प्रहरी प्रशासन र स्थानीय निकाय मौन देखिएको छ ।

अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ, भाटेखोला बगरमा तीन वर्ष यता स्थानीय तहले सर्वोच्चको आदेश मान्दै ठेक्का लगाउन सकेको छैन । यस्तै बागलुङ तर्फकै खनियाघाटमा समेत दाहोन रोकिएको छैन । तर अवैध नदी दोहान भइरहदा स्थानीय सरकारलाई राजश्व गुमेको छ भने क्रशर व्यवसायीहरुलाई मनलाग्दी गर्न छुट भएको छ ।

म्याग्दी, पर्बत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डी दोहोनले शालग्राम शिला समेत संकटमा परिसकेका छन् । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन भइरहेको सन्दर्भमा पछिल्लो समय बागलुङ तर्फको सहस्रधारा पारीको भाटेखोला र खनियाघाट क्षेत्रमा दोहन भइरहेको छ ।
असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेको पाइएको छ ।

कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ निकाल्न नपाइने सर्वोच्च अदालतको आदेशपछि म्याग्दी, बागलुङ र पर्वत खण्डको क्षेत्रमा नदी उत्खननका लागि स्थानीय तहले ठेक्का लगाउन सकेका छैनन् । अदालतले कालीगण्डकी नदी दोहन रोक्ने आदेशपछि यहाँका क्रसर व्यवसायीले रातमा र सरोकारवालालाई प्रभावमा पारेर दिउँसै नदीजन्य पदार्थ उत्खनन् गरेको पाइन्छ ।

नदी दोहन रोक्नका लागि पटक–पटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्दीत निकालयले बेवास्ता गरेको पाइएको छ । प्रहरी प्रशासन र स्थानीय तहको मौनताको कारण दोहनले प्रश्रय पाइरहेको अधिवक्ता राम शर्माले बताउनुभयो । दोहोन रोक्नका लागि बागलुङको प्रहरीले सक्रियता नदेखाएको बताउनुभयो । उहाँले कमिसन, सेटिङ बिना दोहोन हुँन नसक्ने ठोकुवा गर्नुभयो ।

“असारदेखि भदौको १५ गतेसम्म कुनै पनि नदीजन्य पदार्थ निकाल्न पाइँदैन यहाँ त मध्य बर्खामै धमाधम दोहन भइरहेको, पर्वतमा दोहन भइरहेको भन्दै आएका थियौ, माफियाहरु बागलुङ तर्फ समेत सक्रिय भएका छन्” शर्माले भन्नुभयो “दोहानलाई प्रयास दिदा कालाखोला बगर कटान भइसकेको छ, दोहोन भइरहेको स्थान सिल गर्ने र नदीजन्य पदार्थ लिलम गर्न सके स्थानीय निकायलाई फाइदा पुग्छ स्थानीय निकायको राजश्व गुम्दा समेत किन मौन छन् भन्ने प्रश्न नागरिकको छ ।”

कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकारवाला निकायले कुनै चासो नदिएको कालीगण्डकी बचाऔं अभियानका आरके अदिप्त गिरीले बताउनुभयो । मध्यरातमा कालीगण्डकीमा लुट तन्त्र भइरहने उहाँको भनाई छ ।

एकाध मान्छेको स्वार्थ र लाभका लागि कालीगण्डकी नदीले अहिलेको संकट झेल्ने अवस्थामा कालीगण्डकी बचाऔं अभियानलाई कदापि स्विकार्य नभएको बताउदै हाम्रा नदीनालालाई ठेक्का लगाउने अधिकार यो राज्यसत्तालाई समेत नभएको गिरीको तर्क छ ।

“कालीगण्डकी नदी हाम्रो सभ्यता र संस्कृतिको प्रादुभार्व भएको स्थान हो, यसलाई जोगाउनु नै हाम्रो धर्म, संस्कृति, मानव सभ्यता र हाम्रो पहिचान जोगाउनु हो” गिरीले भन्नुभयो “ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५ सय मिटर टाढा मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न पाइन्छ, तर सभ्यता र संस्कृतिको प्रादुभार्व भएको संसारकै जेठो नदी सभ्यता कालीगण्डकी नदी भने वर्षौदेखि अवैध क्रसर व्यवसायी र तस्करहरूको कब्जामा मा राखिएको छ, गौंडा पिच्छे अवैध उद्योग छ्न, बगरहरू व्यक्तिका नाममा दर्ज भैसकेका छन्, यो विडम्बनापूर्ण छ ।”

गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु बताउनुभयो । पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्यतहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको बताउनुभयो ।

नियम विपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरहरुसमेत उच्च जोखिममा पर्न थालेका छन् ।

नदीजन्य पदार्थको नियमन गर्ने निकाय स्थानीय तहको भएपनि सुरक्षाका हिसाबले प्रहरी चनाखो रहेपनि दोहोन रोक्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताउनुभयो । उहाँले दोहोन भइरहेको सूचना पाउदासाथ परिचालन भएका प्रहरीहरु त्यहाँ पुग्दा दोहनकर्ताहरु भाग्ने गरेको बताउनुभयो । बिहीबार दिउँसो खनियाघाटबाट दोहोनमा सम्लग्न एक ट्रिपर सहित तीनजनालाई नियन्त्रणमा लिएको कँडेलले जानकारी दिनुभयो ।

उहाँले खनियाघाट र भाटेखोलामा अवैध दोहन भइरहेको प्रमाण अनुगमनमा समेत पाइएकोले खनियाघाटमा उत्खनन् गरिएको बालुवा बागलुङ नगरपालिकालाई लिलाम गर्नका लागि प्रकृया अगाढी बढाइएको कँडेलले जानकारी दिनुभयो ।

“कालीगण्डकी नदीको दोहन रोक्न प्रहरी प्रशासन सक्रिय छ तर प्रहरकिो आँखा छलेर मध्यरातमा कालीगण्डकी दोहोन भइरहेको पाएका छौं” कँडेलले भन्नुभयो “सूचना प्राप्त गर्दासाथ प्रहरी त्यहाँ पुग्दा दोहोनकर्ता भागिसकेको हुन्छ, स्थानीय तहले ठेक्का समेत लगाउन नसक्ने, राजश्व गुम्ने अनि दोहन समेत नरोकिने अवस्थाको अन्त्य गर्नका लागि प्रहरीले थप रणनीति अपनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोषाकमा समेत प्रहरी पठाउछौं ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *