बाँदर आतंकले किसान हैरानी

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । घरै पिच्छे मान्छे बस्थे । बारीभरी मकै, कादो र गहुँ उत्पादन गरिन्थ्यो । तर पछिल्लो समय गाउँका बस्तीहरु सुनसान छन् । खेतीयोग्य जमिनमा झाडी पलाएको छ । गाउँमा भएका किसानले खेतीपाती गर्दै आए पनि बाँदरले नष्ट गरि दिन्छ । बाँदर आतंककै कारण धेरै स्थानीय बसाइँसराइ गर्न बाध्य भएका छन् । गाउँमा भएका कोही युवा विदेश पलायन भए त कोही सहर छिरे । अहिले बुढापाका बाहेक अरु कोही छैनन् ।

दशक अगाडि गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन् । बारीमा लगाएका तरकारीदेखि खाद्य बाली केही बाँकी नराखी नष्ट गरि दिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका छन् । बागलुङमा बसाइँसराइ गरि बजार झर्ने र विदेश जाने संख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बुढापाकाले काम गर्न सक्न छोडेपछि घरै छेउँका खेतबारीमा झाडीमा परिणत हुँदै गएका छन् । जसका कारण बाँदर लगाएका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् ।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुण्डाएर राखिएका सामानसमेत नष्ट गरि दिने जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बताउनुभयो । यति बेला बारीमा लगाइएको मकैले घोँगा हाल्न थालेको भन्दै बाँदरले बोटनै सखाप पारि दिएको पौडेलको भनाइ छ । कृषिबाटै अधिकांश गाउँलेले जीविकोपार्जन गर्ने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरि दिँदा वर्षभरी खाद्यन्न नपुग्ने उहाँ बताउनुहुन्छ । बाँदर धपाउनका लागि एक जना कुरुवा दिनभर खटिनु पर्ने बाध्यता रहेको पौडेलले सुनाउनुभयो ।

“पहिला–पहिला कहिलेकाँही मात्रै बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच÷सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न” उहाँले भन्नुभयो – “बारीमा लगाएको केही पनि बाँकी राख्दैन, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइ दिन्छ, हामीहरुलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घर भित्रै आएर सबै सामान नष्ट गरि दिन्छ ।”

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउनका लागि हरेक दिन एक जना कुरुवा राख्ने बताउनुभयो । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गरेको सुनाउँदै आजभोली निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन आउने गरेको कँडेल बताउनुहुन्छ । पछिल्लो समय बाँदर आतंककै कारण धेरै स्थानीय बसाइँसराइ गर्न बाध्य भएको उहाँको भनाइ छ ।

कँडेलले भन्नुभयो – “बाँदर गरि खान दिएन, साह्रै दुःख दियो, राज्यले बाँदर आतंक रोक्न सक्थ्यो भने गाउँबाट बसाइँसराइ कम हुने थियो, वर्षभरी दुःख गरेर बालीनाली लगायो, बाँदरले एकैछिनमा सखाप पारि दिन्छ, मार्न पनि नपाइने, हरेक वर्ष बाँदरको संख्या पनि बढि रहेको छ, पोहोर परार साल एक, डेढ सय मात्रै देखिन्थे, अहिले धेरै आँछन्, त्यति धेरै बाँदरले एउटा बारीको बाली एकै छिनमा नष्ट गरि दिन्छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *