धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताउनुभएको छ ।

नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्यमन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना रहेको सुनाउनुभयो । ‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ’ उहाँले भन्नुभयो ।

बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले जानकारी दिनुभयो ।

मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गर्नुभयो । ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो ।

एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धौलागिरी क्याम्पस र धौलागिरी अस्पतालको विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाउनुभयो । मन्त्री र बीचमा बाटो बिराउनुभएका पुरानाहरु एमालेमा फर्किनु एकैपटक हुनु बागलुङका लागि खुसीको विषय भएको अध्यक्ष केसीले बताउउनुभयो ।

आफूले जिल्ला अध्यक्ष जित्दा अध्यक्षका उम्मेदवार पाठकलाई व्यवस्थापन गर्नुपर्छ भनेर भनेको केसीले स्मरण गर्नुभयो । ‘हामी दुई जना लड्यौँ । मैले जितेपछि प्रतिबद्धता जनाउँदा पाठक कमरेडको राजनीतिक व्यवस्थापन गरिनुपर्छ भनेर भनेको र पाठक मन्त्री बन्नु खुसीको विषय हो’ उहाँले भन्नुभयो ।

छिमेकी जिल्ला म्याग्दी, पर्वतका एमाले सांसदले यसअघि मन्त्री पाएको तर बागलुङले मन्त्री देख्न नपाउने अवस्था रहँदै आएकोमा अब त्यसको अन्त्य भएको अध्यक्ष केसीको भनाइ थियो । पाठक सफल भएमा एमाले बागलुङले भोलि फेरि अवसर पाउन सक्ने सम्भावना रहेकाले सबै मिलेर मन्त्रीलाई सफल बनाउनपर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *