विदेशबाट आएका गाउँमा खुलेआम डुल्न थालेपछि स्थानीय त्रसित

थम्मन थापा, गलकोट

विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरु अहिले गलकोट फर्किएपछि गाउँघरका स्थानीयहरु त्रसित बनेका छन् ।

कोरोना भाइरसको संक्रमण हुने डरले त्रसित बनेका स्थानीयहरु जापान, युरोप, कतार, मलेसिया, दुवई, साउदी अरेविया भारत लगायतका देशबाट गलकोटेहरु फर्किएपछि उनीहरु त्रसित भएका हुन् । फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि उनीहरुमा भयभित अवस्था सिर्जना भएको छ ।

फर्किनेकाहरु मध्ये केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा परेपछि गाउँमा तनावको वातावरण सिर्जना भएको छ । विदेशबाट फर्केका र नेपालका विभिन्न सहरहरूबाट गलकोट आएका नागरिकहरुलाई गलकोट नगरपालिकाको कार्यालयले १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ ।

यदि त्यसो नगरेमा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । अहिले गलकोट नगरपालिका, स्थानीय, प्रहरी, प्रशासन र नेपाली सेनाको पहलमा गलकोटमा क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख गैरेले बताए ।

विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण लाई रोक्न नेपाल सरकारले हिजोदेखि नेपाललाई लक डाउन गरेको छ । यो अवस्थामा घर बाहिर ननिस्कने, भिडभाड नगर्न, सवारी साधन नचलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले आम नागरिकहरुलाई अनुरोध समेत गरेका छन् ।

गलकोट नगरपालिकाको मुख्य बजार हटिया, हरिचौर लगायतका बजार क्षेत्र अहिले सुनसान देखिए पनि गाउँ घर तिर भने यसको प्रभाव अलि कम देखिएको छ । मानिसहरू खुलेयाम घर बाहिर हिड्ने, सवारी साधन चलाउने गरेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *