वैदेशिक रोजगारको अध्यारो पाटो

सम्पादकीय
वैदेशिक रोजगार, त्यसबाट आर्जित आम्दानी (रेमिट्यान्स)ले नेपाली नागरिकको घर, परिवार र जीविका मात्र चलेको छैन, सिंगो देश चलिरहेको छ । पछिल्लो समय त सिंगो देश नेपाल नै परदेश तिर हिँडे जस्तो प्रतीत हुन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा देखि भिड होस् या गाउँ रित्तिएर विदेश पुगिरहेका कलकलाउँदो उमेरका तरुण तन्नेरीहरुको ताजा तथ्यांक होस् । वैदेशिक रोजगारीमा झन् भन्दा झन् परनिर्भर हुने दिशामा देश छ । गत साउन महिनाको तथ्यांक मात्रै हेर्ने हो भने पनि ५९ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला छन् । सबैभन्दा बढी यूएई १७ हजार ५४१, साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । यो तथ्यांकले पनि नेपालीको बिबशताबारे धेरै कथा बोल्छ ।

वैदेशिक रोजगारीमा जाने संख्या जुन रफ्तारमा बढिरहेको छ । विदेशमा कार्यरत नेपालीहरुको दुःखद दुर्दशा पनि बढ्दो क्रममा देखिएको छ । अनेकन सपना बुनेर परदेशिएका युवाहरु दैनिकजसो काठको बाकसमा फर्किन बिबश छन् । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएको तथ्यांक छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ । ७ जनाको हत्या भएको छ भने ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ । ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।

वैदेशिक रोजगार नभएको भए सायद नेपालमा यतिबेला निकै कहाली लाग्दो अवस्था सिर्जना भइरहेको हुन्थ्यो । त्यसमा वैदेशिक रोजगारीले उल्लेख्य सहयोग पु¥याएको छ । मुलुकको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, वैदेशिक रोजगारीको दुःखद र अध्यारो पाटोबारे नेपाली समाजमा खुल्ला र गम्भिर ढंगले छलफल, बहस, मन्थन हुन सकिरहेको छैन । संघीय, प्रदेश र स्थानीय तिनै तहको सरकारले विदेश जाने तिब्रतामा ब्रेक गर्ने कुनै खास नीति, कार्यक्रम र योजना अख्तियार गर्न सकिरहेका छैनन् । वैदेशिक रोजगारको पूर्णतः तत्काल विकल्प खोज्ने र आफ्नै देशमा सबैलाई आत्मनिर्भर बन्ने बनाउने सम्भावना कमजोर छ । त्यसैले वैदेशिक रोजगारीमा जानेलाई रोक्न सम्भव छैन । यद्यपि, विदेशमा जाने नेपालीहरुको रोजगार, स्वास्थ्य र सुरक्षा सुनिश्चितता मात्र राज्यले गर्न सक्ने हो भने पनि धेरै नेपालीले अकालमै या अप्रिय रुपमा ज्यान गुमाउन पर्थेन । यसमा सरकार, सरोकारवाला सबैले वैदेशिक रोजगारमा हुने जोखिम, मृत्यु, सास्ती लगायतका विषयमा गम्भिरतापूर्वक छलफल र आवश्यक कदम चाल्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *