सुनिन छोडे ‘यानीमाया’ ‘सुनीमाया’

डम्मर बुढा मगर, बागलुङ
धौलागिरीलाई लोक गीत संगीतको उर्वर क्षेत्रका रुपमा मानिदै आएको छ । यानीमाया होस या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढ दशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यि गीतहरु गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक संस्कृति बोकेका यानीमाया र सुनीमाया भाका गुन्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुले समेत यानीमाया र सुनीमाया भाका रेकर्डसमेत गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यी गीत लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।

हिजोआज चाडपर्व र मेला महोत्सवमा पनि रेकर्डेड गीत बज्छन् । दोहोरीगीत आयोजना हुने गरे पनि यानीमाया, सुनीमाया भाका हुँदैन । समूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले भने गाउन जान्दैनन् । पाका पुस्ताबाट सिक्न समेत रुची राख्दैनन् । धौलागिरी क्षेत्रको बागलुङ, म्याग्दी लगायतका जिल्लामा निकै लोकप्रिय मानिए पनि संरक्षण हुन सकेको छैन । यानीमाया र सुनीमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ । पछिल्लो समय बजारमा आएका आधनिक, पप, ¥याप लगायतका गीतले गर्दा यानीमाया सुनीमाया ओझेलमा परेको धेरैको बुझाई छ ।

यानीमाया गीत एक जनाले उठान गर्ने र समुहका अन्य कलाकारहरूले गाउने गरिन्छ । दुई दशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी यानीमाया गाइने गरे पनि अहिले ति मौलिक भाकाहरु गुन्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताउनुभयो । पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ति भाकाहरु कहीँकतै सुन्न नपाइने उहाँको भनाइ छ । अहिलेका युवायुवीले मौलिक गीत छोडेर हिन्दी र अंग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया सुनीमाया भाका लोप भएको उहाँले गुनासो पोख्नुभयो ।

“अब म चार बीस (८०) पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया सुनीमाया गीत गाउन मन लाग्छ, मेरो दौतरीहरु धेरैले छोडेर गए, यानीमाया सुनीमाया गीतले जीवन बल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिदैनथ्यो, सकिदैनथ्यो” उहाँले भन्नुभयो – “अहिले त त्यस्ता गीत कसैले पनि गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातीलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन् ।”

गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हँसाउने यो गीत लोक र दोहोरीगीत फरक हुन्छ । गीतको बीच–बीचमा ‘यानीमाया÷सुनीमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनीमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिरमला बुढा मगरले बताउनुभयो । आफ्नो पालामा तरुनी तन्नेरी भेटा हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधीनै बस्न छोडिएको र त्यस्ता गीत पनि लोप हुँदै गएको उहाँले बताउनुभयो । केही वर्ष यता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको भनाइ छ ।

बुढा मगरले भन्नुभयो “हाम्रो बाउ, बाजेहरुले निकै गाउनुहुन्थ्यो, यानीमाया, हामीहरुले पनि उहाँहरुबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा अलि गाह्रोनै हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले त रोधी बस्ने यानीमाया गीत गाउँने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *