साउन महिनामा १५ लाख बढी भेटी संकलन


अमृत बास्कुन, म्याग्दी

हिन्दुहरुको पवित्र तिर्थस्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाका चार वटा सोमबार पुजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको भेटी रकम १५ लाख १० हजार सात सय २४ रुपियाँ भन्दा धेरै संकलन भएको छ ।

गलेश्वर दर्शन तथा पुजा अर्चनाका लागि साउन ७ गते पहिलो सोमबार पुजाअर्चना तथा दर्शनका लागि आउने भक्तजनहरुले तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ भेटी चडाएका थिए । त्यसैगरी १४ गते दोश्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ रुपियाँ, तेश्रो सोमबार २१ साउनमा तीन लाख ६६ हजार दुई सय रुपियाँ र चौथो तथा अन्तिम सोमबार साउन २८ गते भक्तजनहरुले चार लाख ३५ हजार नौ सय ६७ रुपियाँ भेटी चडाएका थिए । मन्दिरको दानपेटीका खोलेर गणना गर्दा अमेरिकी डलर ६ पनि फेला परेको छ । एउटा पाँच र अर्को एक डलरको दुई वटा नोटहरु दानपेटीकामा भेटिएको कोषले जनाएको छ ।

भक्तजनहरुले दानपेटीकामा चडाएको भेटी रकम गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको रोहबरमा दानपेटीका खोलेर गणना गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गणना गरिएको रकम बेनी स्थीत गरिमा विकास बैंकमा रहेको कोषको खातामा जम्मा गरिएको छ । साउनका हरेक सोमबार भक्तजनले चडाएको रकम मंगलबार बिहान गणना गर्ने गरिएको कोषले जनाएको छ ।

साउन महिनाको सोमबारहरुमा गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट भक्तजनहरु आएको मन्दिरका मुल पुजारी चन्द्रमणी आचार्यले जानकारी दिनुभयो । नेपाल मात्रै नभएर विदेशबाट पनि भक्तजनहरु दर्शनकालागि आउने गरेको उहाँको भनाई छ ।

गलेश्वर मन्दीरमा महाशिवरात्री, बालाचतुर्दशी र साउनका सोमबारहरुमा भक्तजनको भिड लाग्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको र अन्य अवस्थामा पनि हरेक महिना मन्दिरमा चडाएको भेटी गणना गर्ने उहाँले बताउनुभयो । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मंगलबार रकम गणना गरेर सार्वजनिक गरिएको बानियाँको भनाई छ ।
२०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपियाँ संकलन भएको थियो भने २०७९ को साउन महिना भरी १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत संकलन भएको थियो ।

यसैबीच गलेश्वर मन्दिर क्षेत्रमा मंगलबार बिहान ससस्त्र प्रहरीबलले सरसफाइ गरेको छ । अन्तिम सोमबार भक्तजनले दर्शन तथा पुजा अर्चना गरेकोले त्यसबाट उत्पन्न फोहोर व्यवस्थापन तथा सरसफाइका लागि आफ्नो टोली खटिएको ससस्त्र प्रहरीबल गलेश्वर आश्रित गुल्मले जनाएको छ । ससस्त्र प्रहरीको टोलीले बिहानै देखि गलेश्वर मन्दिर परिसर र गलेश्वर शिवालयको कम्पाउण्ड क्षेत्रमा सरसफाइ गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *