बर्खामा सदैव सास्ती ?

सम्पादकीय
सडक विकास र समृद्धिको मुख्य आधार । नेपालमा सडक पूर्वाधार विकासको अभुतपूर्व उभारले आम नागरिकको जनजीवनलाई उल्लेख्य सहजता ल्याएको छ । अहिले दुरदराजका गाउँ–गाउँ वस्ती–वस्ती टोल–टोल सम्म मात्र होइन, घर–घरमा सडक पुगेको छ । हिउँदमा त तुलनात्मक रुपमा सहज यात्रा नै हुन्छ । सडक धुलाम्य भए पनि दुर्घटनाको जोखिम कम हुन्छ । तर, बर्खाको समयमा सडक हिलाम्य मात्र होइन, अत्यधिक वर्षा, बाढी, पहिरो, भुक्षयले महिनौ सडक अवरुद्ध हुने बिडम्बना पनि बिद्यमान छ । नेपालको भौगोलिक बनावटका हिसाबले पनि केही जटिलता र कमजोर भएकाले बर्खाको समयमा बढी दुर्घटना र सास्ती बेहोर्नु पर्ने बाध्यता छ । बागलुङ जिल्ला पनि यसबाट वर्षेनी प्रताडित बनिरहेको छ ।

यसवर्षको मनसुन सुरु भएदेखि नै बागलुङका चार महत्वपूर्ण सडक पहिरोले ठप्प छन् । कालीगण्डकी करिडोर असारको १४ देखि बन्द भएकामा अहिलेसम्म खुलेको छैन । असार मसान्तमा एक दिन खुलेकामा तत्कालै सडक बगेर अवरुद्ध भएको थियो । त्यसपछि यो सडक खुलाउने प्रयास समेत भएको छैन । मालढुंगा कुश्मीसेरा सडक पनि बन्द छ । यो सडकको एक्लेसालमा खसेको पहिरो दुई महिनादेखि पन्छाइएको छैन । यो पहिरो पन्छाउन गत वर्ष नगरपालिकाले ५० लाख खर्चेको थियो । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक भनिने गरेको काठेखोला गाउँपालिकाको मुकाम बिहुँदेखि वडा ६ कै अधिकांश भूगोल र वडा नं. ८ हुँदै गलकोट नगरपालिका प्रवेश गर्ने सडकमा खसेका दुई वटा ठूला पहिरो नियन्त्रण नहुँदा सयौले सास्ती खेपेका छन् । जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारदेखि बरेङ गाउँपालिका जाने सडकको ठेउले खोलामा निर्माणाधीन पुल नबन्दा असारदेखि सडक अवरुद्ध छ । ठेकेदारले डाइभर्सन नबनाएको, पुल पूरा नगरेको र सामग्री जथाभावी थुपार्दा यो सडक रोकिएको हो । सडक अवरुद्ध भएर यातायातका साधन नचल्दा स्थानीयले सास्ती खेपिरहेका छन् । कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक, जैमिनीदेखि बरेङ सडक र काठेखोलादेखि लेखानी हुँदै गलकोट जाने सडक दुई महिनादेखि ठप्प भएका छन् । रोकिएका सडक खुलाउन स्थानीय र सम्बन्धित सरोकारवाला निकायको खास चासो र गम्भिरता देखिएको छैन । बाढी पहिरोले महिनौं सडक अवरुद्ध हुँदा यात्रुहरुले मात्र सास्ती खेपेका छैनन्, किसानहरुले तरकारी र दूध बेच्न पाएका छैनन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । सडक बन्द हुँदा बजार मूल्यको तुलनामा ग्रामीण क्षेत्रका बासिन्दाले उपभोग्य बस्तु महंगोमा किन्न बाध्य भइरहेका छन् ।

सडक निर्माण, विकास र विस्तार हुनु त सुखद र सकारात्मक कुरा हो । तर, जथाभावी निर्माण गरिएका सडकले हरेकजसो बर्खायामा ठुलो जनधनको क्षति हुने गरेको छ । अर्को तर्फ सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा निर्माण गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लगायतका सडक निर्माणमा पनि उस्तै बेवास्ता र चरम लापरबाही देखिन्छ । जसले बर्खायाममा सडक अवरुद्ध हुने, महिनौ सम्म नागरिकले कष्टप्रद यात्रा गर्नुपर्ने बिबशता बिद्यमान छ । नेपालमा हरेक बर्खायाममा बाढी, पहिरो लगायतका कारण सकड अवरुद्ध हुने समस्या नियत जस्तै बनेको छ । यसमा संघीय, प्रदेश र स्थानीय सरकारले योजनावद्ध रुपमा काम गर्न सकिरहेका छैनन् । पहिलो कुरा त सडकमा सम्भावित बाढी पहिरोको जोखिम न्युनिकरण र पूर्ववत रोकथाम सचेततामा काम हुन सकेको छैन भने पहिरोले अवरुद्ध भइहाले पनि तत्काल खुलाउने सोच, योजना र तयारी छैन । अब ढिलै भए पनि स्थानीय तहले अहिले अवरुद्ध सडक तत्काल खुलाउन पहल गर्नुपर्छ । र भोलिका दिनमा हरेक बर्खायाममा सरकार, ठेकेदार र मानवीय लापरवाही सडक अवरुद्ध हुने र जनताले सास्ती पाउने नियति रोकिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *