नेकपा एस बागलुङको सिंगो टिम एमालेमा गाभियो

आदर्श अनलाइन, बागलुङ

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बागलुङ र मातहतका सम्पूर्ण कमिटिहरु नेकपा एमाले बागलुङमा समायोजन भएका छन् । बिहीवार बागलुङमा वृहत् कार्यक्रमको आयोजना गरेर नेकपा एकीकृत समाजवादी बागलुङको सम्पूर्ण टिम एमालेमा समायोजन भएको हो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न तथा समाजवादको स्थापना गर्दै बलियो निर्णायक शक्ति निर्माणका लागि पार्टी पुन एक भएको कार्यक्रम जारी प्रेम विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तीमा नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा बागलुङ इन्चार्ज मन कुमारी केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, एमाले बागलुङका सचिव गणेश बहादुर थापा र एकीकृत समाजवादी बागलुङका सचिव भरत पुरीले हस्ताक्षर गर्नु भएको छ ।

समायोजनपछि पार्टीका नेता तथा कार्यकर्ताको उपयुक्त व्यवस्थानका लागि एमालेको तर्फबाट पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ इन्चार्ज डा.सुर्य पाठक, केन्द्रीय सदस्य तथा प्रदेशसभा १ (क) का इन्चार्ज ईन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा केसी र सचिव गणेश थापा तथा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी रहेको कार्यदल गठन गरिएको छ । एकीकृत समाजवादीका विभिन्न तहमा रहेका पार्टीका नेताहरूलाई विधानको परिधिभित्र रहेर पुर्ववत् जिम्मेवारी प्रदान गर्ने र नयाँ नेता कार्यकर्तालाई पार्टीको मुल्य मान्यता, मापदण्ड र योगदानका आधारमा उपयुक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

समायोजन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरूङले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न वामपन्थी, प्रगतिशील शक्ति एमालेमा समाहित हुनुको बिकल्प नभएको बताउनु भएको थियो ।

मुलुक निर्माणको विचार र नेतृत्वका हिसावले मुल पार्टीका रुपमा एमाले रहेको चर्चा गर्दै प्रदेश इन्चार्ज गुरुङले राष्ट्रिय रुपमा सबैलाई साथमा लिएर आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा सबै एकतावद्ध भएर लाग्न उहाले आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसीले पार्टी विभाजनपछि पुन समायोजन हुँदासम्म पनि मन विभाजन नभएको बताउनु भएको थियो । सो अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले पार्टी केन्द्रीय स्तरबाटै समायोजन होस भन्ने पक्षमा आफुहरू रहेको भएपनि सम्भव नभएपछि जिल्ला स्तरबाटै पहल सुरू गरेको बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले संयुक्त विज्ञप्ति वाचन गर्दै टुट, फुट, विभाजनले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै एकताले आम जनता र कार्यकर्ता उत्साही भएको बताउनु भएको थियो ।

कार्यक्रम एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, सचिव गणेश थापाको सञ्चालन र एकीकृतका सचिव भरत पुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *