किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’


खेमराज गौतम, बागलुङ
सुन्तला र आलुको मुल्य दोब्बर बनाउनका लागि स्थापना गरेका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानको गुनासो छ ।

तीन वर्ष अघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टन सम्मका तीन वटा चिस्यान केन्द्र निर्माण भएका थिए । उक्त चिस्यान केन्द्रले किसानलाई फाइना भन्दा बढी घाटा पु¥याएपछि बन्द हुने अवस्थामा पुगेका छन् चिस्यान केन्द्र । बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।

प्राविधिक रुपमा ज्ञान नभई सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रले किसानलाई राहत त पु¥याउनु परको कुरा हो उल्टै घाटा पु¥याएको किसानको गुनासो छ । सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महङ्गो मुल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र निल्नु न ओकल्नु जस्तै भएको छ ।

तीन वर्ष अघि गण्डकी प्रदेशको रु. २१ लाख र गणेश व्यावसायीक कृषि सहकारी संस्था लिमिटेडको रु. १० लाख लागत गरी रु. ३१ लाखमा बागलुङ नगरपालिका–८ सिगानामा निर्माण गरिएको चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेको छैन । सुन्तलालाई चिस्यान केन्द्रमा राखेर बेमौसममा महङ्गो मुल्यमा बजार पठाउने भन्दै हौसियर चिस्यान केन्द्र निर्माण गरेका सहकारीमा आबद्द किसानले हाल सम्म रु. २ लाख बिद्युत महसुल मात्रै तिरेको गणेश व्यावसायीक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा अगुवा सुन्तला किसान राम बहादुर खड्काले बताउनुभयो ।

खड्काले पहिलो वर्ष राखिएको सुन्तलामा एक महिनामै ढुसी पलाएपछि सुन्तला राख्न छोडिएको बताउनुभयो । उहाँले चिस्यान केन्द्र सञ्चालनमा नल्याउदा समेत मासिक तीन हजार विद्युत महसुल तिर्न नसक्दा यहाँका किसानले विद्युत समेत कटौती गर्न बाध्य भएको खड्काको भनाई छ ।
“किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारी मार्फत किसानले समेत लगानी गरे, अहिले लगानी खेर जाने अवस्थामा पुग्यो, विद्युत महशुल तिर्दै चिस्यान केन्द्र राख्न मुस्किल भएपछि विद्युतको मिटर निकालियो” अध्यक्ष खड्काले भन्नुभयो “किसानलाई नाफा होला भनेर स्थापान गरेको चिस्यान केन्द्रले उल्टो घाटा पु¥यायो, अहिले सुन्तला राख्नै किसानले मान्दैनन्, हामीलाई प्राविधिक रुपमा तापक्रम मिलाउन समेत सिकाइएन, हचुवाका भरमा चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ ।”

उहाँले चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउदा फाइदा हुने भन्दै चिस्यान केन्द्रमा लगानी गरेका किसान अहिले निरास बनेको बताउनुभयो । २० टन क्षमताको चिस्यान केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको र सुन्तला किसान घाटामा पुगेपछि दुई वर्ष यता सञ्चालनमा आउन नसकेको चिस्यान केन्द्रको हालै विद्युत काट्न किसान बाध्य भएका हुन् ।
यस्तै काठेखोला गाउँपालिका–६ बिहुँमा समेत निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ ।

पहिलो वर्ष सुन्तला राखेपनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महशुल तिर्न नसक्दा गत वर्ष चिस्यान केन्द्रमा किसानले सुन्तलानै नराखेको बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानी शंकर कँडेलले जानकारी दिनुभयो । उहाँले चिस्यान केन्द्र निर्माणमा रु.सात लाखको जग्गा समेत खरिद गरेको, तारबार गरेको बताउदै आधा करोड लगानी डुब्ने अवस्थामा पुगेको बताउनुभयो ।

“पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए, तर बिद्युतको महशुल मात्रै रु.३० हजार भन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्ष सुन्तला नै राखिएन, अहिले सहकारीले मासिक रु. तीन हजार बिद्युत महशुल तिदै आएका छौं” कँडेलले भन्नुभयो “किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुश्किल भयो, अहिले त्यहाँका स्थानीयलाई बिद्युतको रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, हचुवाका भरमा आएको अनुदानले किसानलाई ऋणमा डुबाउने काम भएको छ ।”

उहाँले नाफा भन्दा किसानलाई घाटा बनाउने चिस्यान केन्द्र आवश्यक नभएको बताउदै राज्यको संगै किसानको लागनी समेत डुबेको जानकारी दिनुभयो । चिस्यान केन्द्र बागलुङमा मात्रै नभएर अन्य स्थानमा समेत सफल नभएको कँडेलले अध्ययन अवलोकनका आधारमा पाएको बताउनुभयो । तापक्रम मिलाउन समेत यहाँका किसानले नसकेको भन्दै किसानलाई ऋणको भारी बोकाउने काम भएको सुन्तला किसानको गुनासो छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्ष अघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बिउलाई सहज भएपनि बिद्युतको महशुल तिर्न किसानलाई हम्मे परेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । एक वर्ष बिद्युत महशुल काठेखोला गाउँपालिकाले तिरेपनि दुई वर्ष सहकारीले महशुल तिर्दै आएको बताउनुभयो । आलु राख्दा मासिक रु.४० हजार सम्म बिद्युतको रकम तिर्नुपर्दा किसानलाई आलु राख्दा चिस्यान केन्द्रले उल्टै घाटा पु¥याएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुल बहादुर बिकले बताउनुभयो ।
किसाने चिस्यान केन्द्रमा आलुको बिउ मात्रै भण्डारण गर्न थालेको बिकले जानकारी दिनुभयो । खाने आलु बिग्रिएपछि बिउको आलु राखिएको बताउदै बिउको आलु राख्दा बिद्युत महशुल तिर्न भने साह्रै समस्या भएको बताउनुभयो । तीन वटै चिस्यान केन्द्रमा आलु र सुन्तला राख्दा सुरक्षित नभएको विद्युतको रकम समेत धान्नै नसक्ने अवस्था आएको किसानको गुनासो रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *