एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यवसायिक स्याउ खेती गर्न थालेका छन् । समुन्द्री सतहदेखि करिब दुई हजार मिटरको उचाईमा रहेको अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि व्यवसायिक खेती गर्न थालिएको हो । वि.सं. २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउ खेतीको सुरुवात गरेका थिए ।

अहिले गाउँका धेरै किसान आकर्षित भएका छन् । पोखराबाट इटिलियन गाला फुजी जातको विरुवा लिएर लगाएको एक वर्षमा फल दिन थालेपछि किसान उत्साहित भएका छन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्र बागलुङबाट ६० वटा विरुवा अनुदानमा लिएर लगाएका थिए । विरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष पनि थप ९० वटा विरुवा अनुदानमा लिएर लगाएका थिए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा ७०० विरुवा लगाएको अगुवा किसना चेतबहादुर कुँवरले बताउनुभयो ।

गाउँमा स्याउ खेतीको संभावना देखेपछि गाउँका सबै स्थानीयले धेरै/थोरै विरुवा लगाउन थालेको उहाँको भनाइ छ । कुँवरले लगाएकै सालमा विरुवाले फल दिएपछि आफूहरु अचम्मित परेको सुनाउँदै विरुवा थप्दै गएको बताउनुभयो ।

अर्नाकोटमा खानेपानीको चरम अभाव रहेको हुँदा विरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिंगो गाउँनै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्न सक्ने आशा पलाएको कुँवर बताउनुहुन्छ । खानेपानीको अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो संभावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँको भनाइ छ । तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब १५० बोटले फल दिन थालेका छन् ।

कुँवरले भन्नुभयो – “यतिका वर्षसम्म हामीहरु बत्ति मुनिको अँध्यारो जस्तै थियौँ, स्याउ उत्पादन हुन्छ भन्ने लागेको थिएन, परीक्षण गर्न लगाइएका विरुवाले राम्रो फल दिन थालेपछि हामीहरु व्यवसायिक रुपमा लागेका छौँ, सुरुको वर्ष हामीहरुलाई कृषि ज्ञान केन्द्रले सहयोग ग¥यो अहिले गाउँपालिकाले पनि राम्रो सहयोग गरेको छ, यो ठाउँको सबैभन्दा ठूलो समस्या खानेपानी हो, सरकारले यसको समाधान गरि दिएमा हामीहरु स्याउ उत्पादन गरेरै जीविकापार्जन गर्न सक्थ्यौँ ।”

स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका विरुवा लिएर लगाएको सुनाउँदै अहिले विरुवा बढाउँदै गएको बताउनुभयो । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएको सुनाउँदै पछिल्लो समय स्याउ खेतीलाईनै बढी जोड दिएको उहाँको भनाइ छ । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा आफूले अर्नाकोटमा परीक्षण्का लागि स्याउ लगाएको ओलीले बताउनुभयो ।

“यस ठाउँको हावापानी स्याउ खेतीका लागि उपयुक्त रैछ भन्ने प्रमाणित भइसक्यो, किनकी लगाएको एक वर्षमै फल दियो, पोहोर साल लगाएका विरुवा अहिले निकै राम्रो भएका छन्, फल दिएका छन्, यसले हामीह जस्तो दुःख गर्ने किसानलाई हर्षित बनाएको छ,” ओलीले भन्नुभयो – “संचाइको समस्याले गर्दा विरुवा बचाउन निकै हाम्रो भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि विरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिंचाइको राम्रो व्यवस्था मिलाइ दिने हो भने व्यवसायिक रुपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो ।”

निसीखोला गाउँपालिकाका कृषि प्राबिधिक तारा परियारले किसानले स्याउ खेती तर्फ चासो दिएपछि इटालियन जातको स्याउको विरुवा जुम्लाबाट लिएको वितरण गरेको बताउनुभयो । गाउँपालिकाले चार लाख ११ हजार २५० रुपैयाँमा खरिद गरि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको उहाँको भनाइ छ । यहाँका कृषकले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका विरुवा लगाएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *