अन्तर्राष्ट्रिय रंगशालाको त्यो कन्तबिजोग

सम्पादकीय
फुटवल खेल विश्वव्यापी रुपमा सर्वाधिक लोकप्रिय खेल हो । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबल त खेलप्रेमीका लागि एक महान उत्सवमय हुन्छ । क्रिकेट विश्वकपमा नेपाल पुगे पनि फुटबलमा भने त्यो केवल सपनामा सीमित छ । यद्यपि, अधिक नेपाली फुटबल प्रति निकै आकर्षित क्रेजी छन् । तर, नेपाली फुटबल, खेल मैदान, खेल सम्बद्ध संघ संस्थाको अवस्था हेर्ने भने उदास लाग्दो अवस्था बिद्यमान छ । यसको ज्वलन्त उदाहरण मंगलवार एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसी बिच दशरथ रंगशालाको हिलाम्मे मैदानमा भएको खेल काफी छ । रंगशालाको उदेक लाग्दो दृश्य र खेलाडीहरुको दुर्दशाले सिंगो नेपाल र नेपालीलाई लज्जाबोध बनाइरहेको छ ।

खेल भइरहँदा रंगशाला कतै हिलो माटो र कतै जमेको पानीले जोखिमग्रस्त थियो । हिलोकै कारण बल सहज ढंगले गुडेको थिएन भने बल भेट्न दौडिएका खेलाडी पटक–पटक लडेका थिए । उनीहरुको शरीर र कपडा हिलाम्य थियो । गत नोभेम्बरमा नेपाल र यमनबीच विश्वकप छनोटको खेल भएपछि पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको खेल त भयो । तर, करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कँदा समर्थक र खेलाडीहरु उत्सहित भएपनि मैदानको अवस्थाले गर्दा धेरैलाई निराश तुल्यायो । आम सञ्चार माध्यम, सामाजिक सञ्जालमा सर्वत्र सरकार, खेलसम्बघ संघ संस्थाको आलोचना भयो । उसो त दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय फुटबल खेलाउन लायक नभएको भन्दै नेपालले विश्वकप छनोट अन्तर्गत बहराइन र युएई विरुद्धको होम म्याच दशरथ रंगशालामा खेल्न पाएन । अहिले अन्तर्राष्ट्रिय खेल हुन लाग्दा पनि मैदानको अवस्था राम्रो नभएपछि आगामी दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय खेल गुमाउने हो कि भन्ने चिन्ता बढेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला हो । नेपालमा भएको र हुने गरेको अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामै हुँदै आएको छ । यही रंगशाला यस्तो कन्तबिजोगको अवस्थामा छ । यसले देशव्यापी र विश्वव्यापी रुपमा नेपालको रंगशालाको खराब हालत प्रष्ट देखाएको छ । यो मैदानले पूरा विश्वमा कस्तो सन्देश गयो होला ? हामीसँग माथिल्लो स्तरको फुटबल खेल्नका लागि यही एउटा मैदान छ र यसको पनि हविगत यस्तो छ । वर्षौ अघि पनि खेल्दा खुट्टा मैदानमा गाडिन्थ्यो, अहिले पनि त्यही नियति यथावत छ । अनि अब चार दिनपछि यही दशरथ रंगशालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत यू–२० च्याम्पियनसिप रंगशालाकै अवस्थाका कारण हुने नहुने अन्यौलता बढाएको छ । दशरथ रंगशालामा नभए उपर्युक्त विकल्प कुन हो ? यसको ठोस विकल्प र जवाफ सरकार र सरोकारवालासँग छैन । तर, अब यसको समय सापेक्ष यथोचित विकल्प तयार नगरी, बिद्यमान प्रश्न बेवास्ता गरेर सरकार, एन्फा र सरोकारवाला भाग्ने छुट छैन । अब दशरथ रंगशालालाई जुनसुकै सिजनमा खेल्न खेलाउन सक्ने मैदानको रुपमा स्तरोन्नति गर्ने गराउने र थप अरु मैदान पनि विकल्पका रुपमा तयार गर्न लाग्नुपर्छ । खेल स्वास्थ्यका लागि, खेल राष्ट्रका लागि भन्ने नारा र भाषणले मात्र काम गर्ने छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *