बडिगाड पहिरो : ५० घर परिवार विस्थापित

डम्मर बुढा मगर, बागलुङ
बाढी पहिरोका कारण बागलुङको बडिगाडमा चार दर्जन बढी घर परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नम्बर १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायतका बस्तीका ५० घर परिवार विस्थापित भएका हुन् । पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । पहिरोले कतिपयको घर भत्किएको छ भने कतिपयको उच्च जोखिममा परेको छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत आपूर्तिमा समेत हुन सकेको छैन ।

पहिरोका कारण विस्थापित हुँदा बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । पहिराले घर भत्किएपछि धेरै जसो आफन्तको आश्रय लिन पुगेका छन् । बडिगाड गाउँपालिका–१० का जोगबहादुर बुढाको घर पहिरोले पुरिँदा १९ जना स्थानीय परेका थिए । सो पहिरोमा परेका मध्ये ९ जनाको मृत्यु भइसकेको छ भने आठ जना घाइते भएका छन् । पहिरोमा परि गम्भीर घाइते हुनुभएका जोकबहादुरको जीवितै उद्धार गरिए पनि भोलीपल्ट मृत्यु भएको थियो । अहिले उहाँको अन्य परिवारका सदस्य आफन्तको आश्रय लिइएका छन् । घर भत्किएपछि दाजुभाईको घरमा आश्रय लिएको जोकबहादुरका छोरा बालीस्वर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पहिरोले हाम्रो उठिबास लगायो, घर बारी सबै बगाएको छ, बारी पनि पहिरोले चिराचिरा परेको छ, बुवाको मृत्युनै भयो, गाउँ अरु मान्छेहरु पनि घरमा बसेका थिए, एक्कासी पहिरोले परिएपछि धेरेको ज्यानै गयो, बर्खाको समय छ, अरुको घरमा बसेर धेरै दिन पुग्दैन, यसपालीको पहिरोले यो ठाउँमा निकै ठूलो क्षति ग¥यो ।”

स्थानीय भिमबहादुर बुढा गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छोडेर अन्तै जानु परेको दुखेसो पोख्नुभयो । घर माथि र तल पट्टबाट ठूला तथा साना दर्जनौँ पहिरो गएको हुँदा ज्यान जोगाउन बस्तीनै छोड्नु परेको बताउनुभयो । अहिले पनि पशुचौपाया र सम्पत्ति जोखिम भएकै घर गोठमा रहेको सुनाउँदै दिउसोमा गएर काम गर्ने रात परेपछि घर छोड्ने गरेको उहाँको भनाइ छ । यहाँको दर्जनौँ घर पहिरोले बगाउन थालेको बुढा बताउनुहुन्छ ।

“सोँच्दै नसोचेको घटना भयो, यसरी पहिरो गएर गाउँ बस्तीनै छोड्नु पर्ला भन्ने हामीहरुले कहिल्यै कल्पना गरेका थिएनौँ, पुर्खौँखेखि बस्दै आएका गाउँ घर पहिरोले उजाड बनायो, अब कहाँ बस्ने, के खाने ठूलो समस्या आइ प¥यो” उहाँले भन्नुभयो – “मान्छेले ज्यान जोगाउन घर छोडेर राति अलि सुरक्षित ठाउँमा गएर बस्छौँ, दिउसो पानी परेन भने वस्तुभाउलाई घाँसपात गर्ने र बारीमा काम धन्दा गर्ने गरेका छौँ, कति बेला पानी पर्छ र पहिरो आएर पुर्छ भन्ने त्रास हुन्छ ।”

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलहरुमा व्यवस्थापन गरि रहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले प्रारम्भिक चरण राहत वितरण गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । अहिले गाउँपालिकाले खाद्यन्न र त्रिपाल, लाइट लगायतका अति आवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकाली व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरि रहेको उपाध्यक्ष वन बताउनुहुन्छ ।

उपाध्यक्ष वनले भन्नुभयो – “नागरिकको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो, प्रारम्भिक तथ्याङ्कलाई हेर्दा पचास घर परिवार अहिले विस्थापित भएको अवस्था छ, उहाँहरु मध्ये कोही आफन्तकोमा आश्रय लिनु भएको छ भने धेरैलाई हामीहरुले व्यवस्थापन गरि रहेका छौँ, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ, जोखिममा रहेका घर तथा बस्ती पहिचान गर्ने काम पनि भइरहेको छ भने तत्कालका लागि चाहिने अति आवश्यक राहत पीडितलाई उपलब्ध गराउने काम भएको छ, अरु बाँकी सहयोग गर्दै जाने छौँ, अन्य सहयोगी संस्थाबाट पनि पीडितलाई सहयोग आउने क्रम जारी रहेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *