बागलुङमा पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाइँदै

आदर्श अनलाइन, बागलुङ

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित यही भदौ १५ गते १७औँ राष्ट्रिय पुस्तकालय मनाइँदैछ । विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पनि पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ ।

दिवसका अवसरमा भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिने पुस्तकालयका सचिवव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको उहाँको भनाइ छ ।

‘प्याब्सन’, ‘एनप्याब्सन’, बागलुङ जेसीजलगायत सङ्घसंस्थासँगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको हो । १४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको सचिव शर्माले बताउनुभयो । सोही दिन पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा प्रयोग हुने गरी पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही झण्डै ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ ।

“हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ, यो हाम्रा लागि चाड जस्तै हो”, सचिव शर्माले भन्नुभयो, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।”

राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधा र भाषाका गरी करिब १७ हजार पुस्तक छन् ।

पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ ।

गत साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो ।

पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *