लामो इतिहास बोकेको थाक खेलकुदले थप्यो मुस्ताङमा खेल पूर्वाधार

अमृत बास्कुने, म्याग्दी
हिमालपारिको जिल्ला मुस्ताङमा प्रत्येक वर्ष हुने थाक खेलकुद तथा साँस्कृतिक महोत्सवले जिल्लामा खेल पूर्वाधारहरु थप्दै गएको छ । सदरमुकाम जोमसोम देखि तल्लो भेक घाँसा सम्मका ८ वटा क्लबहरुको एकीकृत संयोजनबाट बनेको थाक खेलकुद तथा साँस्कृतिक संघले प्रत्येक वर्ष असोजको पहिलो हप्ता खेलकुद तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने गर्दछ । सोही महोत्सव आयोजना स्थलहरुमा प्रत्येक वर्ष हुने कार्यक्रममा खेलपूर्वाधार निर्माण हुने गरेका छन् । जिल्लाको घाँसा, लेते, ताक्लुङ, टुकुचे, मार्फा, स्याङ र जोमसोममा कवर्डहल भलिबल खेल मैदान र आर्चरी खेल मैदान तयार भएका छन् । संघको अगुवाइमा एकीकृत भएर क्लबहरुले खेल पूर्वाधारहरु तयार गरेका मात्रै छैनन् उनीहरुले खेल प्रतिभाहरु पनि निखार्दै ल्याउने पनि गरेका छन् । खासगरी अर्चरी खेलमा मुस्ताङबाट राष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाएका खेलाडीहरु रहेका छन् ।

५४ वर्ष पुरानो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघ जिल्लाका जोमसोम भन्दा तल्लो भेकका ८ वटा स्थानिय क्लबहरुले मिलेर बनाएको हो । उनीहरुले बनाएको छाता संस्था थाक खेलकुद तथा सांस्कृतिक विकास संघले प्रत्येक वर्ष आलोपालो सिस्टममा मेला गर्ने गर्दछ । सोही मेला आयोजना गर्नका लागि कबर्ड हल तथा भलिबल र आर्चरी खेल्ने ग्राउण्ड पनि बनाउने गरेकोछ । संघका पूर्व सचिव दिपक लालचनका अनुसार हाल सम्म सबै स्थानमा गर्दा १० करोड भन्दा बढीको लागतमा स्थानीयका लागि उत्कृष्ट कबर्ड हल तथा खेल मैदान निर्माण भएको छ । लालचन भन्नुहुन्छ–‘स्थानीयको श्रमदान, राज्यको निकायको बजेट तथा विदेशी शहयोग समेत मिलाएर खेल पूर्वाधार निर्माण हुने गरेको छ ।’

हाम्रो चाहना, युवा युवतीलाई बनाउने राष्ट्रको गहना भन्ने मुल नाराका साथ स्थापित मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक संघले हरेक वर्ष खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै गर्दा थकाली समुदायको आफ्नो पहिचान तथा संस्कृति पनि जोगाउने काम गरेको संघका अध्यक्ष कृष्णकुमार शेरचनको भनाई छ । २०२७ सालमा छत्रबहादुर थकालीको अध्यक्षताम शुरु भएको संघले ५४ वर्ष पार गर्दै गर्दा अहिले ५१ औं कार्यक्रम हुँदैछ । कोभीडको कारणले गर्दा २ वर्ष रोकिएको र गत वर्ष बैशाख तिर गर्ने कि भनेर छलफल चलेको कारणले गर्दा रोकिएको भए पनि अब कुनै पनि वर्ष थाक खेलकुद नरोकीने शेचनले बताउनुभयो ।

संघका पूर्व अध्यक्ष चन्द्रमोहन गौचनका अनुसार थासाङ गाउँपालिकाको घाँसा, लेते, ताक्लुङ, कोबाङ, टुकुचे एवम् घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोममा कबर्ड हल सहित भलिबल तथा आर्चरी खेल्नका लागि मैदान निर्माण भएका छन् । अधिकांश क्षेत्रमा निर्माण भएका खेल पूर्वाधारहरु राज्यकै निकाय, स्थानियको जनश्रमदान तथा वैदेशिक रोजगारीमा गएकाहरु जिल्लावासीको सहयोग र वैदेशिक सहयोग समेत गरी निर्माण भएका हुन् ।

थाक खेलकुद तथा सांस्कृतिक संघको इतिहास
थाक खेलकुद तथा सांस्कृतिक विकास संघको रुपमा अहिले रहेको संघले यस वर्ष ५१ औं कार्यक्रम लगाउँदै छ । हालै बसेको संघको बैठकले अहिलेको परिश्थितिलाई हेर्दै यस वर्ष थासाङ गाउँपालिकाको मार्फामा मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजना र मिलिजुली युवा क्लब मार्फाको सह आयोजनामा मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । हरेक वर्ष असोज पहिलो हप्ता शुरु हुने यो कार्यक्रम गत वर्ष बैशाखमा गर्ने कि भनेर प्रयास गरिएको भए पनि कार्यक्रम नै नभएर अहिले पुनः असोजमै गर्न लागिएको छ । यस वर्ष असाजेको ५ देखि ७ गते सम्म थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुन लागेको संघका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो । कोरोना भाइरसको कारणले गर्दा भिडभाडयुक्त कुनै कार्यक्रम नगर्ने राज्यको पोलिसि अनुरुप दुई वर्ष कार्यक्रम नगर्ने निर्णय भएको थियो ।

स्थनिय क्लबहरुले सामान्य मेला लगाउने गरेकोमा ८ गाउँका क्लबहरु मिलेर २०२७ साल देखि थाक खेलकुद तथा साँस्कृतिक महोत्सव गर्न थालेका थियो । शुरुको समयमा राष्ट्रिय खेलकुदमा समावेस हुने सबै खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु पनि हुने भएको भएपनि पछिल्लो समयमा भलिबल, आर्चरी एवम् साँस्कृतिक कार्यक्रमहरु मात्रै हुँदै आएका छन् । प्रत्येक वर्षको खेलकुद कार्यक्रममा थकाली गित अनिवार्य प्रस्तुत हुने गर्दछ । विभिन्न क्षेत्रमा हुने गरेका खेलकुदको शिल्ड जम्मा गरी थाक शिल्ड तयार गरीएको र दोश्रो हुनेका लागि मार्फाका हङकान्छा हिराचनले निर्माण गरीदिनु भएकाले दोश्रो हुने क्लबले पाउने शिल्डलाई हङकान्छा शिल्ड भन्ने गरिएको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि तल्लो भेकको घाँसा सम्मको क्षेत्रलाई थाकखोला भन्ने गरिन्छ । त्यही क्षेत्र भित्रका स्थानिय र खेल तथा सांस्कृतिक प्रेमीहरुले नै थाक खेलकुद तथा सांस्कृतिक विकास समिति बनाएर व्यवस्थीत तबरले मेला महोत्सव गर्दै आएका हुन् ।

थाक खेलकुद र खेलाडी
पछिल्ला ४९ वर्ष सम्म भएका खेलकुदमा स्थानिय तह हुँदै आफ्नो क्षमता विस्तार गर्दै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा सम्म खेलाडीहरु पुगेका छन् । निर्मल स्पोर्टीङ क्लब लेतेबाट उत्पादीत आर्चरी खेलाडी योगेन्द्र शेरचनले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदै कास्य पदक समेत जित्नु भएको छ । उहाँले नेपालमै भएको साग खेलकुदमा कास्य पदक जित्नु भएको हो ।

No description available.

मिलिजुली युवा क्लबका शक्ति हिराचन २०४० को दशकमा भलिबलको राष्ट्रिय टिमबाट खेल्नु भएको थियो भने मुस्ताङका कर्णसिं तामाङ र सुजन मगर क्षेत्रीय स्तरको तालिम प्राप्त अफिसियल हुनुभएको छ । निर्मल स्पोर्टीङ क्लब लेतेका बिनोद तुलाचन, मिलिजुली युवा क्लबका अर्जुन ज्वारचन, जनहित क्लब जोमसोमका अनिल भट्टचन, धौलागिरी युवा क्लब कोवाङका कृष्णकुमार शेरचन(हालका अध्यक्ष) र रिजु शेरचनले आफ्नो समयमा पश्चिमाञ्चला क्षेत्रको टिमबाट भलिबल खेल्नु भएको थियो ।

पुराना खेलाडीहरुको पनि राम्रो प्रदर्शन भएको भएपनि तत्कालिन अवस्थामा त्यस्ता अवसरहरु कम आउने र आउने अवसरहरुका बारेमा पनि सञ्चारको प्रयाप्तता नहुँदा थाहा नपाउँदा पनि धेरै खेलाडीहरु बञ्चित हुन परेका धेरै उदाहरणहरु रहेका छन् ।

मिस मुस्ताङ
विश्वभर मिस वल्र्ड, मिस अर्थ जस्ता सुन्दरी प्रतियोगिताहरु हुने गरेकोमा मुस्ताङले पनि २०६६ देखि थाक खेलकुदकै समयमा मिस मुस्ताङको आयोजना गर्ने गरेको छ । प्रत्येक वर्ष गर्दै आएको मिस मुस्ताङको यस वर्ष भने हटाइएको छ । तर मिस मुस्ताङ विजेतालाई अन्य कुनै पनि प्रतियोगितामा सहभागी गराइएको भने इतिहास पाइदैन । एक वर्ष सम्म ताज लिने र अर्को महोत्सवमा हुने प्रतियोगिताबाट ताज हस्तान्तरण गर्ने मात्र भै रहेको भए पनि थप अन्य प्रतियोगिताहरुमा सहभागिताका लागि खासै प्रयास भएको पाइदैन । पहिलो मिस मुस्ताङ (२०६६) खुस्बु लालचन, दोश्रो (२०६७) ज्योती थकाली हुनुभएको थियो ।

No description available.

त्यस्तै थाक खेलकुदको ४९ औं संस्करणमा (२०७६) भएको मिस मुस्ताङ मेलिना थकालि, ४८ औंमा (२०७५) अपेक्षा थकाली, ४७ औंमा (२०७४) सञ्जीता सिञ्जाली मगरले मिस मुस्ताङको ताज जित्नु भएको थियो । थाक खेलकुद तथा साँस्कृतिक संघका तत्कालिन बरिष्ठ उपाध्यक्ष मार्फाका भक्ती हिराचनले स्थानिय युवाको प्रतिभा प्रष्फुटनका लागि सहज होस भन्ने उद्देश्य सहित मिस मुस्ताङको शुरुआत गराउनु भएको थियो । तर अध्यक्षमा कृष्णकुमार शेरचन आउनु भए पछि मिस मुस्ताङको खासै अगाडी बढाउन नसकिएको र यसले थप केही फरकपन तथा उचाई लिन नसकेको कारण देखाउँदै स्थागित मिस मुस्ताङ हाललाई भएको छ ।

महिला भलिबल भने जिल्ला भित्र मात्रै
प्रत्येक वर्ष महिला भलिबल थाक खेलकुदमा सहभागिता जनाएका र त्यहाँबाट आफ्नो क्षमता प्रतियोगितामा र जिल्ला स्तरमा सहभागि भएको भएपनि त्यस भन्दा माथि पुग्न सकेका छैनन् । महिलाहरु अधिकांश व्यवसायमा संलग्न हुने र महिलाका लागि अवसर पनि कम हुने भएकोले भलिबलमा मुस्ताङ कमजोर भएको हुन सक्ने थाक खेलकुद तथा सांस्कृतिक विकास संघका पूर्व कोषाध्यक्ष सर्मीला गुरुङको भनाई छ ।

घरपझोङ गाउँपालिकाकी पहिलो निर्वाचित उपाध्यक्ष गुरुङले महिला शशक्तिकरणमा अग्रणी भूमिकामा रहेको र महिलाहरु व्यवासयीक क्षेत्रमा बढी लाग्ने हुँदा खेल क्षेत्रमा उनीहरुको उपश्थिति नभएको हुन सक्ने गुरुङको भनाई छ । गुरुङ भन्नुहुन्छ –‘हामीले महिलाहरुलाई अवसर दिन र महिला खेलाडी उत्पादन गर्नका लागि पछिल्लो तीन वर्ष देखि महिला भलिबल रनिङ शिल्ड पनि शुरु गरेका छौं ।’

पहिला फुटबल पनि हुने गरेको
शुरुको झण्डै १५ वर्ष फुटबल समेत हुने गरेको भए पनि पछिल्लो समयमा स्थानिय खेलाडीहरुको धेरै चासो नहुने र फुटबलका लागि समय पनि धेरै पनि लाग्ने भएकोले त्यसपछि फुटबल खेल राख्न छाडिएको थियो । हालका अध्यक्ष शेरचनले निकट भविष्यमै फुटबललाई पनि समावेस गर्ने गरि योजना बनाइएको र त्यसलाई थक खेलकुद भित्रै राखिने बताउनुहुन्छ ।

आर्थिक पाटो
पछिल्लो अवस्था केलाउने हो भने थाक खेलकुद तथा सांस्कृतिक विकास संघले प्रत्येक वर्ष कार्यक्रम गर्दा कम्तिमा २० लाख रुपैंया खर्च हुने गरेको छ । बिगतका कार्यक्रमहरु आयोजनामा आयोजकको २० लाख खर्च हुने गरेको छ भने अन्य ८ वटा टिमको सरदर ३ लाखका दरले खर्च हुने गर्दछ । एक वर्षको कार्यक्रम हुँदा खेलकुद स्थल व्यवस्थापन तथा अन्य गतिवीधी एवम् ब्यापार गर्दा झण्डै एक करोड हाराहारीमा आर्थिक कारोवार हुने गर्दछ । ४९ औं खेलकुद आयोजना गर्दा ३५ लाखको लागतमा महोत्सव आयोजना स्थलको व्यवस्थापन एवम् अन्य खर्चको हिसाब हेर्दा करोड भन्दा माथि खर्च भएको थाक खेलकुद तथा सांस्कृतिक विकास संघका पूर्व सचिव लालचनले बताउनुभयो ।

संघको मुख्य पाटो
विगत देखिको महोत्सव आयोजना र मुख्य ध्येय खेल र भौतिक पूर्वाधार निर्माण नै देखिएको छ । संस्थाको नाममै थाक खेलकुद तथा सांस्कृतिक विकास संघ भएकोले भौतिक पूर्वाधार निर्माणलाइ थाक खेलकुदले विशेष ध्यान दिएको छ । प्रत्येक वर्ष फरक स्थानमा कार्यक्रम हुने गरेकोले कार्यक्रमको केन्द्र जुन स्थानमा पर्छ त्यस क्षेत्रको पूर्वाधार थप व्यवस्थीत अनि स्तरोन्नतीलाई ध्यान दिने गरीएको छ । पछिल्ला केही वर्षहरुमा पूर्वाधार निर्माणमा पनि वार्षिक न्यूनतम २० लाख खर्चिने गरीएको छ ।

संस्थाको वैधता
हिमालपारीको जिल्ला मुस्ताङमा रहेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघको स्थापना ५४ वर्ष अगाडी भएकोले केही कुराहरु उठ्ने गरेका पनि छन् । राज्यका जिम्मेवार तहमा पुगेकाहरुकै नेतृत्वमा रहेको संस्था राज्यको नीति अनुसार नै चलेको छ । जिल्ला प्रशासन कार्याल्य मुस्ताङमा संस्था दर्ता ऐन अनुसार दर्ता भएर मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक संघ सञ्चालित छ । राज्यको पोलिसि अनुसारका सबै कार्यहरुमा बैद्य रहेको संस्थाको आफै पान नम्बर समेत आन्तरीक राजश्व कार्यालयबाट लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *