उपचार गर्न हिँडेका थिए, पहिरोले पुरिए

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । मंगलबार विहान उपचारका लागि घरभन्दा केही तल रहेको दर्लिङ गाउँ स्थित स्वास्थ्य क्लिनिकको यात्रा तय गर्नु भयो । कान्छी सासु देवी विक, देवर ससिराम विक, बुहारी सिर्जना विक र ६ महिनाकी नातिनी सीता विकसहित पाँच जना घरभन्दा केही तल झर्नु भएको थियो । एक्कासी ठूलो वर्षा भयो । साथमा भएको छाताले पानी छेक्न नसकेपछि उहाँहरु सबै जना बाटो छेउमै रहेको स्थानीय जोगबहादुर बुढाको घरमा ओत लाग्न पुग्नु भयो ।

जोगबहादुरको घरमा पुग्दा गाउँका अन्य मान्छेहरु बसिरहेका थिए । वर्षा रोकिएपछि गन्तव्यमा लाग्ने तयारीमा रहनु भएका उहाँहरु घरमा रहेका अन्य मानिसहरुसँग गन्थनमन्थन गर्दै हुनुहुन्थ्यो । गन्थनमन्थन गर्दा गर्दै सुमित्राले एक्कासी जमिन हल्लिएको महशुस गर्नु भयो ।

त्यसपछि उहाँले केही थाहा पाउनु भएन । करिब तीन घण्टापछि बिउझिँदा आफ्नो शरीरको विभिन्न अंगमा चोट लागेको देख्नु भयो । शरीर चलाउन खोज्दा नचलेको भान उहाँलाई भयो । आफू होसमा आउँदा ओत लागेको घर पहिरोले पुरिएको र चारै तिर मान्छेको भिड देखेको उहाँ बताउनुहुन्छ ।

“थलिएको धेरै दिन भएको थियो, अस्पतालमा गएको थियौँ, विहानदेखि सिमसिम पानी परेको थियो, बिदो होला (वर्षा रोकिएला) भन्ने लागेर घरबाट निस्यिौँ” सुमित्राले भन्नुभयो – “घरबाट अल्ली तल के झरेका थियौँ ठूलो पानी प¥यो, बाटोघाटो देखिएन र एकछिन ओत लागेर जाने भनेका थियौँ, त्यो घरमा गएर बसेको एकै छिनमा जमिन हल्लिए जस्तो माने, त्यसपछि के भयो थाहा पाइन, होसमा आउँदा मेरो शरीनै चल्दैनथ्यो, हामी बसेको घर केही थिएन, आँखा खोल्दा वरपर हिलो थियो, माथि पट्टी ठूलो पहिरो गएको देँखे ।”

उपचारका लागि सँगै हिँडेका पाँच जना मध्ये सुमित्रा, उहाँका देवर ससिराम र बुहारी सिर्जनालाई करिब तीन घण्टापछि प्रहरी र स्थानीयले पहिरोबाट जीवितै उद्धार गरे भने कान्छि सासु देवी र नातिनी सीताले पुरिए प्राण त्यागे । बिरामी भएर उपचारका लागि अस्पताल हिँडेका उनीहरु बीच बाटोमै मृत्युवरण गरेपछि विक परिवार मात्रै नभएर सिंगो गाउँनै यति बेला स्तब्ध छ ।

सुमित्रा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचाररत हुनुहुन्छ । शरीरको धेरै अंगमा गहिरो चोट लागेको हुँदा डाक्टरको निगरानीमा उहाँको उपचार भइरहेको छ । पहिरोमा घाइते हुनु भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिरोले पुरिएर बाँच्नु भएकी उहाँ अहिले पनि बेला बेला झस्कि रहनु हुन्छ ।

उहाँले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाउनुहुन्छ । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने भित्र रहेका कोही पनि जीवित रहेका छैनन् । बडिगाड गाउँपालिका–१० आरुपाटामा गएको उक्त पहिरोले सुमित्राको सासु र नातिमी मात्रैको ज्यान लिएन, उहाँहरुसहित १० जनाको ज्यान लिएको छ ।

पहिरोमा परि घर धनी ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीया अमल बुढा, ६ महिने छोरी सीता विक र ७० वर्षीया देवी विक, ३ वर्षीय आरुस थापा, ७ वर्षीया मधु बुढा र ११ वर्षीय मनोज बुढाको ज्यान गएको छ । आरुसको बुधबार, मधु र मनोजको बिहीबार शव फेला परेको थियो । ११ वर्षीय सुमन थापा अझै वेपत्ता रहेका छन् ।

सो पहिरोमा परि १० जना घाइते भएका थिए । त्यस मध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचारका काठमाडौँ पठाइएको छ । उहाँहरुको राष्ट्रिय ट्रामा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोमा परि बेपत्ता भएका मनोजको खोजी कार्यमा सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिध लागि रहेको बताउनुभयो । बडिगाडमा ठूलो विपद आई परेको हुँदा पहिरोका कारण विस्थापित भएका नागरिकलाई तत्काल व्यवस्थापन गर्नेदेखि सुरक्षित स्थानमा सार्ने काम भएको उहाँको भनाइ छ । गम्भीर घाइतेहरुसँग आफूनै राष्ट्रिय ट्रमा सेन्टरमा रहेको भन्दै माथिल्लो तहको सरकारसँग पनि आवश्यक सहयोग माग गरि रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो – “प्राकृतिक विपत्तीसँग कसैको केही लाग्दो रैनरहेछ, नागरिकलाई सचेत गराउँदा गराउँदै दुःखद भयो, यसले हामीहरुलाई अपुरणिय क्षति पुगेको छ, घटना हुँदा साथ सबै उद्धारमा लाग्यौँ, धेरैले ज्यान गुमाउनु भएको छ, केहीलाई जीवितै उद्धार गरेर उहाँहरुको उपचारमा लागेका छौँ, पीडितलाई राहत दिने र सुरक्षित ठाउँमा व्यवस्थान गर्ने काम भइरहेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *