सहकारीमा बद्मासी गर्नेहरु एमालेको जिम्मेवारीमा रहन पाउदैनन् : नेता अधिकारी

आदर्श अनलाइन, स्याङ्जा
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले सहकारीको जिम्मेवारीमा रहेर रकम हिनामिना गर्ने सञ्चालकहरु र सहकारीबाट ऋण लगेर नतिर्ने सदस्यहरु एउटै प्रकृतिका भएकाले तिनीहरुले एमालेको जिम्मेवारी नपाउने बताउनु भएको छ ।

नेकपा एमाले सम्बद्ध सहकारीकर्मीहरुसंग शनिवार पुतलीबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताउनु भएको हो । सहकारीको नेतृत्वमा रहेर सदस्यहरुले जम्मा गरेको रकम हिनामिना गर्ने लोभीहरुका कारण यतिबेला सिंगो सहकारी क्षेत्र बद्नाम भएको छ, सहकारीमा सदस्यले जम्मा गरेको रकमबाट ऋण लगेर नियतवश ऋण नतिर्नेहरुका कारण पनि सहकारी त्यत्तिकै बद्नाम हुने भएकाले यि दुवै प्रवृति सहकारीका लागि वाधक रहेका छन, अधिकारीले भन्नुभयो, यस्ता दुवै खाले प्रवृति भएकाहरुलाई एमालेले संरक्षण गर्दैन ।

सहकारीको सञ्चालक तथा व्यवस्थापनको जिम्मेवारीमा रहेर कसैले बदमासी गरेको छ, सहकारीको पैसा आफ्नो निजी प्रयोजनका लागि खर्च गरेर सदस्यहरुलाई समस्या पारेको छ भने एमालेले त्यस्ता व्यक्तिलाई पार्टीको जिम्मेवारीबाट हट्न निर्देशन गरेको छ, हटेन भने पार्टीले कार्वाही गरेर हटाउछ, अधिकारीले भन्नुभयो ।

सञ्चालक र व्यवस्थापनमा बसेकाले मात्रै सहकारीलाई कमजोर बनाएका छैनन, सहकारीबाट ऋण लगेर नियतवस नतिर्नेहरुले पनि सहकारीलाई संकटमा धेकेलेका छन्, सहकारीबाट ऋण लगेर नतिरेको भन्दै संस्थाले कार्वाही गर्ने सदस्यहरुलाई पनि एमालेले जिम्मेवारी दिनु हुदैन, उहाँको भनाइ छ ।

सहकारी सदस्यहरुको हो, यसलाई सञ्चालन गर्ने विधि छ, प्रक्रिया छ, विधि र प्रक्रिया अनुसार सहकारी सञ्चालन गर्दा समस्या आउदैन, आइहाल्यो भने पनि सहज रुपमा समाधान गर्न सकिन्छ, समाधानका लागि सदस्यहरु नै अग्रसर भएर अगाडि आउछन्, तर जहाँ वद्मासी हुन्छ, त्यहा सदस्य, समुदाय र पार्टीले समेत खबरदारी गर्नु पर्नेमा अधिकारीले जोड दिनुभयो ।

समाजवाद निर्माणको जगका रुपमा रहेको सहकारीलाई बद्नाम गराउनेहरुलाई कार्वाही गर्न सकिएन भने आर्थिक विकासको एउटा पाटो कमजोर हुने भएकाले पार्टीका तर्फबाट पनि खबरदारी आवश्यक रहेको उहाँको भनाइ छ ।

एमालेका नेता कार्यकर्ताले नेतृत्व गरेका, संलग्न भएका सहकारीहरुमा समस्या आयो भने पार्टीले त्यस्ता व्यक्तिहरुलाई पार्टीको जिम्मेवारीबाट अलग हुन र आफुले सञ्चालन गरेको संस्थाको समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराउदै उहाले कसले नेतृत्व गरेको छ, कसरी गरेको छ त्यो पार्टीको सरोकारको विषय होइन, जिम्मेवारीमा रहेको व्यक्तिले बद्मासी गरेर सदस्यको रकम जोखिममा पार्ने जो कोहीलाई पनि पार्टीले कार्वाही गर्ने भएकाले सचेत भएर काम गर्न आव्हान गर्नु भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य तथा स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ का इन्चार्ज सिमा क्षेत्री, जिल्ला उपाध्यक्ष महेश पुरी, गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर थापा र मोती पौडेल, पूर्व जिल्ला सचिवालय सदस्य अनन्त कुमार श्रेष्ठ लगायतले एमाले पार्टी र सहकारीबीचको अन्तर सम्बन्ध र सहकारीको संरक्षणका लागि पार्टीका नेता कार्यकर्ताको भूमिका लगायतका विषयमा धारणा राख्नु भएको थियो ।

कार्यक्रम एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य लक्ष्मीपति पौडेलको अध्यक्षता, सहकारी तथा गरिवी निवारण विभाग गण्डकी प्रदेशका पूर्व सदस्य रविन्द्र प्रसाद श्रेष्ठको स्वागत र एमाले जिल्ला कमिटि सदस्य अमृत नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *