डम्मर बुढा मगर, बागलुङ
शिरमा मैलिएको टोपी । शरीरमा पसिनाले निथ्रुक भिजेका कपडा । चाउरिएको अनुहार । हातमा लौरो, नाम्लो र हसिया । साथमा पानी छेक्ने घुम (बाख्राको रौँबाट पनाइएको कपडा) । घर्कँदो उमेरमा पनि उत्तिकै जोस र जाँगर । उहाँ हुनुहुन्छ, ढोरपाटन नगरपालिका–६ मोराङका ७५ वर्षीय भक्तराम अदै । भक्तराम यति बेला ढोरपाटन बुकीमा भेटिनुहुन्छ । गत असार महिनामा पशुचौपाया लिएर बुकी उक्लिनु भएका अदै अब केही दिनमा बेसी झर्ने तयारी गर्दै हुनुहुन्छ । समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाईमा रहेको दहखर्क बुकी क्षेत्रमा अदैले गोठ बनाएर बस्दै आउनु भएको छ ।
बर्खाको समयमा बुकी र हिउँदमा बेसीमा झर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै हो । एउटै परिवारले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा हिउँद बर्खा लेक–बेसी गर्नु पर्ने बाध्यता छ । भक्तराम बुकी क्षेत्रमा बस्न थालेको ६२ वर्ष भयो । १३ वर्षको उमेरदेखि नै बुकी चढ्न थाल्नु भएका भक्तरामलाई उकाली ओराली गर्न कुनै कठिन छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकी क्षेत्र पशु चरनका लागि उपयुक्त मानिन्छ । मोरङ गाउँबाट बुकीमा पुग्न झण्डै दुई दिन लाग्छ । ढोरपाटन उपत्यकाबाटै पनि पशुचौपायासँग एक दिनको यात्रा गरेपछि मात्रै बुकी पुग्ने गरिन्छ । बुकीमा पर्याप्त घाँस पाइने र धेरै पशु सजिलै पाल्न सकिने हुँदा गोठालालाई बेसीभन्दा बुकीनै प्यारो लाग्छ ।
बाल्यकालदेखि नै पशुपालनमा लाग्नु भएका अदै अझै १०/१२ वर्ष बुकीमा बताउन सक्ने बताउनुहुन्छ । सहर बजारभन्दा बुकीनै प्यारो लाग्ने भक्तराम बाह्रै महिना बुकी बस्न रुचाउनुहुन्छ । तर हिउँदको समयमा बढी चिसो हुने हुँदा बेसी झर्नु पर्ने उहाँको भनाइ छ । गोठमा बस्ने, गाईभैँसीको दूध, मही र घ्यू खाने हुँदा अहिलेसम्म आफू हट्टाकट्टा रहेको अदै बताउनुहुन्छ । साढे सात दशक पार गरि सक्दा अहिलेसम्म एक पटक पनि अस्पतालको औषधी नखाएको उहाँको भनाइ छ । बाउबाजेले गर्दै आएको पेसा आफूले अंगाल्दै आए पनि आफ्ना छोरा नातीले भने चासो नदिएको अदैले बताउनुभयो ।
उहाँले भन्नुभयो – “बुकी त स्वर्ग जस्तो छ, हाम्लाई यही ठिक लाग्छ, पशुले पेट भरि खान पाउँछन्, रिष्टपुष्ट हुन्छ, बेसीमा राम्रो घाँस हुँदैन, स्याहार पाउँदैनन्, बर्खा सुरु हुँदा बुकी उक्लिएको हुँ, अस्ती एक दिन गाउँ गएर आएको, गाईभैसी कतै लडेकी, बाघले समायो कि भन्ने पिरले रात भरि निदाउन सकेन, भोलीपल्ट तुरुन्तै आएँ, अब चिसो बढ्न थाल्छ, सक्रान्ती मसान्ती तिर सबै डिङा (पशु) लिएर गाउँ झर्ने हो, असोजदेखि जेठसम्म बेसीमा बस्नु पर्छ, घाँस पु¥याउनै सकिन्न ।”
ढोरपाटनमा दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुने लगायत थुप्रै बुकी क्षेत्र पर्छन् । यि बुकी क्षेत्रमा यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरु अस्थायी टहरो बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ संख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एक हजार ३०० भेडाका बथान लिएर फुर्सेधारा क्षेत्रमा आउनु भएका पूर्वी रुकुमका बेदबहादुर बुढा मगर पनि भदौ मसान्तमा बेसी झर्ने तयारी गर्दै हुनुहुन्छ । गोठ भत्काएर किलो दाम्दोसमेत लिएर बेसी झर्ने गाठालाहरु अर्को साल फेरि यही स्थानमा आउने गर्छन् ।
बुढा मगरले गत जेठ दोस्रो साता बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेबाट उक्लिएर निसेलढोर हुँदै बुकी आएको सुनाउनुभयो । तीन जना गोठाला सामुहिक रुपमा गोठमा बस्दै आएको सुनाउने बुढा मगरले आफूहरुको करिब दुई हजार भेँडा रहेको बताउनुभयो । बुकी क्षेत्र निकै उचाईमा पर्ने हुँदा चार महिनालाई पुग्ने खर्च जेठमै गोठामा बोकाएर लिएको उहाँको भनाइ छ । १५÷१५ दिनमा बुकीको विभिन्न ठाउँमा सरेर बस्ने गरेको बुढा मगरले सुनाउनुभयो ।
“बुकी क्षेत्रमा आउँदा खर्चको बढी समस्या हुन्छ, एकै पटक धेरै बोकेर आउन सकिन्न, कि घोडामा बोकाएर ल्याउनु प¥यो, कि भरिया लगाएर ल्याउनु प¥यो, गाउँबाट खर्च लिएर यहाँ आउँदा एक सातानै लाग्छ तर पनि बुकी हामी गोठालाहरुका लागि प्यारो लाग्छ” उहाँले भन्नुभयो – “हामीलाई कसैले पनि सहयोग गरेको छैन, सहयोगको आश पनि छैन, सानैबाट दुःख गरेर खान सिकियो, लेक बेसी गर्न जानियो, पशु पाल्न जानियो, यसले हामीहरुलाई बाँच्न सिकायो ।”
बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर विश्वकर्मा पनि अहिले दहखर्क क्षेत्रमा हुनुहुन्छ । गत जेठ मसान्तमा चार दिनको यात्रापछि बुकी पुग्नु भएका विश्वकर्माले करिब ६० वर्ष बुकीमा बिताएको बताउनुभयो । आफ्नो पालामा पढ्ने लेख्ने चलन नभएको हुँदा सानैदेखि भेडा गोठालो बनेको भन्दै अहिलेका नयाँ पुस्ताले पशुपालनमा चासो नदिने उहाँको भनाइ छ । पछिल्लो एक दशकमा बुकीमा आउने गोठालाको संख्या कम हुँदै गएको विश्वकर्मा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “नयाँ पुस्ताले दुःख गर्दैनन्, गाउँमा बारी खनजोत नगर्नेले बुकीमा आएर भेडा पाल्नु त टाढाको कुरा हो, पहिले यो बुकीमा चार÷पाँच जिल्लाका गोठालाहरुको जमघट हुन्थ्यो, दुःख सुख साट्ने गथ्र्यौँ, अहिले पनि गर्छौँ तर हामीभन्दा अग्रजहरु आउन छोडे, नयाँ पुस्ताका गोठालाहरु नै छैनन्, हामीहरु पनि हात पाखुरा चल्दासम्म आउने होला त्यसपछि त यो बुकी पाटन पनि सुनसान हुन्छ होला ।”