सुरक्षित ठानिएको घर नै पहिरोले पुरेपछि…

खेमराज गौतम, बागलुङ

गाउँमा पहिरोको जोखिम थियो । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझबाट परेको पानीले आरुपाटाका स्थानीयले सर्तकता समेत अपनाएका थिए ।

आरुपाटाका स्थानीय मंगलबार बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोग बहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगाएको छ । पहिरोले जोग बहादुर बुढाको घर पहिरोले पुर्दा सात जनाको मृत्यु भएको छ ।

पहिरोमा तीन जना अझै बेपत्ता रहेको आशंका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टा पछि मात्रै उद्दारका लागि घटनास्थलमा पुगेको थियो ।

बडिगाड गाउँपालिका १० का वडा अध्यक्ष बिरेन्द्र कुमार बुढा मगरका अनुसार भारी वर्षापछि स्थानीयहरु सुरक्षित स्थान खोज्दै जोग बहादुर बुढा मगरको घरमा पुगेका थिए ।

“गाउँमा पहिरोको जोखिम थियो, जोग बहादुर बुढाको घर भन्दा तलको घर पहिरोको जोखिममा समेत रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकीहरु यस घरमा आएका रहेछन्” वडा अध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झदै भन्नुभयो “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी समेत आएर जम्मा भएका थिए, त्यही घरलाईनै पहिरोले लग्यो, पहिरोले घर सहित गोठ समेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्दार पछि मृत्यु भएको थियो थप एक वेपत्ताको शव फेला परेको छ, प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”

घटनास्थलमा पुगेका प्रहरीले समेत एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी समेत परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवका अनुसार आश्रयका लागि पुगेको घरनै पहिरोले बगएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोग बहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए ।

“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरक–फरक समुदायका मानिसहरु आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो” यादवले भन्नुभयो “त्यही घरनै पहिरोले पुर्दा सात जनाको मृत्यु भएको छ, अन्य तीन जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको एकिन छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”
प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवि कामी, ५ महिनाकी सिता बिक, ७ वर्षीय मालती बुढा, ८ वर्षीय अमल बुढा, ११ वर्षीया सिता पुन, घरधनी ७८ वर्षीय जोग बहादुर बुढार र ३ वर्षीय आरुष थापा रहनुभएको छ । थापाको बुधबार शव फेला परेको थियो ।

पहिरोमा परेर ९ जना समेत घाइते हुनुभएको छ । पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका १० बस्ने बर्ष २६ का ओम प्रकाश पुन, बर्ष ४६ की संगिता बुढा, बर्ष २३ का सिर्जना वि.क., बर्ष ४३ को मंगल सेन बुढा, बर्ष १९ की रिमा पुन, बर्ष ६० की सुमित्रा वि.क, बर्ष ५१ को ससिराम वि.क, बर्ष ९ को ज्ञाने बुढा र बर्ष ३१ की सिता थापा घाइते हुनुभएको छ । घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जिवितै उद्दार गरेपनि उद्दारको एक घण्टापछि मृत्यु भएको हो ।

पहिरोमा परी १० वर्षीय मनोज बुढा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन बिक पहिरोमा बेपत्ता हुनुभएको प्रहरीको भनाई छ । पहिरोमा परि गम्भिर तथा घाइतेको उद्दार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरेर तीन जनालाई काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनुभयो ।

यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ बर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ बर्षीय गंगा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *