शुभेक्षा पन्त
अपराधशास्त्र अपराध र अपराधीको बारेमा अध्ययन गर्ने एक विज्ञान हो । अपराधशास्त्रमा मानिसको शारीरिक बनावट, मानसिक अवस्था, सामाजिक पभाव, चाहाना विभिन्न विषयले मानिसमा कस्तो असर पार्छ भनि अध्ययन गर्ने गरिन्छ । जसमध्ये जैविक अपराधशास्त्रको सिद्धान्त १९औं शताब्दीको अन्ततिर विकसित भएको पाइन्छ । यस सिद्धान्तको प्रारम्भिक समर्थकहरूले अपराधको कारण जैविक, शारीरिक, र आनुवंशिक कारकहरूमा खोज्ने प्रयास गरेको पाइन्छ । यस सिद्धान्तको प्रमुख आरम्भकर्ता मध्ये एक इटालियन अपराधशास्त्री सेसर लम्ब्रोसो थिए । उनले “जन्मजात अपराधी“ को अवधारणा प्रस्तुत गरेका थिए, जसअनुसार अपराधीहरूमा विशिष्ट शारीरिक विशेषताहरू हुन्छन्, जस्तै असमान खप्पर, ठूला आखा, लामो हात, आदि जन्मजात विषयले व्यक्ति अपराधी हुन्छन् भनिन्छ ।
यस सिद्धान्तको प्रमुख धारणा अनुसार, मानिसको अनुवांशिकी संरचना, मस्तिष्कको संरचना, र शरीरको विभिन्न रासायनिक प्रक्रिया अपराधप्रति उसको प्रवृत्तिमा भूमिका खेल्छन् । उदाहरणका लागि, केहि व्यक्तिहरूमा विशिष्ट आनुवंशिक उत्परिवर्तनहरू, न्युरोलजिकल असमानताहरू, वा हार्मोनल असन्तुलनहरू अपराधजन्य व्यवहारको संभावना बढाउन सक्छ ।
चार्ल्स गोअरिङले पहिला लम्ब्रोसोको सिद्धान्तको आलोचना गरेका थिए तर पछि जैविक दृष्टिकोणमा ध्यान केन्द्रित गरे । उनले अपराधीहरूको मानसिक र शारीरिक विशेषताहरूको अध्ययन गरेर अपराधको जैविक आधारबारे अनुसन्धान गरे र विलियम शेल्डनले शरीरको संरचनामा आधारित “सोमाटोटाइप“ सिद्धान्त प्रस्तुत गरे । उनका अनुसार व्यक्तिहरूलाई तीन प्रकारमा वर्गीकृत गर्न सकिन्छः एन्डोमोर्फ, मेसोमोर्फ, र एक्टोमोर्फ । उनले मेसोमोर्फ टाइपका व्यक्तिहरू अपराध गर्न धेरै प्रवृत्त हुने बताए । एड्रियन राइने, एक प्रसिद्ध न्यूरोसाइन्स वैज्ञानिकले आफ्नो पुस्तक (The Anatomy of Violence) मा विभिन्न अपराधीहरूको मस्तिष्क स्क्यान अध्ययन गरेका छन् । उनले पाएको तथ्य अनुसार, धेरै हिंसात्मक अपराधीहरूको मस्तिष्कमा संरचनात्मक र कार्यात्मक असामान्यता पाइएको छ । यसले आपराधिक प्रवृत्ति बुझ्न मद्दत पुर्याएको छ ।
जेनेटिक अध्ययनहरूले माओए (MAOA) जीनको उत्परिवर्तनले व्यक्तिलाइ आक्रामक र हिंसात्मक व्यवहारमा लैजाने र समान जुड़वाँहरू जसको जीनहरू १००% मिल्छ उनीहरुको आपराधिक प्रवृत्ति एकै प्रकारको हुने सम्भावना धेरै हुन्छ भनि बताँउछ । न्यूरोसाइन्स अध्ययनहरूले अपराधीहरूको मस्तिष्क संरचनामा केही असामान्यता देखाएका छन् । फ्रन्टल लोबमा क्षति भएका व्यक्तिहरूमा आत्म–नियन्त्रण र नैतिक निर्णय क्षमता कमजोर हुन्छ । जसले गर्दा अपराध गर्न सक्ने सम्भावना धेरै हुन्छ । यस सिदान्त अनुसार कुनै पनि मानिसमा ह्थ्थ् सिंड्रोम छ भन्ने उसले अपराध गर्न सक्ने सम्भावना धेरै हुन्छ । यस अपराधशास्त्रले अपराधके भन्दा पनि अपराधीके अध्ययन धेरै गरेको पाइन्छ ।
चार्ल्स व्हाइटम्यानले १९६६ मा टेक्सास विश्वविद्यालयमा एक ठूलो गोलीकाण्ड गरेका थिए । उनको पोस्टमोर्टमपछि मस्तिष्कमा ट्युमर फेला परेको थियो, जसले उनको व्यवहारमा असामान्य परिवर्तन ल्याएको थियो । यसले मस्तिष्क संरचनाको असामान्यताले आपराधिक प्रवृत्तिमा कसरी भूमिका खेल्न सक्छ भन्ने देखाउँछ । यसैगरी रिचर्ड स्पेकले १९६६ मा आठ नर्सहरूको हत्या गरेका थिए । उनको हत्या पश्चात, अनुसन्धानकर्ताहरूले उनको शरीरमा असामान्य यौन क्रोमोसोम संरचना (XYYसिंड्रोम) फेला पारेका थिए । वैज्ञानिक आधार र विभिन्न उदाहरणहरूले जैविक सिद्धान्तलाई पुष्टि गर्ने प्रमाणहरू प्रदान गर्छन् । यद्यपि, जैविक कारकहरू एक्लैले अपराधको सम्पूर्ण व्याख्या गर्न सक्दैनन् । अपराधको समग्र अध्ययन गर्दा सामाजिक, आर्थिक, र सांस्कृतिक कारकहरूलाई समेत विचार गर्नुपर्छ । जैविक सिद्धान्तले अपराधको गहिरो अध्ययन र समाधानमा सहयोग पुर्याउन सक्छ ।
अपराधको कारण बहुआयामिक हुन्छन्, र जैविक कारकहरू विभिन्न कारकहरू मध्ये एक हुन् । हाल समाजमा जैविक सिद्धान्तप्रति विभिन्न दृष्टिकोणहरू रहेको देखिन्छ । जैविक कारणहरूलाई मात्र अपराधको मुख्य कारण मान्न नसकिए पनि, जैविक सिद्धान्तले अपराधसम्बन्धी केही महत्त्वपूर्ण तथ्यहरूको उजागर गर्न सहयोग पुर्याएको छ । अपराधको अध्ययन गर्दा जैविक सिद्धान्तलाई मात्र होइन, मनोवैज्ञानिक, समाजशास्त्रीय, र वातावरणीय कारकहरूलाई पनि समावेश गर्नुपर्छ ।
आधुनिक अनुसन्धानले मस्तिष्कको संरचना, आनुवंशिकी, र न्यूरोकेमिकल असन्तुलन जस्ता जैविक कारकहरू र अपराधबीचको सम्बन्धबारे थप प्रमाणहरू प्रदान गरेको छ । विशेष गरी न्यूरोसाइन्स र जेनेटिक्सको क्षेत्रमा भएका अनुसन्धानहरूले अपराधको जैविक कारणहरूलाई नयाँ दृष्टिकोणबाट बुझ्न मद्दत पुर्याएको छ । हाल जैविक कारणहरूको आधारमा सुधारात्मक उपायहरू अपनाउन थालिएको छ । मानसिक स्वास्थ्य सेवाहरू र चिकित्सा उपचारहरूले अपराधीहरूको पुनर्संरचनामा मद्दत पुर्याउन सक्छ । यसले सुधारात्मक न्याय प्रणालीलाई बलियो बनाउने सम्भावना रहेको मान्यता छ । जैविक सिद्धान्तले अपराधको रोकथाममा प्रत्यक्ष प्रभाव पार्न नसके पनि, यसले नीति निर्माणमा सहयोग पुर्याउन सक्छ । उच्च जोखिम भएका समूहहरूको पहिचान र तिनको लागि विशेष कार्यक्रमहरू विकास गर्न मद्दत पुर्याउन सक्छ ।
वर्तमान समयमा जैविक सिद्धान्तलाई पूर्ण रूपमा स्वीकार गरिँदैन, किनकि अपराध केवल जैविक कारकहरूको कारणले मात्र हुँदैन । सामाजिक, आर्थिक, र सांस्कृतिक कारकहरू पनि अपराधको महत्त्वपूर्ण कारण हुन् । तथापि, आधुनिक अपराधशास्त्रमा जैविक सिद्धान्तको योगदानलाई नकार्न सकिन्न । जैविक, मनोवैज्ञानिक, र समाजशास्त्रीय दृष्टिकोणलाई एकीकृत गरेर अपराधको गहिरो अध्ययन गर्न सकिन्छ । हालको समाजमा जैविक सिद्धान्तलाई पूर्ण रूपमा अस्वीकार वा स्वीकार गर्ने भन्दा पनि, यो सिद्धान्तलाई अन्य दृष्टिकोणहरूसँग मिलाएर हेर्नु महत्त्वपूर्ण मानिन्छ । जैविक, मनोवैज्ञानिक, समाजशास्त्रीय, र वातावरणीय कारकहरूको समग्र अध्ययनले मात्र अपराधको वास्तविक कारणहरू बुझ्न र तिनको रोकथाम तथा सुधारमा सहि दिशा देखाउन सक्छ ।