ढोरपाटनमा सामुहिक स्याउखेती

आदर्श अनलाइन, बागलुङ
स्याउखेतीको उच्च संभावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामुहिक रुपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रुपमा हुँदैआएको स्याउखेतीले बजार लिन नसकेपछि पछिल्लो समय इटालीबाट ल्याइएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालिएको छ । ढोरपाटन नगरपालिका–९ को मस गाउँमा छ युवाहरु मिलेर एक वर्षदेखि स्याउखेतीगर्न थालेका छन् ।

इटालीबाट झिकाइएका स्याउका एक हजार ३०० बिरुवा गत असारमा लगाइएको थियो । उक्त बिरुवा मध्ये ७५ प्रतिशतले यसै वर्षबाट उत्पादन दिन थालेपछि यहाँका युवाहरु उत्साहित भएका छन् । ढोरपाटन नगरपालिका–८ शेराबाङ निवासी ४० वर्षका चिरन कुमार घर्ती २०६० सालमा रोजगारीका लागि कतार जानुभयो । सात वर्ष कतार बसेर फर्कनुभएका घर्तीलाई नेपालमै केही गर्ने सोच पलाएको थियो ।

विदेशबाट फर्केर २०६८ सालमा काठमाण्डौमा कृषि फर्म खोल्नुभएका घर्तीले दुई वर्षमै घाटा ब्यहोरेपछि ढोरपाटन फर्कनुभयो । गाउँमा आएर कृषि पेशालाई निरन्तरता दिदै आउनुभएका घर्ती त्यहाँका संघषीशील युवा हुमलाल भुषालसंग भेट हुन पुग्यो । कृषिमा खाएको हन्डरले उहाँलाई बिस्तारै सफल बनाउन थालेको छ । दुबैको सोच थियो गाउँमै कृषि सम्बन्धी काम गर्ने ।

२०७६ सालमा उत्तरगंगा अर्गानिक एग्रो प्रालि दर्ता गरेर आलुको बजारीकरण गर्न थाल्नुभएका दुई युवाले अन्य युवालाई समेत समेट्दै गत वर्षदेखि आलुखेती संगै स्याउ खेती गर्न थाल्नु भएको हो । मस गाउँमा विभिन्न उन्नत जातका आलुको परिक्षण सफल भएपछि उत्साहित बनेका दुई युवाले थप चार युवालाई साथमा लिएर सय रापनी जग्गामा उन्नत जातका इटालीबाट बिरुवा झिकाएर स्याउ लगाउने निधो गरे । चिरन घर्ती र हुमलाल भुषालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसंग मिलेर १०० रोपनी स्याउ बगैचा तयार गरेका छन् ।

उनीहरुले पहिलो चरणमा एक हजार ३०० स्याउका बिरुवा लगाएकोमा ९०० विरुवामा स्याउ फल्न थालेको छ । “पहिलो वर्षनै एक देखि २ केजीका दरले स्याउ फल्न थालेको छ, इटालीबाट झिकाएका स्याउका बोट साना–साना हुन्छन््, पाँच वर्षपछि मात्रै प्रतिबोटमा २५ केजी सम्म स्याउ फल्नेछ” चिरन कुमार घर्तीले भन्नुभयो “ढोरपाटनमा स्याउको अत्यन्तै संभावना थियो, मस गाउँमा एक हजार स्याउका पुराना बोट छन् तर उत्पादन कम छ, उन्नत जातको स्याउबाट छोटो समयमा धेरै लाभ लिन सकिन्छ ।”

हाम्रो समूहले १०० रोपनी जग्गामा स्याउ बगैचा तयार पार्ने, उन्नत जातको आलुको अन्तराष्ट्रिय बजारीकरण गर्ने उद्देश्य रहेको घर्तीले जानकारी दिनुभयो । छ जनामध्ये हुमलाल भुषाल बाहेक सबै बिदेशमा हन्डर खाएर फर्केका युवाहरु भएकाले स्याउखेतीमा मेहनत गरिरहेको बताउनुभयो ।स्याउका बिरुवालाई कृषि विकास निर्देशनालय पोखराको सहयोग भएको बताउनुभयो । १०० रोपनी जग्गालाई तारबार समेत गरि सकिएको छ ।

२०७६ सालमा दर्ता गरेको उत्तरगंगा अर्गानिक एग्रो प्रालि दर्ता गरेपनि स्याउखेती भने एक वर्ष अघिबाट मात्रै गर्न थालेको घर्तीको भनाई छ । स्याउ खेतीमा लागेका रुद्र घर्ती मलेसिया, चकेन्द्र घर्ती साउदी अरब, कमानसिंह बुढा भारत, झिरमती घर्तीको श्रीमान दुबई पुगेर फर्कनुभएको थियो । सामुहिक रुपमा ढोरपाटन क्षेत्रमा अथाह संभावना रहेको कृषि क्षेत्रलाई प्रर्बद्धनगर्दै आम्दानी गर्ने लक्ष्यका साथ काम गरिरहेको हुमलाल भुषालले जानकारी दिनुभयो ।

इटालीबाट ल्याएको गाला, फूजी, गोल्डेन र रेड जातको स्याउका बिरुवा लगाइएको थियो । चक्लाबन्दी अन्तरगत स्याउ बगैचा निर्माण गरेर तारबार गर्दा शुरुको लागत बढी भएको भुषालको भनाई छ । युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन, कृषि व्यवसाय तर्फ युवाको आर्कषण कम हुँदै जाँदा यहाँका छ युवाहरु मिलेर दुर्गम गाउँ मसमा स्याउ र आलु खेतीको संभावना खोजीरहनुभएको छ । पहिलो चरणमा रु. २५ लाख लगानी गरेको उनीहरुले बताउछन् ।

गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई थाक्रो र तारबार समेत पचास प्रतिशत अनुदानमा प्राप्त गरेको चिरन घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *