फ्युचर ब्राइटरलाई तेस्रो शिक्षक फुटसलको उपाधि

रोहन जि.सी, बागलुङ

तेस्रो अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर माध्यमिक विद्यालयले जितेको छ । चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा शुक्रबारदेखि प्रतियोगिता संचालन भएको थियो ।

शनिबार सम्पन्न फाइनल खेलमा फ्युचरले सिदार्थ शिक्षा सदनलाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको शुरुवाती अग्रता सिदार्थले लिएपनि पहिलो हाफमा फ्युचरले उत्कृष्ट पुनरागमन गर्दै २–१ को अग्रता लिएको थियो । दोस्रो हाफको शुरुवातीदेखि फ्युचरले अग्रता बढाएपनि सिदार्थले गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएपनि अन्तिममा ४–३ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाएको छ ।

विजेता बनेको फ्युचरले नगद १७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिदार्थले नगद १२ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा सिदार्थ शिक्षा सदनका निशान थापा, उत्कृष्ट गोलरक्षकमा फ्युचर ब्राइटरका कुशल मल्ल, सर्वाधिक गोलकर्तामा सिदार्थका दिनेश थापा (११ गोल), भेट्रान्स खेलाडीमा आदर्श विद्यामन्दिरका गंगा छन्त्याल, अनुशासित टिममा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय पुरस्कृत भएको प्रतियोगिताका संयोजक तथा चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल शिक्षक सौगात जंग खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा शनिबार नै सम्पन्न सेमिफाइनल खेलमा फ्युचरले न्यू ओयसिस एकेडेमीलाई र सिदार्थले आयोजक चिल्ड्रेन लाईफलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

११ विद्यालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्याब्सन बागलुङका अध्यक्ष दल थापा, चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक सुरेश सुनारले गर्नुभएको थियो ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणका खेलहरु शुक्रबार र सेमिफाइनल र फाइनल खेल शनिवार सम्पन्न भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *