बागलुङमा झोलुङ्गे पुलले बढाउँदै पर्यटक

डम्मर बुढा मगर, बागलुङ
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनी नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको संख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/ मा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् ।

पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यसमेत बनेको । बागलुङ र पर्वत जोड्ने गरि कालीगण्डकी नदिमाथि लामो झोलुङ्गे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेको पाइन्छ ।

वि.सं २०७७ सालदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरि निर्माण भएको ५६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिदै आइएको छ ।

गत वर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरि ५२३ मिटर लामो झोलुगे पुल निर्माण भएको थियो । यि दुई पुलले बढी पर्यटक तान्ने गरेको पाइन्छ । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले समेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुङ्गे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीय स्थलसम्म पु¥याउन मद्दत पु¥याएको छ ।

पुल संचालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उहाँको भनाइ छ ।

“पुलले बागलुङको पहिचानलाई उचो बनाएको छ, पुलै पुलको जिल्ला भनेर पहिलेदेखि नै बागलुङ चिनिदै आएकोमा पछिल्लो समय थुप्रै झोलुङ्गे पुल बनेका छन्, पुलको महत्वलाई ध्यानमा राखेर यसै वर्ष बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारा बनाएको पर्यटन प्रवद्र्धन गर्न थालेका छौँ” खड्काले भन्नुभयो – “पुलले अझ बढी त नागरिकलाई वारपार गर्न सहज बनाएको छ, टाढा–टाढा मानिसहरुलाई पनि यसले जोड्ने काम गरेको छ ।”

बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुङ्गे पुल छन् । एउटै पालिमा धेरैको संख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताउनुभयो । यसै वर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटकसमेत आउन थालेको उहाँको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उहाँ बताउनुहुन्छ ।

विकले भन्नुभयो – “यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियोनै बाहिरबाट मान्छेहरु घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाँने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।”

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुङ्गे पुलमा समेत आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने संख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।

तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरि निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्ने उपप्रमुख कायतको भनाइ छ ।

बुर्तिबाङ–बोङ्गादोभान सडक खण्डको माथि पट्टी निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने उहाँले बताउनुभयो । पुल २४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमर लगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *